फ्रान्सको सोलिडारिटी फेस्टिभलमा मिस मंगोल
काठमाडौं : विश्वका विभिन्न मुलुकबीच मौलिक संस्कृति एवं संगीत आदानप्रदान गर्न फ्रान्समा आयोजित ‘इन्टरनेसनल सोलिडारिटी फेस्टिभल–२०१९’मा मिस मंगोल नेपाल जाङमु इन् शेर्पाले नेपालको प्रतिनिधित्व गरेकी छन्।
जुन १४ देखि २१ सम्म फ्रान्सको टौलसमा भएको महोत्सवमा फ्रान्स, पोल्यान्ड, रोमानिया, युक्रेन, कोलम्बिया, स्पेन, नेपाललगायत विभिन्न मुलुक सहभागी थिए। ‘महोत्सवमा नेपालको प्रस्तुतिलाई विश्वभरका प्रतिनिधिले प्रशंसा गरेका छन्’, जाङमुले भनिन्, ‘यो मेरो लागि मात्र नभएर नेपाल र नेपालीका लागि गौरवको विषय हो।’
महोत्सवमा जाङमुले गुरुङ जातिको मौलिक पहिरनमा ‘सुन्दर मेरो देश’ बोलको राष्ट्रिय भावको गीतमा नृत्य गरेकी थिइन्। दिवस गिरीको कोरियोग्राफीमा उनले नृत्य गरेकी हुन्। दिवस बुगीवुगी, छमछमीजस्ता चर्चित डान्स रियालिटी सोका कोरियोग्राफर हुन्। ‘देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मञ्चमा उभिन पाउँदा गौरव महसुस भएको छ’, जाङमुले टेलिफोन कुराकानीमा भनिन् ।
मिस मंगोल नेपाल–२०१८ को उपाधि जितेपछि जाङमु सामाजिक काममा पनि व्यस्त छिन्। फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पासँग सहकार्य गरी मिस मंगोल छात्रवृत्ति कोष स्थापना गरेर आर्थिक अभावले विद्यालय जान नपाएका असहाय बालबालिकाको शिक्षाका लागि उनले काम गरिरहेकी छन्। इन्टरनेसनल सोलिडारिटी फेस्टिभलका साथै युरोपका विभिन्न मुलुकमा कोषको सहयोगार्थ आयोजना हुने कार्यक्रममा उनी सहभागी हुने छिन्। फ्रान्सपछि जुन २२ देखि २४ सम्म पोर्चुगल, जुन २५ देखि २९ सम्म बेल्जियमका विभिन्न सहरमा मिस मंगोल छात्रवृत्ति कोषको सहयोगार्थ कार्यक्रम तय भएको छ।