म्यार्दी खोलाको पुल बगाउँदा लमजुङ-मनाङ सम्पर्क विच्छेद
बेसीसहर : हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दी खोलाको बेलिब्रिज बाढीले बगाउँदा लमजुङ-मनाङ सम्पर्क विच्छेद भएको छ। गत वर्षमात्र निर्माण सम्पन्न भएको पुल आइतबार दिउसो आएको बाढीले बगाएको हो।
लमजुङ र मनाङ सिमानाको म्यार्दी खोलामा आइतबार दिउँसो एक्कासी आएको बाढीले म्यार्दीको पुल बगाएको स्थानीयले बताएका छन्। पुल बगाएपछि यात्रु अलपत्र परेका छन्।
पुल बगाउँदा मनाङबाट बेंसीसहर आउँदै गरेका सवारी साधनहरू रोकिएका छन्। बेसीसहरबाट मनाङ हिँडेका सवारी वारी नै रोकिएका छन्। सडक निर्माण भएको एक दशकपछि हिमाली जिल्ला मनाङ जोड्न लमजुङ सीमा म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो।
यस्तै, तिमाङखोलाको छहरेमा राखिएको हृयुमपाइप सहितको अस्थायी काठे पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्। मनाङका डीएसपी टीकाबहादुर कार्कीले आइतबर दिउसो पौने २ बजेतिर पुल बगाएको बताए।
दुईवटा पुल बगाएपछि तत्कालका लागि मनाङको आवतजावत बन्द भएको उनले बताए। लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले मनाङबाट बग्ने मर्स्याङदी नदीको बहाव साविकको भन्दा बढ्दा जोखिम बढेको बताए। मर्स्याङदी तीरमा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको उनले बताए।