पाकिस्तानलाई दोस्रो सफलता

पाकिस्तानलाई दोस्रो सफलता

लन्डन : बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो जित हात पारेको छ। आइतबार लर्डसमा भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो।

पाकिस्तानले दिएको ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पूरै ५० ओभर खेल्दै नौ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले अर्धशतक बनाए। ७९ बल खेलेका उनले पाँच चौकाको मद्दतमा ६३ रन बनाए। यसैगरी क्विन्टन डी ककले ४७, एन्ड्ली फेलुक्वायोले ४६, रासी भान डल डुसेनले ३६ र डेभिड मिल्लरले ३१ रन बनाए।

पाकिस्तानका सदाव खान र वाहव रियाजले तीन/तीन विकेट लिए। यसैगरी मोहम्मद आमिरले दुई तथा साहिन अफ्रिदीले एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट सुरुवात गरेको थियो। पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर  ३०८ रन बनायो। प्रारम्भिक ब्याट्सम्यान इमाम उल हक र फाखर जमानले ८१ रनको साझेहारी गरेका थिए। दुवै प्रारम्भिक ब्याट्सम्यानले समान ४४ रन बनाए। यस क्रममा इमामले ५८ बलमा ६ चौका र जमानले ५० बलमा एक छक्का र ६ चौका हिर्काए।

यसैगरी हरिस सोहेल र बाबर आजमले अर्धशतकीय पाली खेले। सोहेलले ५९ बलमा तीन छक्का र नौ चौका मद्दतमा ८९ रन बनाए। यसैगरी आजमले ८० बलमा सात चौकाको मद्दतमा ६९ महत्वपूर्ण रन बनाए। यस्तै इमाद वासिमले २३ र मोहम्मद हफिजले २० रन बनाए।

दक्षिण अफ्रिकाका लुन्गी निग्दीले तीन विकेट लिए। यसैगरी इमरान ताहिरले दुई तथा अइडन मार्कम र एन्ड्ली फेलुक्वायोले एक÷एक विकेट हात पारे।

जारी विश्वकपमा यसअघि पाकिस्तानले खेलेका पाँच खेलमध्ये एक खेलमा मात्र जित हात पारेको थियो। पहिलो खेलमा एक सय पाँच रनमै अलआउट भएको पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा तीन सय ४८ रन बनाएको पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो। पाकिस्तान र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो। चौथो खेलमा पाकिस्तान अस्ट्रेलियासँग ४१ रनले पराजित भएको थियो। यस्तै पाकिस्तान आफ्नो पाँचौं खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग डकवर्थ एन्ड लेविस नियमका आधारमा ८९ रनले पराजित भएको थियो।

यसअघि ६ खेल खेलिसकेको दक्षिण अफ्रिकाले एक खेल जितेको छ। चार खेलमा पराजित भएको दक्षिण अफ्रिकाले वर्षाका कारण एक खेलमा अंक बाँडेको थियो। आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिका घरेलु टोली इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको थियो। दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग २१ रन र अर्को खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो। वेस्ट इन्डिजविरुद्धको खेल वर्षाका कारण रद्द हुँदा अर्को खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा नौ विकेटले हराएको थियो। पछिल्लो खेलमा दक्षिण अफ्रिका न्युजिल्यान्डसँग चार विकेटले पराजित भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.