नेताभन्दा कलाकार ठूलो झैं लाग्थ्यो
कक्षा ५ सम्म पढ्दा मलाई डाक्टर, इन्जिनियर बन्छु भन्ने सोच थियो। ८ कक्षामा पुगेपछि होइन् अब म गायक नै बन्छु भन्ने लाग्यो। त्यसपछि गीतसंगीततिरै फोकस गरेँ।
मेरो जन्म स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ३ मा भएको हो। गाई, गोरु चराएर एक डोको घाँस काटिन्थ्यो। अनि घरमा ल्याएर बल्ल पढ्न गइन्थ्यो। मैले स्याङ्जामै रहेको ज्योति बोर्डिङ स्कुलमा अध्ययन गरेँ। सानोमा पढ्न म निकै टाठो थिएँ। पढाइ निकै राम्रो थियो। धेरैजसो पहिलो नै हुन्थेँ। धेरै जान्ने भएर ६ कक्षा नपढी ७ कक्षामा गएँ। कक्षा ८ मा पुगेपछि भने लोकगीत संगीतप्रति मेरो आकर्षण बढेकाले पढाइमा अलिक असर पर्यो। त्यसैले चौथोमा झरेँ।
कक्षा ५ सम्म पढ्दा मलाई डाक्टर, इन्जिनियर बन्छु भन्ने सोच थियो। ८ कक्षामा पुगेपछि होइन् अब म गायक नै बन्छु भन्ने लाग्यो। त्यसपछि गीतसंगीततिरै फोकस गरेँ। पढाइमा असर पर्न थाल्यो। त्यसैले घरपरिवारमा पनि चिन्ता बढ्यो। परिवारमा हामी १३ जना सदस्य छौं। दाइ डाक्टर भएकाले उहाँहरूको चाहना मलाई डाक्टर वा इन्जिनियर बनाउने थियो। मलाई चाहिँ कहिल्यै पनि डाक्टर, इन्जिनियर बन्छु भन्ने लागेन। सानोमा म एकदमै चञ्चले स्वभावको थिएँ। घरमा कहिलेकाहीँ ढिँडो खाइन्थ्यो। ढिँडो खाएपछि भात लिएर निस्कने चलन थियो। म चाहिँ ढिँडो खाएपछि ढिँडो नै लिएर निस्कन्छु भन्थेँ। पहिले गाउँघरतिर ढिँडो खाएको भन्नु हुँदैन भन्थे। म चाहिँ बाहिर निस्किनेबित्तिकै आज ढिँडो र गुन्द्रुक खाएको भन्थेँ।
सानैदेखि ढाँट्न हुँदैन इमानदार हुनुपर्छ भनेर यसो गरेँ जस्तो लाग्छ। स्कुलमा म एकदमै अनुशासित र असल थिए। सानैदेखि गीत संगीतप्रति रुचि बढेकोले म रेडियोमा आउने गीतहरू नछुटाइकन सुन्ने गर्थें। त्यो बेलामा प्रेमराजा महत, नारायण रायमाझी, राजेन्द्र लम्साल क्षेत्री, पुरुषोत्तम न्यौपाने, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपानेलगायतका ठूला कलाकारको गीतहरू सुन्दा मैले पनि यसरी नै गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। मेरो गीत पनि रेडियोमा आए कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो। त्यो बेलामा मलाई ठूलाठूला नेताभन्दा पनि कलाकार ठूला हुन् भन्ने लाग्थो। कलाकार जस्तो ठूलो कोही छैन भन्ने ठान्थेँ।
जिन्दगीमा मरी लानु के छ र ? म पनि गायक बन्ने हो रेडियो, टीभीमा आउँछु भन्ने सोख थियो। कक्षा ८÷९ मा पढ्दा म इन्जिनियर, डाक्टर भए भने त मरे पनि कसैलाई थाहा हुन्न। राम्रो कलाकार बन्यो भने म मर्दा पनि धेरैलाई थाहा हुन्छ, केही न केही छोडेर जानुपर्छ भन्ने सोच आउँथ्यो। मसँग खासै पैसा नहुने। घरबाट दुई रुपैयाँ पनि पाउन मुस्किल पथ्र्यो। साथीहरूले त्यो बेला ५÷१० रुपैयाँ देखाएर खाजा खान जाम भन्थे। अनि मसँग पैसा नभएकै कारणले यिनीहरूसँग मिल्दिन भन्ने लागेर उनीहरूसँग हिँड्दैनथेँ। मेरो यही स्वभावले स्कुलमा धेरै साथी बनाइन्। तर गाउँघरतिर भने धेरै साथी थिए। २०५६ सालमा कलेज पढ्न म काठमाडौंमा आएँ। बुवा, आमाले पढ्न भनेर पठाउनुभएको हो। म दाइसँग बसेर पढ्थेँ। पहिले सरस्वती क्याम्पस पढेपछि आरआरमा भर्ना भएँ। म काठमाडौं आएको दुई वर्षमा दाइ विदेश पढ्न गएपछि म अलि स्वतन्त्र भएँ। दाइ गएपछि अब मेरो चाहना पूरा हुने भो भन्ने लाग्यो।
ठमेलको गल्कोपाखामा डोरमी कला केन्द्र थियो। त्यहाँ बाटो हिँड्दा ‘सा रे गा मा प ध नि सा ..’ भनेको सुनेँ। त्यहाँ सिकेपछि स्वर राम्रो आउँछ होला भनेर त्यहीँ छिरें। त्यहाँ लाक्पा शेर्पा सर हुनुहुन्थ्यो। महिनाको सात सयमा त्यहाँ भोकल सिक्न थालेँ। गाउँमा पानको पात बजाएर गाएको बानी त्यहाँ भोकल सिक्दा त आत्तिएर खाली ‘शु–शु’ मात्र आउँथ्यो। पछि लाक्पा शेर्पा सरले नै दोहोरी खोलेपछि दोहोरी साँझमा नै गाउन थालेँ। बिस्तारै कमाइ पनि राम्रो हुन थाल्यो।
कलाकारितामा भविष्य बनाउने मेरो चाहना भए पनि परिवारको सहयोग भने थिएन। त्यो बेला गीत गाउने बिग्रिन्छन्, भविष्य राम्रो हुँदैन भनेर घरमा सबै कराउँथे। गीत गाउने मानिस अनुशासित हुँदैनन् भन्थे। दुई, तीन वर्ष त म लुकीलुकी गीत गाएँ। त्यतिबेलासम्म मैले धेरै पुरस्कार हात पारिसकेको थिएँ।
२०६० सालमा भृकुटीमण्डपमा राष्ट्रव्यापी लोकदोहोरी प्रतियोगिता थियो। त्यो बेलामा बुवा पनि काठमाडौं आउनुभएको थियो। बुवाले पत्ता लगाउनुभएछ। म पढ्न कलेज जान्छु भनेर प्रतियोगिताको फाइनलसम्म पुगिसकेको थिएँ। किताब बोकेर गीत गाउन गएको थिएँ। बुवा कताबाट घुम्दै आउनुभएछ। त्यहाँबाट बल्ल मेरो छोरो गायक भएछ भन्ने थाहा पाउनुभयो। त्यसपछि ममीले दाइले गाली गर्नुभयो।
धेरै दबाब भएपछि करिब दुई वर्ष मैले गीत गाउन पनि छाडेँ। अब म पढ्छु भनेर लोकसेवाको तयारी पनि गरेँ। गायनप्रतिको मोहले पढ्न मन लागेन। नाम पनि निस्केन। समकालीन साथीहरूको गीत टेलिभिजनमा बज्दा पनि रहर लाग्थ्यो। २०६४ सालबाट फेरि गीत गाउन सुरु गरेँ। अहिले भने छोरो गायक भयो भनेर सबैले राम्रो मान्नुहुन्छ। ‘टलक्कै ऐना टल्कियो’ भन्ने तीज गीतको सिर्जना गरेँ। आशिष म्युजिक प्रालिको दाइसँग भेट भयो। दाइले सहयोग गर्नुभयो। त्यो गीत राम्रो चल्यो। उहाँले मेरो गीतको लगानी गरिदिनु भयो। मलाई पनि सहयोग भयो। उहाँको पनि कम्पनी चल्यो। देशमा भएको यथार्थ घटना र परिवेशलाई जस्ताको तस्तै चित्रण गरेर संकलन गरेको पछिल्लो एल्बम ‘लुट्न सके लुट’ ले मलाई देशमा मात्र होइन विदेशमा पनि चर्चित बनायो।
भाइबहिनीहरू, सबैभन्दा ठूलो कुरा म यो बन्छु भनेर लक्ष्य निर्धारण गर्नुपर्छ। त्यो लक्ष्य आमाबाबुलाई भन्नुपर्छ। सबैभन्दा ठूलो कुरा पढाइ हो। पढ्न कहिल्यै पनि छाड्नु हुँदैन। जीवनमा ज्ञानी र अनुशासित हुनुपर्छ। आफ्नो बुवा ममीको पीर मर्का पनि बुझ्नुपर्छ। दु :ख नदिइकन उहाँहरूलाई सहयोग गर्नुपर्छ।
-(गोविन्द मरासिनीसँग गरेको कुराकानीमा आधारित)