हामीसँग साथी सरह व्यवहार गर्नुहोस्

हामीसँग साथी सरह व्यवहार गर्नुहोस्

केही दिनअघिको कुरा हो। सरोज नराम्रोसँग चुरोटको लतमा फसेको समाचारले मलाई झसंग पार्‍यो। कहिलेकाहीँ कक्षामा ऊ घोरिएर बस्ने, झगडा गर्ने आदि गथ्र्यो। उसको नजिकमा बस्दा चुरोटको गन्धले हामी सबैलाई टाढा भगाउँथ्यो। त्यति मात्र नभई एकदिन त उसले मुक्का हानेर हरिको दाँत पनि भाँचिदिएको थियो।

सरोजका आमाबाबु विदेशमा छन्। उहाँहरूले विदेशी माटोमा दिनरात पसिना बगाइरहनुभएको छ। उहाँहरूसँग कहिलेकाहीँ फोनमा मेरो पनि कुरा हुन्छ। कुरा गर्दा उहाँहरूले यसो भन्नुहुन्छ, ‘हामीले उसलाई विद्यालयमा भर्ना गरिदिएकै छौं। होस्टेलमा पनि राखेकै छौं। अब यति गर्दा पनि छोरो बिग्रिन्छ भने हामी के गर्न सक्छौं र ? ’

उहाँहरूले अभिभावकका रूपमा हेरेर यस्तो भन्नु भएको होला। तर एउटा विद्यार्थीको रूपमा म मेरो साथीको समस्यासँग अवगत छु। ऊ नराम्रो कुलतमा फस्नुको मुख्य कारण उसलाई सत्मार्ग देखाउने कोही नहुनु नै हो।

यो घटनाको प्रत्यक्षदर्शी हुँ म। त्यसैगरी एउटा विद्यार्थी पनि हुँ। यी दुवै नाताले म आदरणीय अभिभावकलाई आफ्ना छोराछोरीलाई साथी सरह व्यवहार गर्न आग्रह गर्छु। साथै तपाईंहरूले हामीलाई पारिवारिक सरसल्लाहमा समावेश गर्नुहोस्। यसमा समावेश गर्नाले हामीलाई व्यावहारिक बनाउनुको साथै पारिवारिक समस्याहरूसँग जुध्न सहयोग पनि गर्छ।

बालबालिकाको एउटा गुण नै होला, हामी स्वतन्त्रताको खोजीमा हुन्छौं। तपाईंहरूले हामीलाई स्वतन्त्रता दिनुहोस्। तर हामीले स्वतन्त्रत रूपमा गर्ने कार्यलाई भने अवलोकन गरिदिनुहोस्। संयोगवश हामी कुनै नराम्रो बाटोमा लाग्यौं भने समयमै हामीलाई सही बाटो देखाउनुहोस्। हाम्रो मनोभावलाई बुझ्न खोज्नुहोस्। तपाईंहरू हाम्रोसामु चिच्याउने, झर्कने नगरिदिनुहोस् किनभने यसो गर्नाले हामीमा नकारात्मक सोचहरूको विकास हुन्छ।

अहिलेको विज्ञान र प्रविधिको युगमा हामीलाई प्रविधिको प्रयोग गरेर ज्ञान आर्जन गर्न सहयोग गर्नुहोस्। ठूला मानिसले त गल्ती गर्छन् भने हामी त बालक हौं, हामीबाट गल्ती नहुने कुरै भएन। हामीले गल्ती गरेपछि तपाईंहरूले गाली गर्नुभन्दा प्र्रेरणात्मक रूपमा सम्झाउनुहोस्। यसले हामीलाई गल्तीबाट पाठ सिक्न मद्दत गर्छ। साथै अनेकौं समस्याहरूसँग लड्न सिकाउँछ। हामी बालबालिका अलि जिज्ञासु स्वभावका हुन्छौं। तपाईंहरूले सकेसम्म हाम्रो जिज्ञासालाई शान्त बनाउनुहोस्। यसले हामीलाई नयाँ प्रश्नहरू गर्न वा खोज्न झन बढी आत्मबल दिन्छ।

तपाईंहरूले हामीलाई चित्र कोर्ने, कविता पढ्ने, रचना गर्ने, पत्रपत्रिका पढ्ने, चुट्किला पढ्नेजस्ता सिर्जनात्मक कार्यमा संलग्न हुन उत्प्रेरित गरिदिनुहोस्। समयसमयमा हामीलाई प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थलहरूको भ्रमण गराउनुहोस्। यसले हामीलाई बाहिरी संसारसँग परिचित गराइदिन्छ। हामीलाई हाम्रो इच्छाअनुसार भविष्यमा एउटा क्षेत्र आफैं चुन्न दिनुहोस् यसले हाम्रो जीवनलाई सफल र सार्थक बनाइदिन्छ।

- सुदीप फुयाल

कक्षा  : १०

 टाइम्स स्कुल, कुलेश्वर, काठमाडौं


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.