प्रज्ञासँग अनुसन्धानका लागि रकम छैन
प्राज्ञ लक्ष्मी माली
नेपाल प्रज्ञा प्रतिष्ठानको विभिन्न विभागमध्ये मातृभाषा (साहित्य) विभाग एक हो। यस विभागको प्रमुख प्राज्ञ लक्ष्मी मालीसँग ती विभागको कार्यबारे केन्द्रित रही गरिएको कुराकानी:
मातृभाषा (साहित्य) विभागले यस वर्ष के कस्तो काम गर्यो ?
थोरै समयमा पनि हामीले ६ वटा कार्यक्रम सम्पन्न गर्र्यौं। रूपन्देहीमा चौथो थारू साहित्य राष्ट्रिय सम्मेलन, लुम्बिनीमा अवधी केन्द्रित साहित्यमा विमर्श, नेपाल (नेवार) भाषा कविताको चार सय यात्राबारे गोष्ठी, नेपाल भाषाका कविहरूको कवितावाचन गोष्ठी, बान्तवा राई भाषा साहित्य गोष्ठी, प्रज्ञाको नेवारी पत्रिका ‘थायभु’मा लेख्ने स्रष्टाहरूलाई सम्मान पनि गरियो।
विभागबाट अनुसन्धानको के कस्तो काम भए ?
भोजपुरी कवि ब्रह्मदेव यादवको रचना संकलन, दुरा भाषा साहित्य संकलनदेखि, बाम्बुले राईको साहित्य, कुमाल साहित्य, मगही भाषाको साहित्यको अध्ययन पनि गरियो। त्यसबाहेक अध्ययन भई प्रकाशनको लाइनमा भोगीराज चाम्लिङको कियामा मुचुङमा मुन्धुम (राई) को मौखिक साहित्य तथा राजेन्द्र महर्जनको सिलुमे र सामाजिक प्रतिरोध पुस्तक प्रकाशनको तयारीमा छ। विभागसँग निकै थोरै रकम छ भन्ने सुनिन्छ।
यतिका कार्यक्रम गर्न कसरी सम्भव भयो ?
हो, तपाईंले सुनेको सही हो। प्रत्येक विभागले जम्माजम्मी सात लाख मात्रै पाउँछन्। विभिन्न भाषा, साहित्यसम्बन्धी संस्थाहरूले अन्य निकायबाट रकम जोहो गरेर कार्यक्रम गर्छन्, त्यसमा प्रज्ञाले थोरै सहकार्य मात्रै गर्छ। अनुसन्धानकर्मीहरूले पनि आफ्नो भाषा साहित्यको मायामोहले काम गरिरहेका छन्। प्रज्ञाको अनसन्धानमा मात्रै होइन, अन्य गोष्ठी गर्न पनि रकम अत्यन्त थोरै छ।
तपाईं नेपाल भाषा सम्बन्धित भएर हो कि, त्यो समुदाय केन्द्रित गतिविधि बढी भएछन् नि ?
त्यस्तो देखिएको मात्रै हो। जजसले कार्यक्रमको प्रस्तावना ल्याउँछन्, उहाँहरूले मौका पाउने हो। मातृभाषा (साहित्य) विभाग सबै भाषाभाषीका लागि काम गर्न तम्तयार छ। ज
जाँदाजाँदै, साहित्यमा तपाईंको रुचिको विषय के हो ?
म शिक्षण पेसाबाट रिटायर भएकी हुँ। शिक्षण र साहित्य एकअर्कोमा अन्तरसम्बन्धित छ भन्ने मलाई लाग्छ। कविता मेरो प्रिय विधा हो। २०२८ सालदेखि लेखिरहेको छुँ। हालसम्म ‘आगो याम’, ‘आरुका फूलहरू’, ‘आमा तिम्रो नाम के हो’, ‘तोरी फुल्ने खेत’ गरी मेरा चार कविता संग्रह प्रकाशित छन्।