पण्डाल भत्किँदा १४ को मृत्यु
बाडमेर : भारतको राजस्थानस्थित बार्मर क्षेत्रमा आइतवार अपराह्न करिब ४ः३० बजे एक्कासि हावासहित परेको वर्षाका कारण ‘पण्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ‘धार्मिक सभाका लागि निर्माण गरिएको उक्त अस्थायी संरचना त्रिपाल भत्किएर १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना घाइते भएका छन्’, स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
घटनामा २५ जनाभन्दा बढी गम्भीर घाइते भएका र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । गम्भीर घाइतेलाई नाहटा अस्पतालमा भर्ना गरिएको छ । जसोल गाउँमा रामकथा चलिरहेको थियो । त्यसै बेला एक्कासि पण्डाल खसेको थियो । हनवाको गति तीव्र भएकाले त्यहाँ सहभागी सम्हालिन पाएका थिएनन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालयको आधिकारिक ट्वीटर पेजमा प्रधानमन्त्रीले भनेका छन्, ‘बार्मरमा पण्डाल भत्केर दुःखद घटना घटेको छ । यस समय घटनामा ज्यान गुमाउने शोकाकुल परिवारप्रति म समवेदना प्रकट गर्न चाहन्छु । साथै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दछु ।’
यसैगरी राजस्थानका मुख्यमन्त्री अशोक गलहोतले घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । उनले घटनाबारे छानबिन समिति बनाई अनुसन्धान गर्न आग्रह गर्दै राज्यले मृतक तथा घाइतेका परिवारलाई यथासम्भव सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।