किमले पाए ट्रम्पको पत्र
प्योङयाङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन्। उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतवार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गरेका हुन्।
पत्र पढेपछि नेता किमले पत्रप्रति सन्तुष्टि जनाएको पनि समाचारमा उल्लेख गरिएको छ। उनले भने, ‘पत्रमा गजबको विषयबस्तु लेखिएको छ।’ किमले त्यसमा रहेको चाखलाग्दो विषयमा गहन ढंगले सोचविचार गर्ने आशय व्यक्त गरेका छन्।उनले पत्रमा लेखिएको विषयबस्तुको भने कुनै जानकारी दिएका छैनन्।
त्यसैगरी अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने बारेमा पनि खुलासा गरिएको छैन। त्यसबारे अमेरिकाले पनि कुनै प्रतिक्रिया जनाएको छैन। गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको दोस्रो शिखर बैठक निष्कर्षविना टुंगिएको थियो।त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अनिश्चित रहेको छ।
उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्नुपर्ने अमेरिकाको चाहना र आफूविरुद्ध लगाइएका प्रतिबन्ध फुकुवा हुनुपर्ने उत्तर कोरियाको अडानका कारण सम्बन्ध सुमधुर हुन नसकेको हो।–सिन्ह्वा