'विकास प्राथमिकतामा छ'

'विकास प्राथमिकतामा छ'

धनुषा जिल्लामा १८ स्थानीय तह छन्। जसमध्ये सहिदनगर नगरपालिका चर्चित हुँदै गएको छ। २४ वर्षकै उमेरमा नेकपाबाट निर्वाचित नगर प्रमुख उदयकुमार बरबरिया (यादव) जनअपेक्षाअनुसार विकासतर्फ अगाडि बढेको बताउँछन्। उनै नगर प्रमुख बरबरियासँग अन्नपूर्णकर्मी मनिका झाले गरेको कुराकानी :

सहिदनगर नगरपालिका कसरी अगाडि बढिरहेको छ ?

योजनाअनुसार विकासका काम अगाडि बढाइरहेका छौं। विगत दुई वर्षमा दुई वटा नगरसभा गरी जनताको आधारभूत आवश्यकता पूरा गर्‍यौं। त्यस क्रममा सडक ढलान, धर्मशाला, मस्जिद निर्माणजस्ता आधारभूत काम भएका छन्।

विद्यालयमा अनुगमन तथा सिस्टम सुधार गरिएको छ। तेस्रो नगरसभा गर्ने तयारीमा छौं। त्यसमा प्रदेशस्तरीय गौरवका योजना फुटबल ग्राउन्ड निर्माण, बसपार्क निर्माण, सिँचाइका लागि कमलामा पानी जम्मा गर्ने फाँटको व्यवस्था गर्ने योजना छ। शिक्षा, स्वास्थ्य र वडा कार्यालयको भवन मर्मतलाई पनि प्राथमिकतामा राखिएको छ।

जनतासँग गरेका प्रतिबद्धता के–के पूरा भए ?

गरिएका वाचाहरू पूरा गर्ने क्रममा छौं। अधिकांश त पूरा भइसकेका छन्। दलित बस्तीबाट विकास सुरु गर्ने प्रतिबद्धता जनाएको थिएँ। मैले त्यस्तै गरेँ। नगरपालिकाको ८० प्रतिशत दलित बस्तीमा पक्की सडक बनिसकेको छ। त्यसपछि मध्यम वर्ग हुँदै विकासको गति अगाडि बढ्ने मेरो योजना छ। केन्द्र सरकारसँग विभिन्न विषयमा समन्वय भइरहेको छ। प्रदेशमा फरक पार्टीको सरकार भएको हुनाले केही अप्ठ्यारा पनि छन्।

प्रदेशसँग खासै आस गर्ने अवस्था छैन। तर, संघीय सरकारसँग समन्वय गरेर तीन÷चारवटा मुख्य सडकलाई पक्की बनाउने काम अघि बढाइएको छ। सहिदनगरमा प्राविधिक विद्यालय स्थापनाका लागि पहल गरी यसपकट धनुषा जिल्लामा एउटा मात्र प्राविधिक शिक्षा अध्यापनको अनुमति प्राप्त विद्यालय पाएका छौं। त्यसमा बाली विज्ञानलगायत प्राविधिक विषय अध्ययन÷अध्यापन भइरहेको छ। नमुना विद्यालय घोषणा गर्ने पनि तयारी भइरहेको छ।

बजेट खर्चको अवस्था के छ ?

सबैको काम गर्ने शैली फरक हुन्छ। नगरवासी, कर्मचारी र जनप्रतिनिधिबीच समन्वय हुनु जरुरी छ। नगर विकासका लागि भिजन, डिसिजन र एक्सन चाहिन्छ। पहिला त भिजन बनाउने हो। त्यसलाई नगरवासीसमक्ष छलफल गरी डिसिजनमा पुग्यौं र एक्सनमा गयौं। हामीले नारा तय गरेका छौं। सुविधा सम्पन्न ऐतिहासिक सहर, समृद्ध सहिदनगर नारासहित कामकाज अगाडि बढाएका छौं। जसमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना चयन गरिएको छ।

नगर विकासका लागि भिजन, डिसिजन र एक्सन चाहिन्छ। पहिला त भिजन बनाउने हो।

प्रदेशस्तरीय फुटबल ग्राउन्ड र बसपार्क निर्माणलाई अगाडि बढाएका छौं। साथै, विपद् व्यवस्थापन गर्न टोल फ्री नम्बर उपलब्ध गराउने तयारी गरेका छौं।

स्थानीयको अपेक्षा र नगर कार्यपालिकाको काममा तालमेल मिलेको छ ?

स्थानीयको अपेक्षा र नगर कार्यपालिकाको तालमेल नमिलेको भए अहिलेसम्म हामीले भिजनअनुसार काम गर्न सक्दैनथ्यौं। जनतासँगको समन्वयकै कारण नगर विकासको खाका अगाडि बढेको हो।

कुन–कुन क्षेत्र प्राथमिकतामा परेका छन् ?

यस वर्ष शिक्षा र खेलकुदमा बढी केन्द्रित भएका छौं। गत वर्ष स्वास्थ्यमा निकै लगानी गरेको थियौं। यस वर्ष औषधि र चिकित्सकको उपलब्धता प्राथमिकतामा परेको छ। तर, शिक्षा र खेलकुदलाई यस वर्ष मुख्य प्राथमिकतामा पारी काम अगाडि बढाइएको छ। शिक्षा क्षेत्रमा दरबन्दी मिलान आवश्यक छ। त्यसतर्फ काम हुन्छ। भौतिक संरचना बनाउने र शिक्षकको दक्षता अभिवृद्धि प्राथमिकतामा परेका छन्।

विकास निर्माणलाई कसरी व्यवस्थित गर्नुभएको छ ?

सही नियत र इमान्दारीले काम गर्ने हो भने विकास निर्माण आफैं व्यवस्थित हुन्छ। नीति–नियम बनाएर काम गरेपछि केही समस्या हुँदैन।

कान्छो नगर प्रमुखका विशेष योजना के–के छन् ?

जनताको आवश्यकता र उनीहरूको चाहनाअनुसार त्यहीँको साधन–स्रोत प्रयोग गरी योजना अगाडि बढाउनेछु। आधारभूत आवश्यकता पूर्ति गर्नु प्रमुख विषय हो। त्यसपछि विशेष योजना कार्यान्वयनतर्फ लग्ने हो।

के–के छन् चुनौती ?

काम गर्ने मान्छेलाई केही चुनौती र अप्ठ्यारो त हुन्छ नै ! तर, इमान्दारीपूर्वक काम गर्ने व्यक्तिलाई खासै समस्या हुँदैन। मलाई जनताबाट राम्रै सहयोग छ। सानातिना अप्ठ्यारा त आउँछन् नै ! त्यस्तो खासै जटिल चुनौती केही छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.