उपभोक्ता समिति अपारदर्शी भन्दै आन्दोलन, वडाध्यक्षलाई कार्यालय छिर्न दिइएन !
सिरहा : प्रदेस सरकारबाट आएका योजना अनुसार एकलौटी रुपमा उपभोक्ता समिति गठन गरेको भन्दै सिरहाको सीमावर्ती क्षेत्र औरही गाउँपालिका–४ का स्थानीयले विरोध जनाएका छन् ।
विरोध स्वरुप सोमबार स्थानीय बासिन्दाले ४ नम्बर वडा कार्यालयमा धर्ना दिएका छन् । आन्दोलित स्थानीयले वडाध्यक्षलाई वडा कार्यालयमा नै प्रवेश गर्न दिएका छैनन् ।
आइतबार वडाध्यक्ष र प्रदेश सरकार विरुद्ध जुलुस प्रर्दशन गर्दै नाराबाजी गरेका उनीहरुले आज सोमबार पनि धर्ना र नारावाजी जारी राखेका हुन् । पारदर्शी तरिकाले उपभोक्ता समिति गठन गर्न उनीहरुले माग गर्दैआएका छन् । सोही वडाका स्थायी बासिन्दा प्रदेश २ का आर्थिक मामिला मन्त्री विजय कुमार यादवले आफ्नो पहलमा करोडौँ रुपैयाँको योजना ल्याएका छन् ।
मन्त्रीको आडमा वडाध्यक्ष उपेन्द्र प्रसाद यादवले एकलौटी रुपमा उपभोक्ता समिति गठन गरेको आन्दोलनरत स्थानीयको आरोप छ । मन्त्री यादव र वडाध्यक्ष समाजवादी पार्टीका हुन् । यस वडामा प्रदेश सरकारबाट महादेव मन्दिर निर्माणका लागि ५० लाख, नवकाटोलदेखि हुलाकी सडकसम्म सडक आरसिसी ढलान ७५ लाख, गागन नदीदेखि भारतीय सिमानासम्म सडकमा माटो र ग्राभेलका लागि २० लाख, कबरगाहमा बाल निर्माणमा ५० लाख, खजनपुर स्कुलको बाल निर्माण ५० लाख, पोखरी जिर्णोदार ५० लाख, सामुदायिक भवन निर्माण २५ लाख र आधारभुत विद्यालय इटाटारमा भवन निर्माणका लागि २५ लाख रुपैयाँको योजना आएका छन् ।
गाउँपालिकाबाट वडास्तरीय योजनाका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । तिनै योजनाको आधारमा मनलाग्दी उपभोक्ता समिति गठन गरेको भन्दै आन्दोलन गर्नुपरेको स्थानीय सुरेन्द्र यादव बताउँछन् । पटक–पटक वडाध्यक्षलाई पारदर्शी तरिकाले उपभोक्ता समिति बनाउन आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको उनको गुनासो छ ।
आम जनसमुदायलाई भेला नै बोलाइ उपभोक्ता समिति गठन गरेको उनले सुनाए । भ्रष्टाचार गर्ने नियतले यस्तो गरिएको उनको आरोप छ । उपभोक्ता समिति एकलौटी गरेपछि आन्दोलनरत स्थानीयहरुले भौतिक पूर्वाधार कार्यालय सिरहामा निवेदन दिएका थिए । त्यही निवेदनको हुबहु कपी जिल्ला प्रशासन कार्यालयमा पनि बुझाएको सुरेन्द्रले जानकारी दिए । पहिलेको उपभोक्ता समिति खारेज गरी पुनः अर्को समिति गठन नगरे वडा कार्यालयमा धर्ना र मगंलबार तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
प्रदेश सरकारबाट आएका कतिपय योजनाको काम पनि सुरु हुन सकेको छैन । सडक ढलान योजनाको परिपत्र जेष्ठ महिनाको अन्तिममा आएको र असारमा आएर उपभोक्ता समिति गठन गरिएको वडाध्यक्ष यादवले जनाए ।
‘हतारमा उपभोक्ता समिति गठन गर्न परेकोले प्रक्रिया पु¥याउन कठिन भएको थियो,’ उनले भने, ‘तर कुनै पनि योजनामा एउटै पार्टीको एकलौटी गरेको छैन । सबैलाई समावेश गराएका छौँ । जुन बस्तीमा योजना छ । त्यहीको व्यक्तिलाई उपभोक्ता समिति गठन गराएका छौँ ।’
आर्थिक वर्ष बित्न केही हप्ता मात्रै बाँकी रहँदा पनि सडक ढलानको काम सुरु भएको छैन । सडक विस्तार र माटो पुर्ने काम पनिसँगै हुँदा ढलान कार्यमा ढिलाइ भएको वडाध्यक्ष यादवले बताए ।