दुई युवतीमाथि सामूहिक बलात्कार
भैरहवा : रूपन्देहीको गैडहवा गाउँपालिकाका दुई युवती सामूहिक बलात्कारमा परेका छन्। गैडहवा गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अधिकृत जीवन ज्ञवाली पनि यो घटनामा मुछिएका छन्। यद्यपि उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।
पीडितले किटानी जाहेरी दिएपछि ज्ञवालीलाई असार ५ मा पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाइएको इलाका प्रहरी लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए।
उनका अनुसार असार २ गते राति गैडहवाका–९ का २२/२३ वर्षका दुई युवती सामूहिक बलात्कारमा परेका हुन्। ती युवती र स्थानीय विष्णु थारूले उक्त रात एक रेस्टुरेन्टमा सँगै बसेर मदिरा पिएका थिए।
तीनै जना घर फर्किने क्रममा सँगै रहेका विष्णुले अन्य युवा बोलाएर जबर्जस्ती गरेको पीडित पक्षको आरोप छ। तर, घटनामा संलग्न युवकको संख्या यकिन नभएको प्रहरीले जनाएको छ।
घटनाकै बेला एक युवती भने भागेर नजिकै हसनापुर गाउँमा गएर गुहार मागेकी थिइन्। प्रधानमन्त्री रोजगार कार्यक्रमका गैडहवा संयोजक एवं सोही गाउँका बासिन्दा ज्ञवालीसहित पाँच जना उद्धारका लागि निस्किएका थिए। तर, उनीहरूले उल्टै आफूलाई बलात्कार गरेको जाहेरी पीडितले दिएको प्रहरी निरीक्षक पोखरेलको भनाइ छ।
ज्ञवालीले भने आरोप अस्वीकार गरेका छन्। उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘घटनास्थलमा मैले हेर्दा सहमतिमा यौनसम्पर्क भइरहेजस्तो लाग्यो अनि म फर्किएँ।’
अभियुक्त विष्णु फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। घटनामा संलग्न अधिकांशको पहिचान खुलेको छैन। घटनामा १२ जना संलग्न रहेको अनुमान गरिएको छ।
‘हामीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं’, पोखरेलले अन्नपूर्णसँग भने, ‘दोषीहरू उम्किन पाउँदैनन्।’
मदिरासहित खाजा खाएर घर फर्किन लाग्दा विष्णुसहितका युवाले सुरुमा बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का वडाध्यक्ष टेकबहादुर बलालले बताए। बलात्कारमा परेका उनीहरूको स्वास्थ्य अवस्था उपचारपछि सामान्य छ।