गाउँपालिका अध्यक्षको कार्यकक्ष अगाडी बम
जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहको कार्याकक्षमाशंकास्पद वस्तु फेला परेको छ। लिम्सा स्थित कार्यालयमा मंगलबार बिहान सुतली बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको हो। खतरा लेखिएको शंकास्पद वस्तुका कारण त्रास फैलिएको छ।
नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दलाई लक्षित गरी उनीहरुले नै त्रास फैलाउन उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने सुरक्षा निकायको आशंका छ।
ईलाका प्रहरी कार्यालय रामीडाँडाको प्रहरी टोलीले उक्त शंकास्पद वस्तु बम हो वा होईन भन्ने छुट्याउन नसकेपछि जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलको मनमई स्थित नेपाली सेनाको टोली बारेकोटतर्फ लागेको गरेको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।
सेनालाई लिम्सा पुग्न करीब ७ घण्टा पदैल हिड्नु पर्छ । बम आतंकका कारण मंगलवार गाउँपालिकाले कुनैपनि कामकाज नगर्ने जनाएको छ । अध्यक्ष शाहले भने–‘हामी सचेत छौ । कुनै अप्रिय घटना नहोस । आज दिनभर गाँउपालिकाको कामकाज ठप्प हुने देखियो ।’
बन्दले जाजरकोटको जनजीवन प्रभावित भएको छ। सोमबार बसेको जिल्लास्थित सुरक्षा समितिको बैठकले बन्दको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायको गस्ती बढाउने, शंकास्पद मानिसको निगरानी र खानतलासी गर्ने लगायतका निर्णय गरेको प्रजिअ बस्नेतले बताए ।