बर्बाद भो हाम्रो सरकार

बर्बाद भो हाम्रो सरकार

काठमाडौं  : दुई तिहाइ सरकारको चौतर्फी विरोध भइरहेको छ। सरकारले अघि सारेका विधेयकहरूले देश तरंगित छ। गुठी विधेकले त झन् काठमाडौं जुरुक्कै उचाल्यो। सरकारलाई खबरदारी गर्न स्थानीयवासी सडकमा उत्रिए।

पछिल्लो समय नेपाली गीतसंगीतमा समेत सरकारप्रतिको असन्तुष्टिका स्वरहरू छचल्किन थालेका छन्। सर्जकहरू आफ्ना सिर्जनामा विरोधका आवाज घन्काउन थालेका छन्। तिनमा ‘ए सरकार’ बोलको गीत पनि पर्छ।

साहित्यकार तथा पत्रकार गिरिजा अधिकारीले रचना गरेका ‘ए सरकार’ र ‘ए सरकार–२’मा जनता सरकारबाट कति असन्तुष्ट छन् भन्ने देखाउन खोजिएको छ। ‘ए सरकार’ म्युजिक भिडियोमा युवाहरूको बेरोजगारी समस्यालाई उठाइएको छ भने दोस्रोमा देशमा व्याप्त भ्रष्टाचारप्रतिको दिक्दारी छ।

‘ए सरकार–२’को म्युजिक भिडियोमा ‘बर्बाद भो हाम्रो सरकार...’ भन्दै भीमफेदी गाइजले दमदार नृत्य गरेका छन्। गीतका साथै कथा पनि जोडिएको उक्त म्युजिक भिडियोको कोरियोग्राफी गरेका भीमफेदी गाइजका निर्मल लामा भन्छन्, ‘हाम्रो लागि यो बिलकुलै नयाँ संगीत थियो। सरकारप्रतिको रिस स्क्रिनमा देखिनुपर्ने र नृत्यसमेत नाचौं नाचौं लाग्ने बनाउनुपर्ने थियो।’

केही समयअगाडि पशुपति शर्माको गीतलाई सेन्सर लगाउने सम्मको हर्कत गरेको वर्तमान सरकारले कमेडियन प्रनेश गौतमलाई साइबर क्राइमको मुद्दासमेत चलाउन भ्यायो। तर जनताको अभिव्यक्ति स्वतन्त्रतामा कुनै अंकुश लगाउन नहुने गीतका रचनाकार अधिकारी बताउँछन्।

उनका अनुसार राज्यव्यवस्था परिवर्तन भए पनि जनजीवनमा कुनै परिवर्तन नआएकाले यस्तो गीत लेख्नु परेको हो। भन्छन्, ‘दुई तिहाइको सरकारले केही गरोस् भन्ने चाहन्छु। त्यसैले समय छँदै सजग गराउन गीत कोरेको हुँ।’

‘ए सरकार’ म्युजिक भिडियो भाइरल भएसँगै ‘ए सरकार–२’ म्युजिक भिडियो सार्वजनिक भएको हो। अब फेरि ‘ए सरकार–३’समेत निकाल्ने तयारीमा रहेको उनले जनाए।

‘ए सरकार–२’को म्युजिक भिडियोको अन्त्यमा गीत नसकिँदै काटिएको विषय भने धेरैले बुझ्न सकेका छैनन्। तर यस गीतका संगीतकार विकास पाण्डेका अनुसार जनताको आवाज सरकारले दबाइरहेको विषयलाई सांकेतिक रूपमा प्रयोग गरेको बताउँछन्। भन्छन्, ‘सरकारले जस्तो व्यवहार देखाउँछ, जनताले त्यस्तै प्रतिक्रिया दिने हुन्।’ गीतले देशको भक्तिभावमा कुनै कमी नराखी सरकारको कामप्रति मात्र असन्तुष्टि पोखेको समेत उनले प्रस्ट्याए।

‘ए सरकार’ पुष्पन प्रधानले गायका थिए भने ‘ए सरकार–२’मा देवेन्द्र कार्कीको आवाज छ। २०५७ सालमा ‘गाडी छुट्यो सानु हेटौंडा’ बोलको गीतबाट उदाएका कार्कीले आधुनिक पप गीत गाउँदै आएका थिए। उनको ‘झिमझिम झिम्काई परेली’ गीत निकै चर्चित छ।

देशमा चरम भ्रष्टाचार बढेको, विकासले गति लिन नसकेको र जनआकांक्षा तुहिएको अवस्थामा गीतसंगीत क्षेत्रमा पनि राजनीतिक विषयवस्तु जोडिनु स्वाभाविक भएको उनी ठान्छन्। भन्छन्, ‘आन्दोलन नगरी सरकारले सुन्दैन। त्यसैले गीतसंगीतबाट आन्दोलन गर्न सर्जक बाध्य भएका हुन्।’

तर पछिल्लो समय गीतसंगीत क्षेत्रमा राजनीतिकरण हुन थालेको छ। पार्टीगत स्वार्थ हावी हुन थालेका छन्। यस्ता विषयमा सांगीतिक क्षेत्रका मान्छेहरू सजग रहनुपर्ने गायक कार्की बताउँछन्।

‘बर्बाद भो हाम्रो सरकार...’मा विकास पाण्डेले संगीत भरेका हुन् भने रिकेश गुरुङले संगीत संयोजन गरेका छन्। पवन सुसलिङले छायांकन गरेको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका छन्। यसअघि पुष्पन प्रधानको स्वरमा अधिकारीकै शब्द, पाण्डेको संगीत र लामाको निर्देशनमा रहेको ‘ए सरकार’ म्युजिक भिडियो सार्वजनिक भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.