तनहुँमा गाउँपालिका केन्द्र विवाद : गोप्य निर्णय गर्न लागेको भन्दै आन्दोलन
तनहुँ : उपाध्यक्षलाई व्यक्तिगत रुपमा लाभ हुने गरी गाउँपालिका केन्द्र बनाउने बारे गुपचुपमा निर्णय गर्न लागिएको भन्दै म्याग्दे गाउँपालिकाका बासिन्दा विरोधमा उत्रिएका छन् ।
गाउँसभाको बजेट सत्र चलिरहँदा कार्यालय अगाडि स्थानीयले विरोध जुलुस निकालेका हुन् । उनीहरुले कसैलाई व्यक्तिगत लाभ हुने गरी केन्द्र निर्धारण हुन नहुने भन्दै त्यसो भए थप संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
थर्पु बजार समितिको नेतृत्वमा गरिएको जुलुसमा गाउँपालिकाको पश्चिमी भागका अधिकांश नागरिक सहभागी थिए । उनीहरुले पृथ्वी राजमार्ग नजिकैको थर्पु बजारमा नै गाउँपालिकाको केन्द्र कायम गर्नुपर्ने माग राखेका छन् ।
तर गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षबीच अधिकांश गाउँपालिकाका सरकारी कार्यालय मडुवाडाँडा र फूलबारी क्षेत्रमा राख्ने सहमति भएको स्थानीयको आरोप छ । यद्यपि गाउँपालिकाले हालसम्म त्यस्तो कुनै निर्णय सार्वजनिक भने गरिसकेको छैन । तर विरोधमा उत्रिएका स्थानीय आन्तरिक सहमतिबाट केन्द्रमा असर पार्ने गरी निर्णय भएको भन्दै आन्दोलित भएका हुन् ।
सुरुदेखि नै भूगोलगत विवाद
म्याग्दे गाउँपालिकामा स्थापनाकाल देखि नै केन्द्रको विवाद छ । गाउँपालिका अध्यक्षसहित पश्चिम भाग छाङ र मनपाङका जनप्रतिनिधि थर्पु बजार नजिकै केन्द्र बनाउनुपर्ने पक्षमा छन् । तर उपाध्यक्ष बालकृष्ण घिमिरेसहितका जामुने क्षेत्रका प्रतिनिधि भने बेल्टारी क्षेत्रमा संरचना बनाउनुपर्ने पक्षमा छन् ।
चुनावलगत्तै केन्द्र तोक्ने प्रयास पनि विरोधकै कारण सफल हुन सकेको थिएन । गाउँपालिका उपाध्यक्ष घिमिरे पक्षले समथर ठाउँ र धेरै खुला जमिन भएकाले बेल्टारी क्षेत्रमा केन्द्र कायम गरिनुपर्ने तर्क गर्दै आएको छ ।
तर साविक छाङ र मनपाङ क्षेत्रका स्थानीय भने थर्पुमै केन्द्र कायम भएमा सबैलाई पायक पर्ने र त्यहीं नै ठाउँ उपलब्ध रहेको बताउने गरेका छन् । यही विवादका कारण हालसम्म अस्थायी केन्द्रमै काम चलाएको गाउँपालिकाले केन्द्र पाउन सकेको छैन । यसबीचमा गाउँपालिकाका अध्यक्ष समेत उपाध्यक्षको तर्कमा सहमत भएको आरोप लगाउँदै स्थानीय आन्दोलनमा उत्रिए पछि केन्द्र विवाद थप सतहमा आएको हो ।