गलबन्दी विवाद : शम्भु राई भन्छन्, ‘यो सांस्कृतिक बलात्कार हो ’
काठमाडौं : वरिष्ठ गायक शम्भु राईले प्रकाश सपुतले आफ्नो गीतको लय तानेर प्रकाश सपुतले सांस्कृतिक बलात्कार गरेको आरोप लगाएका छन्। एपीवान टेलिभिजनको म्युजिक डायरी कार्यक्रममा बोल्दै राईले यस्तो आरोप लगाएका हुन्।
कुराकानीका क्रममा राईले क्रिएसन शम्भु राई र रिक्रिएसन प्रकाश सपुतको राख्नसमेत प्रस्ताव गरेका छन्। ‘म त भन्छु क्रिएसन शम्भु राई र रि–क्रिएसन प्रकाश सपुत राखौँ’, कुराकानीका क्रममा राईले भनेका छन्।
उनले दुई लाइन मिल्दा आफूलाई चिन्ता नभएको तर सिस्टम बिग्रिन्छ भन्ने चिन्ता भएको बताएका छन्। ‘मलाई तपाईंसँगको पैसाको कुरा होइन। दुई लाइन लय मिल्दैमा चिन्ता पनि होइन’ , राईले भनेका छन्, ‘मात्र मेरो कुरा भनेको सिस्टमको हो।’
प्रकाश सपुतको ‘गलबन्दी’ बोलको गीत युट्युवमा सर्वाधिक चर्चित भएपछि राई र गायक सपुतबीच विवाद चर्किएको छ। सपुतले आफूले गलबन्दी बनाउनु अघि राईको गीत नै नसुनेको दाबी गर्दै आएका छन् भने राईले चोरी गरेको दाबी गर्दै आएका छन्।
राई सपुतविरुद्ध कानुनी बाटोमा अगाडि बढिसकेका छन्। यसले नेपाली सांगीतिक क्षेत्रमा ठूलै विवाद निम्त्याएको छ।