विश्वकपमा श्रीलंकाको गजबको कीर्तिमान
आयोजकका रूपमा विश्वकप क्रिकेटको उपाधि जित्ने पहिलो राष्ट्र श्रीलंका हो। सन् १९९६ मा विश्वकपको छैटौं संस्करण भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका थिए। उक्त विश्वकपको उपाधि श्रीलंकाले जितेको थियो।
श्रीलंकाले फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराएको थियो। त्यसअघि कुनै पनि आयोजक राष्ट्रले विश्वकपको उपाधि जित्न सकेको थिएन। उक्त विश्वकपमा श्रीलंकासँग अर्को रमाइलो संयोग पनि जोडिएको छ। दोस्रो पाली ब्याटिङ गरेर विकेटका आधारमा विश्वकप जित्ने पहिलो टोली पनि श्रीलंका नै हो।
पहिलोदेखि पाँचौं विश्वकपसम्मको उपाधि पहिले ब्याटिङ गर्ने टोलीले रनका आधारमा जित्दै आएका थिए। तर, सन् १९९६ को विश्वकपको फाइनलमा टस हारी पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले सात विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले ४६.२ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो।