सेतो दुबीसँग अत्तालिनुपर्दैन

सेतो दुबीसँग अत्तालिनुपर्दैन

 काठमाडौं : सेतो दुबी उपचार गर्दा निको हुन्छ। तर, यसकै कारण सम्बन्धविच्छेद भएको सुन्दा छाला रोग विशेषज्ञ आश्चर्यचकित परेका छन्। विश्व दुबी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रा.डा. धर्मेन्द्र कर्णले दुबीकै कारण दुई जोडीको सम्बन्धविच्छेद भएको सुनाए। ‘सेतो दुबी रोग होइन। अमेरिका र युरोपमा यसको उपचारै गरिँदैन’, उनले भने, ‘नेपालमा भने सम्बन्धविच्छेदको कारण सेतो दुबी बनेको देख्दा दुःख लाग्छ।’

शरीरका विभिन्न भागमा देखापर्ने सेता दागलाई बोलिचालीमा दुबी भन्ने गरिन्छ। छालालाई रंग दिने कोष (मेलानोसाइट)को कमी भएर दुबी देखिने उनले सुनाए। उनका अनुसार रोगसँग लड्ने क्षमता कहिलेकाहीं बढी भई आफ्नै शरीरविरुद्ध काम गर्न पुग्छ। छालालाई रंग दिने कोषहरूलाई नष्ट गर्छ। त्यसपछि सेतो दुबी देखापर्छ। सेतो दुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुन सक्ने उनले बताए।

प्रायः आँखा, ओंठ वरिपरि दुबी देखिन्छ। कम्मर, कुहिना, हातका औंला, घुँडा, पेटलगायत अन्य भागमा पनि यो देखिन सक्छ। ‘यो अरूलाई सर्ने समस्या होइन’, उनले भने, ‘आफ्नै जीउमा भने फैलिन सक्छ।’

जुनसुकै उमेरमा पनि आउन सक्ने सेता दुबीले युवायुवतीलाई तनाव हुने गरेको छ। ‘कतै जान नपरे हुन्थ्यो भन्ने लाग्छ’, कलाकार पुरन जोशी भने, ‘दुबीकै कारण हीनताबोध हुँदो रहेछ।’ युवायुवतीमा त झन् बिहे हुन्छ कि हुँदैन भनी तनाव हुने उनले सुनाए। स्कुले बालबालिकालाई उपचार गर्न आउने अभिभावक कोठाभित्र छिरेपछि रुन थाल्ने डा. कर्णले सुनाए।

सेतो दुबी छुँदैमा सर्दैन। गाउँघरतिर सर्छ भन्ने भ्रमले छुन पनि हिचकिचाउँछन्। खोटाङका एक युवाले भने, ‘रोपाईंका बेला कपडा छोडाएर काम गर्नै समस्या हुन्छ।’

विश्वमा झन्डै दुई प्रतिशत व्यक्तिमा सेतो दुबी भएको अनुमान छ। नेपालमा भने यकिन तथ्यांक छैन। दुबी निको हुँदैन भन्ने भ्रमले गर्दा समस्या लुकाउने प्रवृत्ति छ। खाने तथा लगाउने औषधिले पनि सेतो दुबी निको हुने डा. कर्णले बताए। यस्तै, मेसिनमा सेक्ने (फोटोथेरापी)को उपयोगबाट पनि दुबी हटाउन सकिन्छ। यो प्रविधिबाट पनि निको नभए शल्यक्रिया गर्न सकिने छाला रोग विशेषज्ञको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.