पुर्खाको ज्ञान-सीपको अपमान
हाम्रा पुर्खाले परापूर्वकालदेखि चलाउँदै ल्याएका धेरैजसो जीवनशैली र व्यवहार वैज्ञानिक छन् भन्नेमा दुईमत नहोला। पुर्खाले गर्ने प्रत्येक कार्यहरूका पछाडि विज्ञान घुसेको हुन्छ। जीविकोपार्जनका हरेक तप्कामा प्रकृतिसँगको तालमेल मिलेको हुन्छ। हिजोआज जस्तो अध्ययन र अनुसन्धान नभए पनि व्यावहारिक ज्ञानका आधारमा धेरै कुरामा सफलता मिल्थ्यो। अनुशासन कायम गर्न धेरै कुरा धार्मिक संस्कारसँग जोडी कानुनजस्तै बनाइएको थियो। पुर्खाले कृषि सभ्यतालाई स्वाभिमानका साथ जोगाउँदै ल्याएका थिए। कृषि उत्पादन कार्यले उनीहरूको शारीरिक व्यायाम हुनुका साथै जीवन पनि स्वस्थ्य र फूर्तिलो देखिन्थ्यो। पशुपालन कर्मले जैविक मलको प्रयोग मात्र होइन, पौष्टिक आहार अर्गानिक र जैविकीय गुणले भरिपूर्ण हुन्थे।
त्यस्तै दैनिक आवश्यकताका सरसमान आफ्नै सीपले उत्पादन गरी तयार हुन्थे। जस्तै- डोका, डाला, भकारी, सुपो, कोठो, सोली, गुन्द्री, मान्द्रो, चकटी, पिर्का, माछा मार्ने बल्छी, पेरुंगो, गाईभैंसी बाँध्ने दाम्लो, अल्लाको कपडा, स्याउँ, छतरी, घुम, ठेका, ठेकी, गावु, हर्पे, चौठी, मदानि, आरी, हलो, जुवा, नारा आदि स्थानीय कच्चा पदार्थबाट निर्माण हुन्थे। यी सामान वस्तुको प्रयोगले जीवनलाई स्वस्थ बनाउन भरपूर मद्दत मिल्थ्यो। जंगली जडीबुटीबाट औषधि तयार गरी रोगव्याधिकोे उपचार गरिन्थ्यो। जनावरदेखि मानवसम्मका शरीरका हड्डी भाँचिएमा जंगली औषधि लगाएर काप्रा बाँधिदिन्थे। उज्यालोको लागि सल्लाको दियालो प्रयोग हुन्थ्यो। जुनसुकै रोग लागे पनि जडीबुटी खोजेर औषधि बनाई खुवाउँथे र रोग पनि निको हुन्थ्यो। यी ज्ञान हाम्रा पुर्खाहरूले काम गरेकै भरमा सिकेका थिए। आफ्नै खुट्टामा बाँचेका थिए।
आजको पुस्ताले पुर्खाका सीप र ज्ञान पूर्णतः बिर्सेको छ। परम्परागत ज्ञान र सीप आर्जन गर्न लाज लाग्छ। नयाँ पुस्ताका लागि परम्परागत ज्ञान र सीप आर्जन गर्नुलाई अन्धविश्वास ठानिन्छ। पश्चिमा जीवन अँगाल्नु आधुनिकता ठहरिन्छ। त्यसैले आजको पुस्ता आधुनिकता देखिनका लागि खाडीलगायतका विभिन्न मुलुकमा पुगेर अनेक हन्डर खान तयार हुन्छ। वैदेशिक आचरणको सिको गर्छ। आडम्बरी जीवन शैली अपनाउँछ। प्लास्टिकका समानको प्रयोग, कम परि श्रम गर्छ। जंक फुडलगायत तयारी खाना खान्छ। खेती गर्ने, वस्तुभाउ पाल्ने, फलपूmल लगाउने, घरायसी सामान बुन्ने र बनाउने पुराना काम गर्ने भए किन पढनुपर्यो भन्ने रुढ मानसिकता नयाँ पुस्ताले पालेको छ। खेतीयोग्य जमिन प्लटिङ गरी विदेशबाट कमाएर ल्याएको धन महल बनाउनु र ठाँटबाँटका साथ बस्नुलाई आजको पुस्ताले आधुनिकता भन्दै आएको छ।
आज हाम्रो मुलुकले जुन दुरवस्था भोगिरहेको छ, त्यो हाम्रा पुर्खाले दुःखले आर्जन गरेको ज्ञान, सीप र कलाको अपमानको परिणाम हो।
सभ्य, भव्य र स्वतन्त्र समाज स्थापना गर्न र सोचाइ र व्यवहारमा परिवर्तन ल्याउन पश्चिमा जीवन शैलीबाट होइन, पुर्खाको जीवनशैली सबैभन्दा वैज्ञानिक हुन्छ। जुन सादा जीवन उच्च विचार र परि श्रमबाट मात्र सम्भव छ। जनताबाट उठाएका राजस्वले ऐतिहासिक मठमन्दिर, पाटीपौवा, धार्मिक स्थल, चौतारी बनाउने, वरपीपल, समी लगाउने, हस्पिटल, बाटा, पुल पानीका धारा, सामुदायिक भवन, विद्यालय, क्याम्पसहरूको मर्मत, निर्माण र संरक्षण गरिनुपर्छ।
पुर्खाले देखाएको बाटो आत्मसात गरी स्थानीय स्रोत र साधनको प्रयोगमा जोड दिनुपर्छ। युवा जनशक्तिलाई स्वदेशमै खपत गर्न कृषि, पशु र वनजन्य उद्योगहरूको विकास गरी रोजगार सिर्जना गर्नुपर्छ। कृषि, वन क्षेत्र, शिक्षा, स्वास्थ्य, उद्यम विकासका लागि नयाँनयाँ प्रविधिको खाँचो छ। उच्च पदस्थ कर्मचारीको खाँचो कर्मस्थलमा छ, कार्यालयमा होइन। नीति र प्रविधि बनाएर मात्र हुँदैन, व्यवहारमा उतार्न जरुरी छ।
त्यस्तै जन्मदिन, व्रतबन्ध, विवाह, मृत्यु संस्कार, दान, सेवा र सहयोगलाई निरन्तरता दिई अनुशासन, शान्ति र सद्भाव स्थापना गर्नुपर्दछ। तडकभडक देखाउने उद्देश्यले गरिने फजुल खर्च बन्द गरिनुपर्छ। खानेकुरा फाल्नु जघन्य अपराध हो भन्ने मान्यता स्थापित गर्नुपर्छ। महिला सशक्तीकरणमा जोड दिनुपर्छ। श्रमजीवी वर्गको सम्मान गर्न आर्थिक र सामाजिक अधिकार स्थापित गर्नुपर्छ। आज हाम्रो मुलुकले जुन दुरवस्था भोगिरहेको छ, त्यो हाम्रा पुर्खाले दुःख गरेर, भोगेर आर्जन गरेको ज्ञान, सीप र कलाको अपमानको परिणाम हो। तसर्थ पुर्खाको ज्ञानको वैज्ञानिकता खोजी गरी सदुपयोग गर्नेतर्फ लाग्नुपर्छ। तब मात्रै लोकतान्त्रिक र समावेशी समुन्नत समाज निर्माण हुनेछ।