असारे विकासको चटारो

असारे विकासको चटारो

सदूरपश्चिम : कैलालीको लम्की–चुहा नगरपालिकाले उद्यान निर्माण गर्न दुईवटा उपभोक्ता समिति गठन ग¥र्यो। १ करोड ३३ लाख बजेट टुक्राएर योजना वितरण गरियो। सार्वजनिक खरिद ऐनमा एक करोड भन्दा बढि बजेटका योजना, उपभोक्ता समितिबाट निर्माण गर्न नपाईने प्रावधान छ। तर असारे बजेट सक्न टुक्रयाएर उपभोक्ता समिति बनाएर काम सुरु गरिएको छ। उपभोक्ता समितिको अध्यक्ष रहेका भीम जैसीले बजेट टुक्रयाएर दुवै समितिले काम थालेको बताए। स्थानीयले नमुना भनिएको पार्कको वाउन्ड्री वाल गुणस्तरहीन भएको भन्दै विरोध समेत गरे।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्षको अन्तिममा वडा नम्बर २ मा ग्राभेल गरेको छ। असारको १ देखि खोलानालाबाट ग्राभेल संकलन बन्द हुन्छ। तर बन्द भएको समयमै सब्जीमण्डी देखि मोहना नदी सम्मको सडकमा ग्राभेल हालिएको छ। स्थानीयले असारमा गरेको ग्राभेल दिगो नहुने बन्दै विरोध जनाएका छन्। ‘५ वर्ष देखि सडक स्तरोन्नतिको माग गर्दैं आएका हाैं, तर आर्थिक वर्षको अन्तिममा ग्राभेल गरिएको छ’, स्थानीय शान्ति ओझाले भनिन्,‘ यो सबै बजेट सक्ने मेसो मात्रै हो।’ ७ लाख रकम उक्त ग्राभेलमा खर्चिएको छ। ‘यो विकास होइन, जनताको करबाट संकलन भएको रकम पानीमा बगाउने काम भइरहेको छ’ स्थानीय तपराज ओझोले भने। वडा अध्यक्ष नरबहादुर वम स्थानीयको माग अनुसार नै ग्राभेल गरिएको दावी गर्छन्। उनले क्षेत्रीय शहरी विकास आयोजनाको टेन्डरमा उक्त सडक नपरेकाले ग्राभेल गरिएको बताए।

बसपार्क देखि उत्तरतर्फ सडकको नाली निर्माणमा पानी नमिसाएको मसला प्रयोग भएको छ। खप्तड कन्सट्रक्सनले सुख्खा मसलामा माथिबाट पानी छर्केको भेटिएको हो। ५२ लाखमा नाली निर्माण गरिने छ। निर्माण ब्यवसायी टेकबहादुर खडकाले लेबल मिलाउन इँटा माथि ग्राभेल हालेर पानी हालिएको बताए।

आर्थिक वर्ष सकिन लाग्दा बैतडीमा सडक खन्दै डोजर। तस्बिर : भगिरथ अवस्थी

टीकापुरमा निर्माण भइरहेको ६ लेन सडकमा बलौटे माटो पटानी गरिएको छ। जमरापुलदेखि बसपार्कसम्म २० करोड रुपैयाँको लागतमा निर्माण भइरहेको ६ लेन सडकमा असारको पहिलो साता निर्माण कम्पनीले बलौटे माटो प्रयोग गरेको हो। रमण केएस जेभी निर्माण कम्पनीले २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव ३ किलोमिटर सडकको काम थालेको हो। निर्माण कम्पनीले सडकमा माटो पटानीको काम सुरु गरे लगत्तै वर्षा लागेको छ।

असारमा बलौटे माटो प्रयोग गर्दा बगेर जाने र ६ लेन सडकको जग नै कमजोर बन्ने स्थानीयले बताएका छन्। रोलरसमेत प्रयोग नगरेर निर्माण कम्पनीले आलटाल गर्न खोजेको स्थानीय व्यापारी रुपकबहादुर विष्टले बताए। ‘वर्षा लागेपछि हुन लागेको सडकको अवस्था कस्तो होला ? ’, उनले भने,‘ सडक गुणस्तर बन्नेमा शंका लागेको छ।’ संघीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इन्जिनियर त्रिलोक जोशीले सडकमा प्रयोग भएको माटोको ल्याब परीक्षण गर्न पठाइएको बताए। ‘बलौटे माटोको प्रयोगले गुणस्तरीय बन्दैन भन्ने त हुँदैन’, उनले भने, ‘परीक्षण प्रतिवेदन आएपछि थाहा हुन्छ।’       

बैतडीमा प्रदेश सरकारको विकास निर्माणको बजेट सक्न भ्याई नभ्याई छ। स्थानीय तहको बजेट कार्यान्वयनको अवस्था नाजुक रहेका बेला प्रदेशबाट प्राप्त योजनामा पनि बजेट सक्ने होडबाजी चलेको हो। आर्थिक वर्ष सकिनै लाग्दा ५० प्रतिशत बजेट पनि खर्च गर्न नसकेका कार्यालयले ८० प्रतिशत बजेट कार्यान्वयन हुने बताई रहेका छन्। बैतडी, बझाङ र दार्चुला हेर्ने गरी बैतडीमा स्थापना भएको पूर्वाधार विकास कार्यालयले अहिलेसम्म ९७ करोड ९८ लाख मध्ये २८ करोड २९ लाख मात्रै खर्च गरेको छ। यो कुल बजेटको २८.८७ प्रतिशत हो। तर पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशी भने अबको २० दिनमा ३२ प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुने बताउँछन। आर्थिक वर्षको सुरु मै अख्तियारी आएको बजेट खर्चको अवस्था निकै निराशाजनक रहेकाले असारे विकासको प्रवृतिमा कुनै कमी नआएको स्थानीय तेजराम लोहारले बताए।

-धनगढीबाट शिबराज भट्ट र कैलाश जोशी, बैतडीबाट भगिरथ अवस्थी, टीकापुरबाट परमानन्द पाण्डे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.