उत्कर्षमा गलबन्दी विवाद

उत्कर्षमा गलबन्दी विवाद

काठमाडौं : प्रकाश सपूत र शान्ति श्री परियारले गाएको ‘गलबन्दी’ बोलको गीत आफ्नो देउसीभैलो गीत ‘आऊ नाचौं साथी हो’ सँग मिल्न गएको भन्दै गायक शम्भु राईले दाबी गर्दै क्षतिपूर्ति मागेपछि उनीहरूबीचको विवाद उत्कर्षमा पुगेको छ। यो विवाद अहिले कम्पनी रजिस्ट्रारदेखि सडक हुँदै सदनसम्म पुगेको छ। अझ सामाजिक सञ्जालमा जातीय कुरा उठाइएपछि यो विवादले अर्को मोड लिएको छ।

प्रकाशको ‘गलबन्दी’ गीतले अहिलेसम्म एक करोड ६३ लाख ७४ हजारभन्दा बढी भ्यु पाएको छ। गत बिहीबार शम्भुले प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित निवेदन दर्ता गरेका थिए। उनले दर्ता गरेको निवेदनमा भाका र लय चोरी भएको विषयमा आफूले प्रकाशसँग बारम्बार छलफल र सहमति गर्न प्रयास गरेका उल्लेख गरेका छन्। उनले दोस्रो पक्ष छलफलका लागि तयार नभएको भन्दै उचित क्षतिपूर्तिको मागसहित मुद्दा दर्ता गरेको जानकारी दिए।

यो विषयमा सामाजिक सञ्जालमा अहिले अनेक खालका टीकाटिप्पणी भइरहेका छन्। जातीय कुरा उठाएर पनि कमेन्ट आएका छन्। सामाजिक सञ्जालमा गरिएको जातीय स्टाटसका बारेमा सोमबार र मंगलबार संसद्मा समेत कुरा उठ्यो। सोमबार कांग्रेस सांसद मीन विश्वकर्माले सपूतको गीत कसैको लयसँग मेल नखाएको दाबी गर्दै गाउँघर, मेलापातमा गाइने लोकभाका कसैको निजी नहुने तर्क राखे।

यस्तै, मंगलबार नेकपाका सांसद विमला विकले शम्भु राईलाई समर्थन गर्नेहरूले प्रकाश सपूतलाई जातीय आधारमा विभेद गरी अमानवीय शब्द बोलेकोमा गल्ती गर्नेलाई कारबाहीको माग गरिन्। यसका साथै कसैलाई पनि जातीय रूपमा अपमान गर्ने छुट नभएको भन्दै एउटा सर्जकलाई गीत गाएकै आधारमा अपमान भइरहेको र सरकार चुप लागेर बसेको आरोप लगाइन्।

जातीय विवाद र सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले आएका अभिव्यक्तिहरूप्रति राई स्वयम्ले आपत्ति जनाएका छन्। मंगलबार लामो फेसबुक स्टाटस लेख्दै उनले गलबन्दी र आऊ नाचौं साथी हो बोलको गीतको लय र भाका मिलेको विषय विशुद्ध प्रतिलिपि अधिकारसँग सम्बन्धित भएको जनाएका छन्। आफूले कानुनी प्रक्रियामार्फत विवाद मिलाउन चाहेकाले यस विषयमा जातीय विभेद देखिने कुरा नगर्न सबैसँग आग्रह गरेका छन्।

उनले अनावश्यक टिप्पणी नगरिदिनसमेत अपिल गरे। यसका साथेै उनले प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयले आफूहरूलाई कुनै पनि कुरा सार्वजनिक रूपमा नबोल्न आग्रह गरेको र आफूहरूबीचको विवाद बुधबारसम्म मिलाउने कोसिस भइरहेको जानकारी दिए।

यसैबीच दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समितिकी संयोजक सरु सुनारले सोमबार महानगरीय प्रहरी परिसर टेकुमा मुद्दा दायर गरेकी छन्। उनले गलबन्दी गीतको विषय र गायक प्रकाश सपूतसँगै सिंगो दलित समुदायलाई नै जातीय विभेदजन्य फेसबुक स्टाटस लेख्नेका विरुद्ध साइबर क्राइम र जातीय भेदभाव तथा छुवाछूत कसुर एजाय ऐनअनुसार मुद्दा दर्ता गरेकी हुन्।

भोजपुरका सुवास मंगोलले जातीय विभेद बढाउने खालका विभिन्न स्टाटस लेख्दै आएका छन्। यसै विषयमा गलबन्दीका गायक प्रकाशले मंगलबार आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘समयसमयमा यसरी अपत्यारिलो रूपमा समाजमा उठेका विषयमाथि बहस हुन जरुरी छ। यसले परिवर्तनका निम्ति ठूलो भूमिका खेल्छ। नेपालमा गीतसंगीतको औपचारिक रेकर्ड र व्यवसाय सुरु भएको यतिका वर्षसम्म पनि कपीराइटसम्बन्धी स्पस्ट कानुन नहुनु दुःखद् कुरा हो। त्यसैले कपीराइटसम्बन्धी बृहत् बहस हुनु जरुरी छ। नयाँ र स्पष्ट कानुन बन्नु जरुरी छ। लोकगीतको विषयमा त झन् गम्भीर हुनु जरुरी छ। किनकि यो बौद्धिक सम्पत्ति मात्रै नभएर राष्ट्रको पहिचानसँग जोडिएको विषय पनि हो।’

प्रकाशले जातीयतालाई बहसको विषय बनाएको प्रति भने असन्तुष्टि पोखेका छन्। भन्छन्, ‘जातीय विभेदसम्बन्धी अझै ठूलो बहस हुनु जरुरी छ। यो समयमा पनि जातीय विषयमा बहस गर्नुपर्ने लडाइँ गर्नुपर्ने बाध्यता आधुनिक विश्व समाजमा नेपालका लागि लाजमर्दो र दुर्भाग्यपूर्ण कुरा हो। यो हाम्रो नियति हो। हाम्रो चेतनास्तर र अन्धविश्वासको उपज हो। कतै पँधेरामा तर्काएर, कतै सामाजिक सञ्जालमा होच्याएर गरिने विभेदका नयाँनयाँ ठाउँ, शैली र सोचका विरुद्धमा बोल्नु जरुरी छ। सोहीअनुसारको कानुन बन्नु र कार्यान्वयन हुन पनि जरुरी छ।

गलबन्दीको विवाद चुलिँदै जाँदा उनले यसअघि नै शम्भु राईलाई सम्बोधन गर्दै लामो चिठी लेखेका थिए। जसमा उनले लेखेका छन्, ‘यहाँनेर धेरै लोकभाका मिल्छन्। उस्तैउस्तै हुन्छन्। यो हाम्रो नेपालको सम्पत्ति हो। पब्लिक डोमेन हो। यस्ता उस्ता भनेर तपाईंलाई तर्कले जित्न खोजे जस्तो होला। यद्यपि अन्य संगीत अलिकति गणितीय सूत्रमा बाँध्न सकिन्छ। लोकभाका अलि बढी स्वतन्त्र हुन्छन्।

उसै पनि जति गीत चलेका छन् ती सबै शब्द र संगीतले मात्रै होइन भिडियोमा अनेक तिकडम गरेको छु सर। यो प्रविधिले र जमानाले बनाएको हो। तपाईंहरूकै बाटोमा हिँड्दै गर्दा तपाईंहरू जस्तै जस्तै देखिनु स्वाभाविक हैन र सर ? अहिले समय अलि बदलिएको छ सर।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.