इरानमाथि थप प्रतिबन्ध

इरानमाथि थप प्रतिबन्ध

वासिङटन : अमेरिकाले सोमवार इरानमाथि थप प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार यस्तो विधेकमा हस्ताक्षर गरेका छन् ।अमेरिकी कदमबाट इरानका सर्वोच्च नेता लगायतका उच्च अधिकारीलाई अप्ठेरो पर्ने ट्रम्पले बताएका छन् । उनीहरूले अमेरिका र अमेरिकी मित्र कुनै पनि राज्यबाट बैकिङ कारोवार गर्न नपाउने भएका छन् । गत बिहीवार खाडी क्षेत्रमा अमेरिकी ड्रोनलाई इरानले खसालेपछि तनाव बढ्दै गएको छ ।

यसको बदला लिन अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको हो । राष्ट्रपति ट्रम्पले शुक्रवार इरानमाथि सैन्य आक्रमणको आदेश दिएको थियो । अन्तिम क्षणमा भने उक्त आदेश फिर्ता लिइएको थियो । यद्यपि ट्रम्पले इरानसँग आफूले युद्ध नचाहेको बताउँदै आएका छन् । इरानलाई परमाणु हतियारबाट टाढै राख्ने ट्रम्पले दाबी गरेका छन् । उनले अमेरिकी अर्थमन्त्री स्टीवन म्नूचिनको उपस्थितिमा उक्त विधेयकमा हस्ताक्षर गरेका हुन् । अमेरिका वार्ताकै पक्षमा भएको पाि उनले दोहा¥याएका छन् ।

झूट बोल्दै अमेरिका : रुहानी

अमेरिकाले आफूसँग वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झूट भएको इरानी राष्ट्रपति हसन रुहानीले बताएका छन् । इरान र इरानी कूटनीतिज्ञविरुद्ध घोषणा गरेको नयाँ प्रतिबन्धबाट उक्त पुष्टि भएको उनले स्पष्ट पारेका छन् ।

राष्ट्रपति रुहानीले टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत भने, ‘वार्ताका लागि आह्वान गरेको दाबी गरिरहँदा अमेरिकाले इरानमाथि र यहाँका विदेशमन्त्रीमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । यो प्रष्ट छ कि वार्ता प्रस्ताव गरिएको भनेर अमेरिका झूटो बोलिरहेको छ ।’

अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानसँग वार्ताका लागि ढोका खुला राखेको भन्ने भनाइलाई लक्षित गर्दै रुहानीको यो प्रतिक्रिया आएको हो । बोल्टनले अमेरिकी आग्रहलाई इरानले नसुनेको दाबी पनि गरेका थिए ।

रुहानीले प्रश्न गरे, ‘इरानी सर्वोच्च नेता आयोतोल्ला खोमेनीलाई कालो सूचीमा राख्ने, इरानमाथि प्रतिबन्ध लगाउने अनि कसरी वार्ताका लागि ढोका खुला हुन्छ ? यो सबै छर्लंग छ ।’ इरानले खोमेनी लगायत आठजना सैन्य अधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

उनले इरानी नेताहरूसँग अन्य देशका नेतासँगजस्तो विदेशमा अर्बौंको सम्पत्ति नभएको पनि बताए । इरानी नेताको सम्पत्ति रोक्ने, जफत गर्ने वा प्रतिबन्ध लगाउने जे गरे पनि इरानलाई कुनै फरक नपर्ने उनले स्पष्ट दाबी गरे । रुहानीले भने, ‘विदेशमन्त्रीविरुद्धको प्रतिबन्ध केका लागि हो ? उहाँलाई अमेरिका भ्रमणमा रोक लगाउन होइन ? यो राम्रो हाम्रा लागि राम्रो कुरा हो ।’

अमेरिकाले सोमवारदेखि लागू हुनेगरी इरानमाथि थप प्रतिबन्ध लगाएको छ । उसले इरानमाथि हतियार निर्माण र भण्डारण गर्न नदिन प्रतिबन्ध लगाइनुपर्ने र दबाव सिर्जना गर्नुपर्ने बताउँदै आएको छ ।

वार्तामा जोड

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सोमवार अमेरिका र इरान दुवैलाई तनाव अन्त्य गर्न आह्वान गरेको छ । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध घोषणा गरेपछि इरानले वार्ता नगर्ने घोषणा गरेको छ । दुई घण्टासम्म चलेको सुरक्षा परिषद्को बैठकमा इरानलाई अलग थलग नपार्न र तत्काल सैन्य कारबाही नगर्न आग्रह गरिएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि माजिद तख्त रवान्चीले भने, ‘जसले धम्काइरहेको छ, ऊसँग वार्ता गर्ने कुरै हुँदैन । यस्तो अवस्था वार्ताका लागि उचित होइन ।’ इरानको सहयोगी रूसले आपसी वार्ताबाट समस्या सुल्झाउन आग्रह गरेको थियो । बेलायत, फ्रान्स र जर्मनीले पनि वार्तामा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.