यसरी टुंगियो ‘गलबन्दी’ गीतको विवाद

यसरी टुंगियो ‘गलबन्दी’ गीतको विवाद

काठमाडौं : गायक प्रकाश सपूतको ‘गलबन्दी’ गीतको लय गायक तथा संगीतकार शम्भु राईको ‘देउसीभैलो’ बाट चोरिएको भन्दै उत्पन्न भएको विवाद टुंगिएको छ। सपूतको ‘गलबन्दी’ गीतको लय र संगीत राईको ‘देउसीभैलो’ गीतसँग मेल खान गएको ठहर गर्दै नेपाली संगीत क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिको रोहबरमा बुधबार चारबुँदे सहमतिमा विवाद टुंग्याइएको हो।

संगीत रोयल्टी संकलक समाज, प्रस्तोता समाज नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, राष्ट्रिय संगीतकर्मी संघलगायत संस्थाका प्रतिनिधिको रोहबरमा अबदेखि विवाद नगर्ने सहमतिपत्रमा प्रकाश सपूत र शम्भु राईले हस्ताक्षर गरेका हुन्।

सहमतिका बुँदा

१. शम्भु राईबाट विगतमा प्रकाशित ‘आऊ नाचौं साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताउँ हासेर’ भन्ने देउसीभैलो गीतको लयसँग प्रकाश सपूतको ‘गलबन्दी÷पछ्यौरी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्ने अंशमा लय मिल्न गएको छ। ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपूत हुने गरी युट्युब तथा अन्य प्रकाशनमा प्राविधिक रूपमा सम्भव भएसम्म सच्चाउने।

२. गलबन्दी गीतको युट्युबलगायत अन्य डिजिटल माध्यमबाट प्राप्त आर्थिक, प्रतिलिपि अधिकार तथा स्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टी सपूतकै अधिकार रहने।

३. शम्भु राईले गलबन्दी बोलको गीतलाई मिति २०७६ असार ६ गते नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय तथा अन्य संघसंस्थामा दिएका निवेदन यसै सहमतिका आधारमा फिर्ता लिने।

४. विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आउने विषयवस्तु र समाचार यसै सहमतिको विषय समावेश गरी खण्डन गर्ने सहमति।

के हो विवाद ?


प्रकाश र शान्ति श्री परियारले गाएको ‘गलबन्दी’ बोलको गीत आफ्नो देउसीभैलो गीत ‘आऊ नाचौं साथी हो’ सँग मिल्न गएको भन्दै गायक शम्भु राईले क्षतिपूर्तिको माग गर्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवेदन हालेपछि गलबन्दी विवाद उत्कर्षमा पुगेको थियो।

गलबन्दी गीतले युट्युबमा करोड भ्यु पाइसकेपछि राईले उक्त गीतको लय संगीत आफ्नो भएको दाबी गरेका थिए। उनले दोस्रो पक्ष छलफल र सहमतिका लागि तयार नभएको भन्दै मंगलबारसम्म पनि उचित क्षतिपूर्तिको मागसहित मुद्दा दर्ता गरेकोमा अब ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा सपूतका साथै आफ्नो नाम पनि उल्लेख रहनेसम्मको सहमतिमा पुगेका छन्।

सहमतिपछि ‘फिलिङ पोजेटी’ भन्दै सपूतले आफ्नो फेसबुक स्टाटसमा राईसँगको फोटोसहित लेखेका छन्, ‘समय समयमा यसरी अपत्यारिलो रूपमा समाजमा उठेका विषयमाथि बहस हुन जरुरी छ। यसले परिवर्तनका निम्ति ठूलो भूमिका खेल्छ।’

सहमतिपछि अन्नपूर्ण पोस्टसँग कुरा गर्दै सपूतले दुवैपक्षबीच तत्कालीन समस्या सुल्झाउन सहमतिको बाटो रोजेको बताए। उनले भने, ‘विषय नियन्त्रणभन्दा बाहिर गएकाले हामी दुईबीचको आपसी सहमतिमा यो विवाद टुंग्याएका हौं।’

विषय नियन्त्रणभन्दा बाहिर गएकोमा शम्भु राईले पनि मंगलबार राति फेसबुकमा लामो स्टाटस लेखेका थिए।

सपूत तत्कालीन समस्याको समाधान भए पनि दीर्घकालीन समस्या सुल्झाउँदै लग्नुपर्ने बताउँछन्। विवाद चुलिँदै गएपछि सामाजिक सञ्जालदेखि सदनसम्म उठेको प्रसंग र कपीराइटका विषयमा अब सबै मिलेर छलफल र बहस पैरवी गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

गलबन्दी गीतको विवाद उत्कर्षमा पुग्दा सामाजिक सञ्जालमा जातीय विषय पनि उठेको थियो। मंगलबार नेकपाका सांसद विमला विकले शम्भु राईलाई समर्थन गर्नेहरूले प्रकाश सपूतलाई जातीय आधारमा विभेद गरी अमानवीय शब्द बोलेकोमा गल्ती गर्नेलाई कारबाहीको माग गरेकी थिइन्।

जातीय विवाद र सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले आएका अभिव्यक्तिहरूप्रति राई स्वयम्ले समेत आपत्ति जनाएका थिए। फेसबुक स्टाटसमा उनले भनेका छन्, ‘गलबन्दी’ र मेरो गीत ‘आऊ नाचौं साथी हो’ को प्रतिलिपि सम्बन्धी कुरालाई लिएर हामी दुवै कलाकारलाई अनेक गाली बेइज्जती पूर्ण पोस्ट कमेन्ट भइरहेको प्रति हाम्रो गहिरो ध्यानाकर्षण भएको र यस्तो अवाच्छित कार्य नगरिदिनु हुन हार्दिक अनुरोध।’

दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समितिकी संयोजक सरु सुनारले सोमबार महानगरीय प्रहरी परिसर टेकुमा मुद्दा दायर गरेकी थिइन्। उनले गलबन्दी गीतको विषय र गायक प्रकाश सपूतसँगै सिंगो दलित समुदायलाई नै जातीय विभेदजन्य फेसबुक स्टाटस लेख्नेका विरुद्ध साइबर क्राइम र जातीय भेदभाव तथा छुवाछूत कसुर एजाय ऐनअनुसार मुद्दा दर्ता गरेकी थिइन्। भोजपुरका सुवास मंगोलले जातीय विभेद बढाउने खालका विभिन्न स्टाटस लेखेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.