लालटिनको उज्यालोमा कखरा सिक्दै

लालटिनको उज्यालोमा कखरा सिक्दै

काठमाडौं : लालटिनको मधुरो उज्यालोमा एक युवती क, ख, ग, घ लेखिएको ठूलो वर्णमाला पढिरहेकी छन्। ग्रामीण भेगको भान्साकोठाको परिवेश छ। दाउराको अँगेनोमा कसौडी, कराईलगायतका भाँडाकुँडा बसालिएको छ। रातो चोली र कालो लुंगी लगाएकी युवती भुइँमा हात टेकेर अक्षर हेरिरहेकी छन्। युवतीको चोली कुममा उध्रिएको छ।

मोटिभेसन थिममा बनाइएको यो चित्र निकै सुन्दर छ। चित्र विजय कोइरालाले बनाएका हुन्। आधुनिक युवा प्रविधिमैत्री बन्दै गएको परिवेशमा ग्रामीण इलाकामा लालटिन बालेर कखरा सिक्ने कुरा सुन्दा जो कोहीलाई अविश्वास लाग्ला। तर अझै पनि नेपालका धेरै गाउँठाउँमा बिजुली पुग्न सकेको छैन। चित्रकी युवतीजस्तै अनेक बालबालिका आज पनि टुकीको उज्यालोमा पढ्न बाध्य छन्। चित्रले लालटिनमा पढ्ने युवतीको कथा मात्रै उतारेको छैन। यसले त आधुनिक युवालाई व्यंग्यसमेत गरेको छ। हरेक कामका लागि मोबाइल र कम्प्युटरको भरपर्ने युवालाई यसरी पनि पढ्न सकिन्छ भन्ने उदाहरण हो यो। पढ्ने चाहनालाई कामले रोक्न सक्दैन। युवती अँगेनामा दाउरा बाल्दै खाना पनि पकाउँदै छिन्।

नेपाल आर्ट काउन्सिलमा अल्फ्रेस्को मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा नेपाल आर्ट काउन्सिल बबरमहलमा ओपन आर्ट कम्पिटिसन चलिरहेको छ। जहाँ विभिन्न कलेज तथा स्कुलमा पढ्ने चित्रका सौखिन विद्यार्थीका चित्र समावेश छन्। सिनियर कलाकारदेखि सिकारु बच्चासमेतका चित्र एकै ठाउँमा समेटिएको यो प्रदर्शनीमा हजारभन्दा बढी चित्र संकलन भएका छन्।

असार २ गतेदेखि सुरु भएको प्रदर्शनी यही १४ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका श्यामकृष्ण श्रेष्ठले जानकारी दिए। सन् २००८ देखि सुरु भएको अल्फ्रेस्को मिडियाले कलाकारिताको क्षेत्रमा काम गर्दै आएको छ। प्रदर्शित चित्र ६ देखि ९ महिना लगाएर संकलन गरिएका हुन्। स्कुल पढ्ने र राम्रो आर्ट बनाउने भाइबहिनीले प्रदर्शनीमा ठाउँ पाइरहेका हँुदैनन्। उनीहरूको सिर्जनालाई प्लेटफर्म दिन पनि यो प्रदर्शनी तथा कम्पिटिसन गरिएको श्रेष्ठले बताए। प्रदर्शनीमा कक्षा एकदेखि कलेज लेभलमा अध्ययनरत विद्यार्थीको छुट्टाछुट्टै मूल्यांकन गरिएको थियो। विजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

नेपाली कलाका विभिन्न शैली, विषय र माध्यम समेटिएको यो आर्ट प्रदर्शनीमा थांका चित्र, पौवा चित्र, बुद्धका अनेक आयाम समेटिएको छ। धेरैजसो चित्रमा सिकारु चित्रकारले दैनिक जीवनका अनेक दृश्यलाई विषय बनाएका छन्। कुनैमा गाउँघरको हरियाली वातावरण, स्कुल र रमाइरहेका विद्यार्थी छन् त कुनैमा पोखरीमा तैरिरहेको सुन्दर हाँसको चित्र छ। बिहान घाम उदाउँदाको सुनौलो दृश्य, पखेटा फिजाएर नाचेको मयुर, आमा बच्चाको ममता झल्काउने पोट्रेट, सूर्यास्तका मनोरम दृश्य चित्रमा अटाएका छन्। गौतम बुद्ध धेरैजसो चित्रकारको रोजाइमा परेका छन्।

मोडर्न इन्डियन स्कुलमा ८ कक्षामा पढ्ने खुसी सराफले सेभ इन्भारोमेन्ट टाइटलमा गजबको चित्र बनाएकी छन्। चित्रमा सानी बालिकाले ठूलो बास्केट टाउकोमा बोकेकी छन्। उनी रूख काटिएको नांगो जग्गामा हिँडिरहेकी देखिन्छिन्। बास्केटमा हरियो जंगल, कलात्मक मन्दिर, नेपाली झन्डा समेटिएको छ। रमेश क्षितिजले खोलाको कलकल पानीको छेउमा घाँस काट्न गएकी बालिकालाई चित्रमा उतारेका छन्। उनको छेउमा सानो कुकुरको बच्चा पनि सँगै छ। चित्रकी बालिका खोलाको किनारमा रमाइरहेकी देखिन्छिन्।

यस्ता अनेक विषयमा चित्र कोरिएको छ। एउटै प्रदर्शनीमा बाजे, छोरा र नाति पुस्ताका सिर्जना समावेश छन्। अग्रजका चित्रमा धार्मिक आस्था बढी देखिन्छ भने सिकारु चित्रकारले प्राकृतिक सुन्दरतालाई दृश्यमा उतारेका छन्। आर्ट काउन्सिलको भित्ता चित्रको सजावटले सुन्दर देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.