सिकारुले जिद्दी गरेर ट्याक्टर चलाउँदा तीनको मृत्यु
अछाम : अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ३ सोकट गाउँकी लक्ष्मी साउद बुधबार बहान आफ्नै ट्याक्टरमा स्कुलसम्म जान पाइने भयो भनेर दंग थिइन्। उनको घरमा आफ्नै ट्याक्टर छ।
हरेक दिन बिहान ट्याक्टर नरिदाङ भन्ने स्थानमा ढुंगा गिट्टी बालुवा बोक्न जाने गर्छ। उनले आफ्ना साथीहरूलाई पनि सोही ट्याक्टरमा जाने भनेपछि सोकटका धेरै विद्यार्थी विहानै ट्याक्टरमा बसे।
घरबाट जाने बेला चालक ज्ञानेन्द्र चौधरीले ट्याक्टर चलाए। केही अगाडि पुगेपछि ट्याक्टर सिक्न गएका लक्ष्मीका दाइ रमेश साउद ट्याक्टरको स्टेरिङमा बसेको एकै छिनमा दुर्घटना भयो। रमेशले चलाएको ट्याक्टर अनियन्त्रित भयो र सडकको भित्तामा बजारिदै पल्टियो। लक्ष्मी, उनका दाइ रमेश र छिमेकी काली साउदको घटनास्थलमै ज्यान गयो।
रमेश साउद एसईई नतिजाको पखाईमा थिए। नतिजा आउने अघिल्लो दिन उनको ज्यान गयो। ओभरसियर पढ्न धनगढीमा 'ब्रिज कोर्स' सकेर घर फर्किएको पाँच दिन मात्र भएको थियो। आफ्नै जिद्दीका कारण उनको ओभरसियर पढ्ने सपना अधुरै रह्यो।
दुर्घटनामा लक्ष्मीका भाइ उत्तम साउदसहित चार विद्यार्थी घाइते भएका छन्। घाइते चारै जनालाई अछामकै बयलपाटा अस्पताल भर्ना गरिएको छ।
मृतक लक्ष्मी सोकटकै दशपल्ले माविमा कक्षा ९ र अर्की मृतक काली साउद कक्षा ८ मा अध्ययनरत थिए। ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीसँग जिद्दी गरेर रमेशले ट्याक्टर चलाएको विद्यार्थीहरूले बताएका छन्।
‘कहिलेकाहिँ सिक्नका लागि ट्याक्टर चलाउँथ्यो, ओरालो बाटोमा ट्याक्टर नियन्त्रण गर्न नसकेपछि यत्रो घटना भयो’, स्थानीय नरु साउदले भनिन्। रमेशका परिवारले ट्याक्टर बेला बेलामा बिग्रन थालेपछि मंगलबार मात्रै कुखुराको बली दिएर पूजाआजा गरेका थिए।
‘रमेशको घरमा मोटरसाइकल र ट्याक्टर छ। चलाउन सिक्छु भनेर पटक-पटक आमासँग जिद्दी गरिरहन्थ्यो। घरबाट कसैले चलाउने अनुमति नदिएकाले ऊ चालक चौधरीसँगै ढुवानी गर्ने ठाउँमा जाने गर्थ्यो', नरुले सुनाइन्।
बुधबार पनि ट्याक्टर चलाउने भन्दै रमेश, बहिनी लक्ष्मी र भाइ उत्तम बिहान ५ बजे सँगै घरबाट निस्किएका थिए। विद्यालय जान हिँडेका विद्यार्थी पनि छिटो पुग्ने आशले ट्याक्टरमा चढे। तर विद्यालय पुग्न नपाउदै बिच बाटोमै दुर्घटना भएर तीन जनाको ज्यान गयो।
‘चौधरी (चालक) ले त चलाउन नदिने भन्दै थिए तर उसले आफै जिद्दी गरेर चलायो', घाइते माने भुलले भने, 'स्कुल पुग्ने बेलाको ओरालोमा पल्टियो।’
‘गाडी न्युट्रलमा छ एक नम्बर गियरमा हाल् भनेर चौधरीले भन्दाभन्दै पल्टियो’, ट्याक्टर मुनी च्यापिएर बाँचेका मानेले भने।
सोकट गाउँबाट विद्यालय पुग्न झण्डै एक घण्टा लाग्छ। विद्यार्थी बाटोमा भेटिने ट्याक्टर, बस, ट्रक सहितका सवारी साधन रोकाएर जाने गर्छन्।
‘हिजो त झन् घर नजिकैबाट ट्याक्टर जान लागेकोले सबै बाटोभरीका बस्यौं’, अर्की घाइते शारदा साउदले भनिन्, ‘काली र म सधै तल्लो बाटो भएर स्कुल जान्थ्यौँ तर आज साथी गुमाउनु रहेछ, माथिल्लोबाट जाने भनेर आयौं।’
उनले पनि रमेशले जिद्दी गरेर ट्याक्टर चलाएको बताइन्। ‘ओरालोमा उसले गाडी कन्ट्रोल गर्न सकेन र भित्तामा ठोकिएर पल्टियो’, शारदाले भनिन्, ‘गाडीको तल च्यापिएकी लक्ष्मी निकाल भनेर कराउँदै थिई तर बचाउन सकिएन।’
से १ त ७८३९ नम्बरको ट्याक्टर बुधबार बिहान ६ बजेर ४५ मिनेटमा चौरपाटी गाउँपालिका २ सोकटको मुल्ली सात्रोफाल्ने खोलामा दुर्घटना भएको हो। दुर्घटनामा घाइते दशपल्ले माविमा कक्षा १ मा अध्ययनरत सरस्वती साउद, कक्षा ८ मा पढने माने भुल, कक्षा ९ मा अध्ययनरत शारदा साउद र मृतकका भाइ उत्तम साउदको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।
एकै विद्यालयका तीन जना बालबालिकाले ज्यान गुमाएपछि बुधबार विद्यालय बन्द भयो। बुधबार नै मृतकको शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।