तस्करी हुन लागेको जडिबुटीसहित ठेकेदार नियन्त्रणमा
बाजुरा : बुढिन्नदा नगरपालिकाबाट तस्करी हुन लागेको जडिबुटीसहित ठेकेदार र भरियालाई प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। अनुमति बिना बुढिन्नदा नगरपालिका ४ बाट संकलन गरी भरियामार्फत ढुवानी गरेर गोदाममा जम्मा गरिरहेका बेला बुढिन्नदा नगरपालिकाको बिरसैनमा प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले फेला पारेको हो।
प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले १२ बोरा सेतक चीनी, १ बोरा सुगन्धवाल र १ बोरा कटुकी गरी ४ सय ६३ केजी नियन्त्रणमा लिएको सिप पादुका सब डिभिजन वन कार्यलयका वन रक्षक जयलाल बिकले बताए। टोलीले ठेकेदार र भरियालाई पनि पक्राउ गरेको छ। ठेकेदार नेपालगञ्ज उपमहानगरपालिका २ बस्ने ४५ वर्षीय गगन राना र ४२ वर्षीय नारद गिरी रहेको इलाका प्रहरी कार्यालय कोल्टि बाजुराका सई शेरबहादुर कुबरले जानकारी दिए।
त्यस्तै बुढिन्नदा नगरपालिका ४ का जडिबुटी बोक्ने १२ जना भरियालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जडिबुटी सहितठेकेदार र भरियालाई जिल्ला प्रहरी कार्यलय बाजुरामा झिकाइएको बाजुरा प्रहरी प्रमुख उद्धबसिंह भाटले जानकारी दिए।
डिभिजन वन कार्यालय बाजुराका डिभिजन वन अधिकृत भिमप्रसाद कडेलले भने गैह्रकानुनी रुपमा जडिबुटी निकासी गर्नेलाई कारबाहीका लागि अदालतमा मुद्धा चलाइने जानकारी दिए। सेतक चिनी संकलन र निकासी बन्द गरिएको कडेलले बताए। ठेकेदार नारद गिरीले छुटपुर्जिको कागज देखाएको भएपनि उक्त्त कागज गएको वर्ष अवैध रुपमा संकलन भई अदालतबाट लिलाम बिक्रीका लागि निकालिएको जडिबुटीको छुट दिइएको कागज रहेको बुझिएको छ। उक्त जडिबुटी अहिले पनि बुढिन्नदा नपाको वडा कार्यलयमा नै शिलबन्दी रहेको वडा अध्यक्ष राजन रोकायाले बताएका छन्।
ठेकेदारले कागज अर्को जडिबुटीको देखाएर अरु गैर कानुनी रुपमा संकलन भएको जडिबुटी जिल्लाबाट तस्करी गरेको खबर पाएपछि नियन्त्रणमा लिएको पादुका सब डिभिजन वन कार्यलयले जनाएको छ। यो सरासर तस्करी रहेको एक कर्मचारीले बताए। सेतक चिनी जडिबुटी नेपालका ९ वटा जिल्लामा पाइने गरेको छ। वन कार्यालयका अनुसार सबैभन्दा बढी बाजुरा जिल्लामा पाइने गरेको छ।
सेतक चिनी नामक जडिबुटीको माग बढेपछि यसको उत्खन्न, संकलन र तस्करी बढदै गएको छ। नेपाली बजारमा प्रति केजी ५ सय देखि ७ सयसम्म पर्ने गरेको छ। बाजुरा जिल्लामा मात्र प्रत्येक वर्ष १ लाख १९ हजार केजी संकलन गर्न पाउने जिल्ला वन कार्यालय बाजुराको कार्य योजनामा छ। सरकारलाई ठेकेदारले उत्खन्न गरे बापत प्रतिकेजी ५ रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ। यसको माग बढेसँगै मनोमानी रुपमा संकलन पनि बढदै गएको स्थानीयले बताएका छन्।
पहाडी जिल्लामा पाइने सेतक चिनी जस्तै कटुकी, पाँचऔले, भुल्ते, सेतकचीनीलगायत करोडौंको जटिबुटी इजाजत पत्र बिना हुम्ला, जुम्ला र कालिकोटतिर निकासी भइरहेको पटक पटक सुचना आउने गरेका छन्। जिल्लामा जटिबुटी उद्योग भएको कागज देखाएर सुदूरपश्चिमको जडिबुटी सोझै भारत र चिनलगायत देश बाहिर पठाउने गरेका छन्।