अवैतनिक दूतको औचित्य
सरकारले विदेशस्थित अवैतनिक दूतलाई सक्रिय बनाउने अभियान थालेको छ। अभियानअन्तर्गत काठमाडांैको पाँचतारे होटेलमा दुईदिने सम्मेलन गरियो। अवैतनिक दूत भेलामा राजनीतिक अवस्था, पर्यटन प्रवद्र्धन, व्यापार वृद्धि र विदेशमा रहेका नेपालीका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। विभिन्न ३९ मुलुकमा नेपालका ६३ अवैतनिक दूत छन् र भेलामा आधाभन्दा कम सहभागी थिए। सम्मेलन गर्नु राम्रो हो, तर सम्मेलनअघिको तयारी र उपस्थितिबारे अध्ययन गर्नुपथ्र्यो। पछिल्लो समय अवैतनिक दूतमा गैरआवासीय नेपाली नियुक्त हुने क्रम बढ्दो छ। नेताहरूकोे निकटता र भ्रमणका क्रममा पुर्याएको ‘आतिथ्यता’ बदलामा १० जना गैरआवासीय नेपालीलाई अवैतनिक दूत बन्ने अवसर मिलेको छ। ती अवैतनिक दूतको बाह्य मुलुकमा त्यहाँको सरकार र व्यापारिक समुदायसँगको पहुँच के होला ? एकाधबाहेक अवैतनिक दूतले त्यस्तो पदीय हैसियत राख्न सकेको पाइँदैन।
भेलामा खासै उत्साह देखिएन। छोटो समयको तयारी र पर्याप्त सूचनाका आधारमा कार्यक्रम हुन नसक्दा परराष्ट्र प्रशासन चुकेको स्पष्ट हुन्छ। हुन त, पछिल्लो समय अवैतनिक दूत नियुक्त गर्ने प्रक्रिया गलत छ। भेलामा अधिकतम नेपाली सहभागी भए। एक सय ६६ मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध छ। प्रत्यक्ष कूटनीतिक उपस्थिति हुन नसक्ने स्थानमा अवैतनिक दूत नियुक्त गरिन्छ। तर दूतावासबाट केही घन्टा दूरीका सहरमा पनि अवैतनिक दूत नियुक्त गरिनु विडम्बना हो। त्यो पनि गैरआवासीय नेपालीलाई अवैतनिक बनाउँदै जाने र यस्ता भेलामा उनीहरूकै सहभागिता बढ्नुले यसको गरिमा घटेको छ। यस्ता सम्मेलन उनीहरूका लागि ‘होलिडे’ मात्र बनेको आभास हुन्छ।
विदेशमा रहेका अवैतनिक दूत, त्यहाँ रहेका राजदूत वा त्यो मुलुक हेर्ने सम्बन्धित अर्को मुलुकको राजदूतमातहत रहने गर्छन्। उनीहरूलाई छुट्टै कार्यादेश पनि तोकिएको छ। सरकारले अवैतनिक दूतहरूले दूतावासमात्र नभएर सीधै मन्त्रालयअन्र्तगत बनाउने झैं गरी सम्मेलन गरेको देखिन्छ। पर्यटन प्रवद्र्धन गर्न भने यस्तो सम्मेलन उपयोगी हुन सक्छ। सरकारले बुझ्नुपर्ने विषय के हो भने जो व्यक्ति नेपालको अवैतनिक दूत बनेका छन्, उसले नेपाल नबुझी सोझै नाम सुनेको भरमा अवैतनिक बनेका हुँदैनन्। अवैतनिक दूत पनि राजदूत झैं त्यो सहर वा स्थानीय सरकारले पत्याएको र राजदूतले रुचाएको व्यक्तिमात्र हुनसक्छ। अन्ततः नियुक्तिको स्वीकृत मन्त्रिपरिषद्बाटै हुने भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्छ।
विदेशमा मात्र होइन नेपालमा पनि बाह्य मुलुकका अवैतनिक दूत छन्। नेपालमा रहेका ३५ भन्दा बढी अवैतनिक दूतलाई पनि मुलुकका लागि सक्रिय तुल्याउनु आवश्यक छ। यतिखेरसम्म उनीहरू कूटनीतिज्ञ झैं निलो प्लेटको गाडी सयरमै सीमित छन्। विदेशमा रहेका नेपाली अवैतनिक दूतले नेपालकै लागि काम गर्छन् भने यहाँ रहने विदेशी अवैतनिकले सम्बन्धित मुलुकको हितमा बढी काम गर्छन्। तर नेपाली नै त्यस्ता अवैतनिक दूत रहेकाले उनीहरूलाई नेपालको हितमा काम गर्न सरकारले यहाँ आग्रह गरिरहेको भए पनि खासै उपलब्धि हात परेको छैन। यहाँ सरकारले अवैतनिक दूतहरूलाई केही कूटनीतिक सुविधासमेत उपलब्ध गराएको छ। विदेशमा रहेकाले त्यो सुविधा त्यहाँको सरकारबाट पाउँदैनन्। अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ठ कक्ष, कूटनीतिक नम्बर प्लेट, सिंहदरबार प्रवेश र विशिष्ठ भेटघाटमा समेत उपस्थितिलगायतका सुविधा नेपालमा रहेका अवैतनिकले पाएका छन्। तर बाह्य मुलुकमा त्यसरी सुविधा पाउँदैनन् र त्यो भियना कन्भेन्सनले पनि सम्बोधन गर्दैन।
अवैतनिक पद भनेकै सेवा दिने पद भएकाले त्यहीरूपमा परिभाषित गर्नुपर्छ। दुईपक्षीय सम्बन्ध विस्तारमा के गर्न सकिन्छ भनी थप व्यवस्थित गर्नेबाहेक यस्तो प्रोत्साहन खासै आवश्यक देखिँदैन। ठूला व्यापारी, कमिसन एजेन्ट तथा राजनीतिक सम्बन्ध उच्च रहेका व्यक्ति अवैतनिक दूत बन्ने गरेका छन्। यसरी हेर्दा तिनलाई सामाजिक प्रतिष्ठाभन्दा पनि गैरआवासीय नेपालीमाझ फुर्ति लगाउननिम्ति अवैतनिक दूत नियुक्त गर्नु कूटनीतिक भूल हो। यसमा सरकारले गहिरिएर अध्ययन गर्नु जरुरी छ।