नम्रताको बयान गरेर नथाक्ने अनुप
काठमाडौं : भदौ ६ बाट मुलुकभर प्रदर्शनमा आउन लागेको एक्सन लभस्टोरी जनरामा निर्मित फिल्म ‘जाइरा’को रोमान्टिक गीत ‘आँखैले बोल्छ’ श्रोतामाझ आएको छ। गीतमा सन्तोष लामाको स्वर, कल्याण सिंहको संगीत र रवि मल्लको शब्द छ। गीतको भिडियोमा फिल्मका लिड कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन्।
राजधानीको ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा नम्रता र अनुपले स्टेजमा नृत्यसमेत प्रस्तुत गरे। कोरियोग्राफर गोविन्द शाहीले चार दिन लगाएर दुईलाई स्टेजका लागि नृत्य सिकाएका थिए। स्टेजमा दुईको जोडी कमालको देखिएको थियो। सार्वजनिक गीतले अनुप र नम्रताको प्रेमभाव बोल्छ।
पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी अभिनेत्री नम्रताले यस फिल्ममा मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन्। मार्सल आर्ट सिक्न उनले आठ महिना तालिम लिएकी थिइन्। उनले आफ्नो कपालसमेत काटेकी थिइन्। यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन्। उनको यो डेब्यु फिल्म हो।
फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट् मगरको अभिनय छ। प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। कटामरी फिल्म्स्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्स प्रालिको प्रस्तुतिमा फिल्म बनेको हो।
कल्याण सिंह, डीजे राजु र टम्ब्लिविडको संगीत रहेको यो फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व निर्देशन छ। कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ। लोकेश वज्राचार्यको सम्पादन रहेको यस फिल्ममा केशव थापाको नृत्य निर्देशन छ भने डीओपी बाबु श्रेष्ठको छ। अभिनेत्री नम्रताले फिल्म बदलाको कथामा बनेको बताइन्।