छालाको बाथबाट जोगिने उपाय
छालाको बाथले छाला कडा र बाक्लो बनाउँछ। यसको समयमै उपचार नगर्दा शरीरका अन्य अंगमा समेत दीर्घकालीन असर पर्न सक्छ। हरेक १ लाखमा ६ जनालाई छालाको बाथ हुने अनुमान छ। विशेषगरी ३५ वर्षदेखि ५० वर्षको उमेरका व्यक्तिलाई छालाको बाथले सताएको पाइन्छ। पुरुषभन्दा महिला बढी पीडित भएको पाइएको छ। कसै–कसैलाई सानो उमेरमा पनि छालाको बाथले सताएको पाइन्छ।
लक्षण
– छाला (औंला तथा हातखुट्टा) सुन्निने र विस्तारै कडा हुने
– चिसोमा औंलाको रङ परिवर्तन भएर सेतो, नीलो हुने
– जोर्नी दुख्ने, सुन्निने, अरठ्ठ हुने
– मुठी पार्न गाह्रो हुने
– खाना निल्न गाह्रो हुँदै जाने, अमिलो पानी आउने
– मांशपेसी कमजोर हुँदै जाने
छालाको बाथ भएको शंका लागे रगत र छालाको जाँच गर्नुपर्ने हुन्छ। त्यस्तै, नङ, नशा, छाती र मुटुको समेत जाँच गर्नुपर्ने हुन सक्छ।
रोकथामका उपाय
– छालालाई नरम राख्न मोइस्चराइजर क्रिम प्रयोग गर्ने,
– जोर्नीको वरिपरि घाउ हुन नदिने,
– चिसोबाट बच्ने,
– औंला र शरीरलाई न्यानो राख्ने
– कडा साबुनको प्रयोग नगर्ने,
– घरको काममा पञ्जाको प्रयोग गर्ने
– औंलाका टुप्पामा घाउ आउँदा तुरुन्त उपचार गर्ने
– नियमित व्यायाम गर्ने
छालाको बाथ भएको व्यक्तिले चिया, कफी, चिल्लो र मसला कम खानु पर्छ। मद्यपान एवं धूमपान गर्नु हुँदैन। खाना ठिक्क मात्रामा खानु पर्छ। खाना खाएको ३ घण्टासम्म पल्टिनु हुँदैन। मोटोपन घटाउनु पर्छ।
उपचार
शरीरको कुन अंगमा असर भएको छ सोहीअनुसार उपचार फरक हुन्छ। खानपिनमा ध्यान, स्वस्थ जीवनशैली, नियमित व्यायामसँगै औषधिको सेवनले फाइदा पुग्छ।