नमिता-सुनिता : २०३८ पछिको ३८ वर्ष
बलात्कारीलाई फाँसी दे। हत्यारालाई कारबाही गर्। पञ्चायती व्यवस्था मुर्दावाद। बहुदल जिन्दावाद। - २०३८ असार १४, काठमाडौं।
आज ३८ वर्षपछिको ठीक उही असार १४ मा तपाईं यी पंक्ति पढिरहनुभएको छ।
काठमाडौंका सडकमा यस्तै स्वर गुन्जिरहेका थिए— २०३८ सालमा। अहिले पनि यस्तै उस्तै स्वर अनुत्तरित छन्, हावामा।
महिला-पुरुषहरू हातमा प्लाकार्ड लिएर हुल बाँधेर नारा लगाउँदै थिए। सिमसिम पानी परेको बिहान। पानीमा भिज्दै सानो समूहमा केही महिलाले गृहमन्त्री नैनबहादुर स्वाँरलाई भेटेर एउटा ज्ञापनपत्र बुझाएका थिए।
दिउँसो अमृत साइन्स क्याम्पसका विद्यार्थी र महिला मुक्ति परिवार मिलेर विरोध ¥याली आयोजना गरेका थिए। उनीहरूले त्रिचन्द्र क्याम्पसमा सभा गरेका थिए। उक्त सभाको अगुवाइ गर्नेमा कुन्ता शर्मा, पद्मरत्न तुलाधरहरू थिए।
असार १४ गते काठमाडौंमा सुरु भएको आन्दोलन देशका प्रमुख सहरहरूमा फैलँदै गएको थियो। क्याम्पसहरूमा विरोधका आवाज सुनिन थालेका थिए। असार २१ गते फेरि अर्को विशाल जुलुस र आमसभा गरिएको थियो।
पञ्चायती व्यवस्थामा २०३५ सालयता निक्कै उथलपुथल देखिएको थियो। विद्यार्थी आन्दोलन, शैक्षिक हडताल, किसान आन्दोलनजस्ता आन्दोलनले सडकदेखि क्याम्पस खुबै तातेका थिए। जनमतसंग्रह, पञ्चायतको जित, संविधान संशोधनजस्ता विषयले विरोधका स्वरहरूलाई अलमल्याउने प्रयास सत्ताधारीले गरिरहेका थिए।
यस्तैमा सुधारिएको पञ्चायतको नारासहित २०३८ वैशाख २७ मा पञ्चायती व्यवस्थाको चुनाव भयो। सूर्यबहादुर थापा प्रधानमन्त्री बने। भूमिगत र प्रतिबन्धित नेताहरू आआफ्ना ढंगले चुनाव र पछिको माहोलको विश्लेषण गर्दै थिए। कोही भावी विरोधको रणनीति बनाउँदै थिए।
यस्तै राजनीतिको माहोल चर्केकै बेलामा पोखरा घुम्न गएका तीन युवती नमिता, सुनिता र नीराबारे हल्ला फैलियो— उनीहरू लास भए।
जेठ २९ मा नमिताको लास र असार ६ मा सुनिताको लास सेती नदीमा भेटियो। नीराको आजसम्म कुनै खबर थाहा भएको छैन।
त्यसपछिको केही समय विरोध प्रदर्शन, आन्दोलन, हत्यारा खोजीको अभियानजस्ता केही कर्म भए। यस्ता कर्म बिस्तारै सेलाउँदै गए।
बहुदलका लागि संघर्ष, बहुदलीय व्यवस्थाजस्ता घटनाक्रमले छोपिँदै गयो, त्यो घटना।
बलात्कार-हत्या, यस्ता घटना कम भएनन्। कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलागेका कारण देशैभर हत्यारा पत्ता लगाउने मागसहित प्रदर्शनहरू भए। इतिहासमा नमिता-सुनिता हत्याकाण्डले चर्चित घटनाले मानिसको स्मृतिलाई फेरि ताजा बनायो।
पत्रिकामा नमिता-सुनिता
‘माछापुच्छ«ेको काखमा महिलाको बलात्कार’ शीर्षकको समाचार नमिता-सुनिता हत्याकाण्डबारे मैले पाएको पहिलो रेपोर्टिङ हो। २०३८ साल असार १० गते रुपन्देहीबाट प्रकाशित हुने ‘दैनिक निर्णय’ पत्रिकाको पहिलो र दोस्रो पृष्ठमा उक्त समाचार छापिएको छ। समाचारमा उनीहरूलाई ‘१६-१७ वर्षीया कलिली, देशको गौरव, इज्जत र गरिमा छात्रा’का रूपमा चित्रण गर्दै बलात्कारीलाई ‘पोखराको कलंक, नरपिचास’का रूपमा वर्णन गरिएको छ। अलि खरो भाषामा रिपोर्टिङ गरिएको छ।
यही घटनाबारे काठमाडौंबाट प्रकाशन हुने ‘नयाँ सन्देश’ पत्रिकाले २०३८ असार १२ गते पहिलो पृष्ठमा ‘पोखरा काण्डबारे विद्यार्थी क्षुब्ध छ’, ‘पर्सि विद्यार्थीहरू सडकमा ओर्लने’ जस्ता शीर्षकमा समाचार छापेको छ। यसमा सोझै बलात्कार शब्द प्रयोग नगरी ‘शंका गरिएको बलात्कार’ भनेर लेखिएको छ। नयाँ सन्देशका बाँकी रिपोर्टिङमा बलात्कार शब्दको प्रयोग गरिएको छैन, जब कि यो पत्रिकाले विद्यार्थीको विरोध प्रदर्शन, विद्यार्थीमाथि लाठीचार्जजस्ता समाचार भने छापेको छ।
‘नयाँ सन्देश’का सम्पादक रमेशनाथ पाण्डे खास किसिमका पञ्चायत समर्थक हुन् भने ‘दैनिक निर्णय’का प्रकाशक प्रताप कु भट्टचन कम्युनिस्ट समर्थक।
त्यस्तै ‘गोरखापत्र’मा असार १३ गते छापिएको ‘पोखराको हत्याकाण्डबारे व्यापक छानबिन’ शीर्षक समाचारमा पनि बलात्कार शब्द प्रयोग गरिएको छैन।
‘दी राइजिङ नेपाल’ले असार १५ मा प्रकाशित गरेको समाचार ‘प्रोटेस्ट प्रोसेसन हेल्ड’ विरोध जुलुसको आयोजनामा पनि बलात्कार शब्द प्रयोग भएको छैन। यसरी सुरुमा समाचार छाप्ने पत्रिकाका शीर्षक, भित्रको समाचारले यो घटनालाई कस्तो समूहले कस्तो राजनीतिक आकार दिन खोजे भनेर देख्न सकिन्छ।
असार १४ गतेको विरोध कार्यक्रमपछि भने व्यापक रूपले साप्ताहिक पत्रिकामा यो घटनाबारे समाचार छापिएको देखिन्छ। त्यसमा गृहमन्त्रीको राजीनामादेखि सरकारको मौनता, देशभर भएका विरोध प्रदर्शनका समाचार छापिएका छन्।
यस्ता खरा शीर्षकहरू पञ्चायत व्यवस्थाविरोधी पत्रिकाहरूले राखेको देखिन्छ। न्यायिक समितिको गठन गर्ने सुझाव, पञ्चायतको गुणगान तर प्रहरीको निकम्मापनको विरोध गर्ने प्रवृत्तिका समाचार असार र साउन महिनामा अलि धेरै, भदौ महिनामा अलि कम र अन्तिम समाचार असोज २ गतेको छ।
त्यसपछि भने पत्रिकामा समाचार सामग्री छापिएका छैनन्।
यस घटनासँग सम्बन्धित केही रोचक सामग्री पनि छापिएका थिए।
‘अचेल’ साप्ताहिक पत्रिकाको २०३८ साउन ३२ अंकको पृष्ठ २ मा ‘चित्रगुप्तको इजलासमा नमिता-सुनिता’ शीर्षकमा हरियो मसी प्रयोग गरेर व्यंग्यात्मक सामग्री प्रस्तुत गरिएको छ।
हत्यारा र बलात्कारीहरू पत्ता लगाउन असमर्थ सरकारको निरीहतालाई व्यंग्य गर्दै उल्टोपुल्टो अक्षरमा शीर्षक राखिएको यो सामग्रीमा नमिता-सुनितालाई यमराजको अदालतमा उभ्याइएको छ। उनीहरू आफूमाथि भएको घटनालाई विस्तारमा चित्रगुप्तका अगाडि प्रस्तुत गर्छन् र घुमाउरो पाराले अपराधी निकै नै पहुँचवाला भएको हुनाले पक्राउ नपर्ने भन्दै अन्तमा स्वर्गलोकको ‘कुमारी आ श्रम’मा उनीहरूलाई राखिने निर्णय हुन्छ।
अर्को सामग्री २०३८ साउन ३२ को ‘चर्चा’ पत्रिकामा भएको व्यंग्यात्मक कार्टुन हो। यो कार्टुनमा एक पुरुष एक महिलालाई हात समात्दै लाँदै छन्। छेउमा प्रहरी केही नभएजसरी हेरेर बसेका छन्। यी दुवै सामग्री गाईजात्रा विशेषांक भएकाले व्यंग्यात्मक छन् र केही मानेमा दण्डहीनताको विरोध गरेका छन्।
पत्रिकामा आएका सबै सामग्री केलाउने हो भने एकातर्फ अधिकांशले हत्याकाण्डका दोषीलाई कारबाही हुनुपर्ने, छानबिन निष्पक्ष हुनुपर्ने जस्ता कुरामा जोड दिएका छन्। यी पत्रिकामा प्रयोग गरिएका शब्दहरूले महिला र महिलाको शरीरको चित्रण उही पुरानै शैलीबाट गरिएको छ। जस्तै— लालीगुराँसका फूलजस्ता कलिला प्रतिभा, कलिली, देशको गौरव, इज्जत र गरिमा, कुमारी छात्राजस्ता केही शब्दावलीले महिलाको सरोकार र शरीरको अधिकारलाई राजनीतिकरण गर्न वा बलात्कारसम्बन्धी ठोस मुद्दा उठाउन यो घटनाले लगभग शून्य भूमिका खेलेको बरु बलात्कार र हत्याको यो घटनालाई एउटा अर्को पञ्चायतविरोधी आन्दोलन गर्ने विषय मात्र बनाइएको देखिन्छ।
०० सामाजिक-राजनीतिक सवाल
बाह्रबिसे बजारैमा चुरा धागो सस्तो
हामीसँग बिहे गरे भाग्य खुल्छ त्यसको।
लोभलाग्दो जीउडाल तिम्रो
हेर्दा नि लाहुरे भैंसी जस्तो।
चट्ट परेको चुल्ठी बाटेको
च्वाँक परेको जुल्फी पालेको।
आफू भने रन्को चढी
तरुनीलाई फन्को मारेको।
३० को दशकतिर रेडियो नेपालमा यी र यस्तै गीत बज्दै थिए भने मनको बाँध, सिन्दूर, परालको आगो, जीवनरेखाजस्ता चलचित्र प्रदर्शनमा आएका थिए।
अनुभव अजितको शब्दमा ‘चढ्दो जवानीको केटाकेटीको बीच प्रेम कहानी र त्यसको सेरोफेरोमा पारिवारिक द्वन्द्वको रटिरटाउ’का बारेमा हुने चलचित्रहरूमा पुरुष पात्रको आदर्श चरित्रसँगै आदर्श महिलाको स्वरूप, आधुनिक महिलाहरूको चरित्र र पितृसत्तात्मक सोच लादिएको चलचित्र बन्ने गर्थे। गीतहरूमा महिलाका शरीरको व्याख्या, पुरुषको बहकिँदो मनलाई रोक्न गाह्रो हुने, महिलालाई जबर्जस्ती आफ्नो बनाउने खालका चरित्र चित्रण, पुरुषका यौन कुण्ठाहरू लादिएका शब्दहरूले बनेका गीत खुबै बज्थे।
नमिता-सुनिता त्यो आदर्श चित्रणको घेराबाट अर्को घेरामा परिसकेका थिए। तत्कालीन प्रजिअ सुब सेनको किताब ‘मेरा कथाहरूको कथा’मा उल्लेख भएअनुसार उनीहरूलाई चरित्रहीन महिलाको संज्ञा दिनेको पनि कमी थिएन।
अर्कातर्फ भने राजनीतिमा जोडिएका भूमिगत र प्रतिबन्धित महिलाहरू थिए। उनीहरू पार्टीको अनुशासनमा बसेर पार्टीको निर्देशनअनुसार काम गर्थे। तत्कालीन समयमा घरपरिवारसँग विद्रोह गरेर निजी र राजनीतिक सन्तुलन कायम राख्ने काम निकै चुनौतीपूर्ण थियो।
तर पनि यी महिला राजनीतिक परिवर्तनका लागि लडिरहे। उनीहरू एकखाले आदर्श बन्नुपर्ने झन्झटबाट मुक्त भए पनि अर्काे आदर्श बन्नुपर्ने बोझबाट उन्मुक्त भइसकेका थिएनन्। एकै खाले जिम्मेवारी पूरा गरे पनि पुरुषझैं पूर्ण रूपमा स्वतन्त्र वा राजनीतिमा उस्तै ओहोदा पाउनबाट वञ्चित थिए।
राजनीतिक रूपले सक्रिय महिलाहरू दुईतर्फी बोझले थिचिएका थिए। यिनै परिस्थितिका बीचमा पार्टीगत दायित्व र व्यवस्थाविरोधी गतिविधि गर्ने र राजनीतिक परिवर्तनलाई अगाडि सारेर हिँड्ने क्रममा महिलाको सवालमाथि राज्यसँग ‘बार्गेन’ गर्ने स्थितिमा पुग्न नसकेको बताउँछिन्, शान्ता मानवी।
तत्कालीन समयमा भूमिगत रहेर पार्टीको दायित्व सम्हालेकी र अखिल नेपाल महिमा संघ २०३७ मा पुनर्गठन भएपछिकी अध्यक्ष मानवी व्यवस्था परिवर्तनको मागसँगै महिलाको सवाल पनि छुट्टै र सशक्त ढंगले राख्न सकेको भए २०३८ सालको त्यो विशाल आन्दोलनले बलात्कारजस्ता महिलाको शरीरको सवाललाई त्यति बेला नै पनि केही न केही रूपबाट स्थापित गर्न सक्ने सम्भावना रहेको बताउँछिन्।
उति बेला उठेको त्यो बलात्कारविरोधी आन्दोलनलाई दण्डहीनताको सवालसँग अलि गहिरिएर मात्र हेर्न सकेको भए बहुदलीय व्यवस्थामै महिला यौन हिंसा र दण्डहीनतामा केही ठोस निर्णय भइसकेको हुने थियो होला कि। ३७-३८ वर्षपछि देशैभरि फेरि बलात्कार र दण्डहीनताविरुद्ध आवाज उठाउनुपर्ने थिएन कि ?
नमिता-सुनिता र वर्तमान
३८ सालपछिको ३८ वर्ष बितेका छन्। अहिले मुलुकमा संघीय गणतन्त्र आइसकेको छ। महिला आन्दोलनले विभिन्न चरण पार गरिसकेको छ। तर यौनहिंसा र दण्डहीनता व्यापक छ। शक्ति-सम्बन्ध, राजनीतिक संरक्षणका कारण हिजो पञ्चायतमा बलात्कारी र हत्याराहरू उम्किएजस्तै आज पनि अपराधीले उन्मुक्ति पाएका छन्।
देशैभरिका मानिसहरू उर्लिएर न्याय मागेको निर्मला पन्त हुन् वा उनीजस्ता अन्य किशोरी, बालिका हुन्; न्याय अनुभूति गर्न अझै सजिलो भएको छैन। अझै माया विकजस्ता धेरै दलित महिलाको हकमा न्यायका लागि लडिदिनेको पनि कमी छ। (मायाबारे थप जान्न २०७६ जेठ २५ मा यही फुर्सदमा छापिएको उन्नती चौधरीको ‘माया हो माया...’ कभर स्टोरी पढ्नुहोस्।)
विभेदको चरम बिन्दुमा रहेका दलित महिला गुमनाम छन्। ३८ वर्षपछि पनि बलात्कृत भएका महिलालाई कानुनी प्रक्रियामा अघि बढ्न गाह्रो हुने परिस्थितिले हिजोजस्तै आज पनि न्यायिक राज्य निर्माणमा यो कुरा अझै बाधा बनिरहेको छ।
महिला आन्दोलनले राज्यसँग प्रश्न गरिरहँदाको अवस्थामा अब फेरि अर्को ३८, २० वा एक-दुई वर्षमा फेरि अर्को बलात्कारको घटनाले पुरानो घटना सम्झाउँदै जाने र इतिहास आफैंमा दोहोरिइरहने अनौठो अवस्थामा हामी छौँ।
३८ वर्षअघिका नमिता-सुनिता होऊन् वा ३८ वर्षपछिका निर्मला-माया, के उनीहरूका लागि सुरक्षा, समता, सत्ता, सरकार, सदन, सर्वोच्च न्यायालय न्यायका लागि फेल भएका हुन् कि जाँचै हापेका ?
पौडेल समाजशास्त्रमा स्नतकोत्तर हुन्। उनी बलात्कारको केन्द्रमा लैंगिक हिंसाबारे थप अनुसन्धान गर्दै छिन्।