जर्नी टु मदरहुड
त्यो बिहान अरू बिहानझैं थिएन। मान्छेलाई हिजोको भन्दा आजको आकाश फरक लाग्न सक्छ। हिजोको भन्दा आजको माहोल फरक लाग्न सक्छ। आफ्नो नजिक भएका व्यक्ति पनि हरदिन फरक लागिरहन्छन्।
तर त्यस दिन मलाई आफू नितान्त फरक लाग्यो।
परीक्षा नजिकिएकाले तीन बजे उठेर पढ्नु मेरो दैनिकी थियो। उठेँ। किनकिन मलाई धरधरी रुन मन लाग्यो। आफैंभित्र केही हलचल भएझैं लाग्यो। मनस्थिति नै फरक पार्ने खालको त्यस्तो केही भएको पनि होइन। सायद पढाइको तनावले होला।
म उसलाई समस्या राख्छु। ऊ, अर्थात् मेरो श्रीमान्।
ऊ भन्छ, ‘पीएमएसमा तिमीलाई सधैं त यस्तै हुन्छ।’
हो त। नाउँ चैं महिनावारी। तर मेरो हकमा, त्यो सधैं महिनापारि। अरूलाई महिना महिनामा हुने चीज मलाई डेढ महिना, दुई महिनामा हुन्छ। पीएमएसको अवधि सधैं यसैगरी तन्किरहन्छ।
यस्तै होला भन्ठानेँ। र भित्र कता गाँठो परिरहेको अनुभूति भए पनि किताब र नोटहरू फिजाएँ। अक्षरमा आँखा डुलाएँ।
किताब र नोटहरू टेबलअगाडि फिँजिए पनि मन र दिमाग पटक्कै उघ्रेन। आँखाले अक्षरलाई पछ्याए पनि एउटा बेचैनीले आफूलाई लखेटिरह्यो।
हर महिनामा पिरियड धेरै ढिलो हुँदा प्रेग्नेन्सी किट ल्याएर त्यसमा धर्काहरू हेर्नु पनि बानी भइसकेको थियो। बच्चा जन्माइहाल्ने हाम्रो तुरुन्त योजना भने थिएन।
साँझ किट लिएर म ट्वाइलेट पसेँ। पिसाब किटको एक कुनामा भएको प्वालमा राखिसकेपछि एकछिन कुर्नुपथ्र्यो। ती कुराइहरूमा मेरो कुनै उत्साह रहन्नथ्यो। सधैंझैं किट एउटा गुलाबी धर्का देखाउँदै आउनेछ र म एक्लो छु भन्ने सूचना दिएर डसबिनमा फ्याँकिनेछ।
बिहान फरक भएझैं, त्यो साँझ पनि मेरो फरक भयो।
टेलिभिजनमा बडो दुःखद समाचार बज्यो— प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्यु। उता टेलिभिजनमा कसैको धुकधुकी बन्द भएको समाचार, यता म भर्खर सुरु भएको कसैको धुकधुकी सुनिरहेकी छु।
आज किट दुईवटा गुलाबी धर्काको सूचना लिएर आयो। म ती एक जोडी गुलाबी धर्काहरूको अर्थ लगाउन थालेँ। एक जोडी धर्काले बताइरहेथ्यो, अब मेरो शरीर एउटा मात्र रहेन। गुलाबी धर्काले भन्यो, अब नौ महिनासम्म मेरो शरीरबाट रातो रङ बहँदैन। बरु त्यही रातो रङ मासु, हाड र छालाको एउटा डल्लो बन्छ र एउटा मानव आकृति लिएर मेरो जीवनमा थपिन्छ।
पे्रग्नेन्सी किटमा दुईवटा गुलाबी रङ आएको जानकारी दिनासाथ श्रीमान््को अनुहारमा भने अनेक रङ देखियो। कहिले भयले नीलो अनि कालो। कहिले खुसीले गुलाबी अनि उज्यालो।
पक्का गर्न अर्को दिन अस्पताल गयौं।
अस्पतालका परीक्षण र डाक्टरको डिसिजनपश्चात् निक्र्योल यहि भयो कि म अब आमा बन्दै छु।
डाक्टरले फोलिक एसिड र प्रोजेस्टेरोनका चक्कीहरू लेखिदिएर भनिन्, ‘पोसिलो खानुस्, सकारात्मक सोच्नुस्, शरीरलाई धेरै सास्ती नदिनुस्।’
घर फर्कियौं। प्रेग्नेन्ट हुनु भनेको एक पटक रिँगटा लागेर ढल्नु, हुलुक्क भमिट गर्नु, बढेको पेटमा श्रीमान्ले कान थापेर सुन्दा किक हानेको अनुभव गर्नु र खुसीले उफ्रिनु अनि मटेरनिटी वार्डबाड बच्चासहित तीनजना मुस्कुराउँदै बाहिर निस्कनु। यति नै थियो मैले पाएको फिल्मी जानकारी।
तर प्रेग्नेन्सी यति साधारण कहाँ हुँदो रैछ ?
एकै दिनमा दसौं पटक छाद्नु, छाद्दाछाद्दै मुखबाट रगतै आउनु, कहिले पूर्वको घाम पश्चिममा नपुग्दासम्म रोइरहन मन लाग्नु, खानेकुरासित घृणै हुनु, निद्राले बेवास्ता गर्नु, घाउ हुन्जेल, रगत नचुहिन्जेल जीउ चिलाइरहनु, ओठमुख सुकिरहनु, हर पाँच मिनेटमा पिसाब लाग्नु... बाफ रे ! यो सब बच्चा नपाउन्जेलका हरेक दिनका समस्या। फिल्मले धेरै कुरा स्किप गर्दो रैछ। सायद मान्छेका इमोसन र पीडा पनि।
त्यो दिन मंसिरको तीन गते थियो।
डाक्टरले आठ हप्तामा बच्चाको मुटुको धड्कन सुनाउन यूएसजी गर्न बोलाएकी थिइन्। मास्टर्स फस्ट सेमेस्टरको परीक्षा चलिरहेको थियो। टीयू कीर्तिपुर परीक्षा केन्द्रमा कापी भरेर बुझाइसकेपछि खाली पेटमा अस्पताल पुगेँ।
अल्ट्रासाउन्डका लागि निकै बेर कुरिसकेपछि बल्ल पालो आउँछ। म भित्र छिर्छु। दुईजना रेडियोलोजिस्ट छन्। एक पाका पुरुष। अर्की भरखरकी तन्नेरी महिला। र एक नर्स। दुईवटा बेड दुईवटा भित्तामा छन्। अगाडि दुईवटा कम्प्युटरको स्क्रिन। दुईवटा यूएसजी मेसिन। भित्तामा एउटा एलसीडी टेलिभिजन।
सिस्टरले पेटबाट कपडा हटाइदिइन् र बेडमा सुताउँदै पेटमा मल्हम लगाइदिइन्। डाक्टर यूएसजी गर्ने केही माउसजस्तो वस्तु मेरो पेटमा घुमाउँछन्।
‘नानीको पहिलो बच्चा हो ? ’ डाक्टर सोध्छन्।
म हलुका डराउँदै भन्छु, ‘हो।’
भित्तामा एलसीडी स्क्रिनमा समाचार प्रसारण हुन्छ। डाक्टर मलाई भन्छन्, ‘लौ सुन तिम्रो बच्चाको हार्टबिट।’
‘ढुक ढुक ढुक...’ सुनेर मेरो हार्टबिट बढ्यो। हार्टबिट बच्चाको मलाई सुनाउँदैथे। तर मेरै मुटु यसरी उफ्रिरहेथ्यो, लाग्छ— म बच्चाको हार्टबिट सुन्न गएको कि आफ्नो हार्टबिट उनीहरूलाई सुनाउन ? त्यति बढेको !
त्यति नै बेला टेलिभिजनको स्क्रिनमा बडो दुःखद समाचार बज्यो— प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु।
उता टेलिभिजनमा कसैको धुकधुकी बन्द भएको समाचार बज्दा यता म भर्खर सुरु भएको कसैको धुकधुकी सुनिरहेकी छु।
उता एउटा आमाले आफ्नो छोरा गुमाइरहँदा यता म पेटमा एउटा जीवनलाई अनुभव गर्दै छु। रोऊँ कि हाँसू ? थरथरी काँप्न पुगेँछु।
‘केही चिन्ता लिनु पर्दैन’, डाक्टर भन्छन्, ‘बच्चाको सब कुरा ठीक छ।’
चिन्ता आफ्नो बच्चाको कहाँ थियो ? चिन्ता भर्खर आफ्नो छोरा गुमाएर आलो पीडामा छट्पटिएकी अर्की आमाप्रति थियो। ‘आमा’ भन्ने साइनोले मलाई पहिलो पटक नमज्जाले छोयो। नौ महिना पेट र छत्तीस वर्ष मुटुमा राखेको छोराको मुटु बन्द हुँदा ती आमामा कस्तो पीडा गुज्रियो होला, आफू प्रेग्नेन्ट नभएको भए सायद म यो अनुभूत गर्न सक्तिनथेँ।
मलाई हर आमाको माया लाग्न थाल्यो। मलाई मेरी आमाको झन् माया लागेर आयो।
सन्तान गुमाएका आमाको पीडा म सन्तान नजन्माएकीले समेत केही हदसम्म बुझेँ। त्यसैले ठाउँठाउँमा मेरो पेटभन्दा चिन्ता भारी हुन थाल्यो।
माइक्रो चढेर कलेज जाँदा चालकको आँखा खाल्डाखुल्डीमा त्यति पर्दैनथे, जति मेरा पर्थे। सिट नपाएर कति पटक माइक्रोमा झुन्डिएर यात्रा गरेँ। कति पटक ‘गाह्रो भयो होला, आऊ यहाँ बस’ भन्ने मधुर मुस्कान र आत्मीयता देखाउने पनि भेटेँ। कतै लाइन बस्न जाँदा ‘तपाईं लाइन बस्नु पर्दैन, अगाडि जानुस्’ भन्ने सौहार्दता पाएँ। प्राक्टिकल एक्जाममा सबैजना उभिइरहँदा ‘तिमीचाहिँ कुर्सीमै बसेर लेख’ भन्ने सरहरूको साथ पाएँ। आफ्नो जन्मदिनमा सबै साथीले क्लासमा जुरुक्कै एकैसाथ उठेर ‘ह्याप्पी बर्थ डे’ भन्दा पाएको खुसीले सायद पेटभित्रको बच्चा पनि मुसुक्क हाँस्यो होला। ‘तिम्रो बच्चाले धेरै किक हान्छ भने छोरा हुन्छ, नभए छोरी’ भन्ने मिथ पनि यही बेला सुनेँ। बाटो हिँड्दा हिँड्दै कोही मेरो पेट देखेर आँखामा प्रेम देखाउँदै मुसुक्क हाँस्यो भन्यो लाग्थ्यो— मसहित दुईजना मान्छे मुस्कुरायो। म लोभी ! त्यसरी हिँड्दा हरेक मान्छे मलाई देखेर मुस्कुराऊन् जस्तो लाग्थ्यो।
त्यसैले त आजकाल बाटोमा हिँड्दा हिँड्दै कोही प्रेग्नेन्ट महिलालाई देखेँ भने मेरा पनि आँखामा प्रेम भरिएर आउँछन् र ओठबाट मुस्कान छुट्छन्।
हो रैछ, आमा बन्न लागेको मान्छेलाई धेरैले आमाझैं माया गर्दा रैछन्।
कहिलेकाहीँ मीठा गाँसहरू निल्दानिल्दै दाँतमा किरिक्क ढुंगा नलाग्ने पनि होइनन्।
नाक खुम्च्याई खुम्च्याई मेरो पेटतिर हेर्ने आँखाहरू देखेर मुख अमिलो भएको अनुभव पनि बटुलेँ। पेटलाई सलले छोप्नुपर्ने अन्धविश्वासका लागि पाएको सल्लाह होस् या ‘छोरा नै पाऊ है’ भन्ने रिसउठ्दो शुभकामना, ‘अथवा डेलिभरी डेट आउन लाग्यो, तिम्रो बच्चा सानो छ, सिजरिङ गर्नैपर्छ’ भन्ने डाक्टरको भययुक्त प्रतिक्रिया, मलाई नमीठो लाग्थ्यो।
डेलिवरी डेट आउनुभन्दा निकैअगाडि आफैं सुरु भएको लेवर पेन, भजाइनल डिस्चार्ज, त्यसपछिको हस्पिटल बसाइ, दौडधुप, एमरजेन्सी सिजरिङ अनि त्यसपछिको बच्चाको च्याँ च्याँ आवाज ‘मेरो छोरा जन्मेको सूचना...’ ‘ल हेर्नुस्, तपाईंको बच्चा !’ म बेडमा लम्पसार छु, मास्तिरबाट देखाइरहेछन् नर्सहरू। एनस्थेसियाले शरीरमा पीडा मात्रै नगराउने, आफ्नो जीउ काटिँदै छ भनेपछि यस्सै पनि दुखेजस्तो लाग्ने। त्यसपछिको प्रसूति वार्डको बसाइ, डोजका डोज मल्टिभिटामिन, पेनकिलर र एन्टिबायोटिक्स। यो निकासले एउटा आनन्द पक्कै दिएको थियो। प्रेग्नेन्सीका अधिकांश समस्या यस्सै हराएर गए। शरीर हलुका भएको थियो। मेरो पेटमा अब बच्चा छैन। म एक्लै भएको कुराले आनन्द दिएको थियो। मान्छेको स्वभाव यस्तै। एक्लै भए साथी चाहिने, कोही साथ भए एक्लै हुन मन लाग्ने।
दोस्रो दिन अचानक झल्याँस्स भएँ। सिजरिङ र त्यसको पीडामा यति डुबेछु कि कति समयसम्म मलाई मेरो छोरा जन्मेको पनि होश भएनछ।
‘माइजू भाइलाई एनआईसीयूमा राख्या छ, हेर्न जानुस् न। पेरेन्ट्सलाई दिन्छ त’ भान्जीले भनेपछि होश भयो। मेरो छोरो कम तौल भएकै कारणले एनआईसीयूमा नाकमा अक्सिजनको पाइप, नशामा क्यानुला जडित अवस्थामा थियो। म हेर्न जाँदा ऊ निदाइरहेको थियो। घरिघरि चल्दै थिए उसका हातगोडा। चलिरहेथ्यो हार्टबिट काउन्ट गर्ने मेसिनको ‘ट्वाँ ट्वाँ’ आवाज अर्कातिर।
‘तपाईं फिडिङ गराउन सक्नुहुन्छ’, नर्सले भनिन्।
म उसलाई काखमा सिरानी राखेर त्यसमाथि लिन्छु। साना आँखा, सानो मुख र सानो जीउ, कति नाजुक लाग्छ। ऊ मेरो छातीतिर मुख जोड्छ र हात मेरो छातीतिर ल्याउँछ। जसलाई म काखमा लिएर स्तनपान गराइरहेकी छु, को हो यो ? मलाई यतिखेरसम्म छोराप्रति खासै प्रेम भएकै रैनछ। मात्र एउटा सानो, क्युट बच्चा देख्दा आउने उत्साह मात्र रैछ। ऊ दूध खाँदाखाँदै निदाउँछ।
‘पैतालामा ट्वाक्क दुई औंलाले हिर्काउनू’, नर्स भन्छिन्। म त्यसै गर्छु। ऊ बिच्किएको निद्रासहित पुनः दूध चुस्न थाल्छ। उसले दूध खाइरहँदा मलाई खटपट हुन्छ।
म उसलाई एनआईसीयूमा छाडेर आफ्नो बेडमा आउँछु। यसैगरी बित्छन् दिनहरू मानौं घाइते कछुवा हिँडिरहेछ। डाक्टर, नर्स त चिनिने नै भयो, यहाँ आउने कोठा सफा गर्ने दाइ र दिदीहरू, वल्लोपल्लो बेडका अरू प्रेग्नेन्ट र सुत्केरी अनि तिनीहरूका आफन्तहरू पनि चिनिन्छन्। चिनिन्छन् लिफ्टबाट तलमाथि ओहोरदोहोर गर्दा भेट भइरहने अरू वार्डका ठीक हुँदै गरेका बिरामी र बिरामी कुरुवाहरू। कतिसित नबोले पनि हाँसो साटासाट हुन्छ। कतिलाई नचिने पनि परिचित झैं मुस्कुराउन मन लाग्छ।
दुई तीनजना आफ्नै छेउमा सुत्केरी भईकन सन्तान च्यापेर डिस्चार्ज भइसके। यो दृश्य देख्दा र आफूले एनआईसीयूबाट हातमा बच्चा नपाएको यथार्थ महसुस गर्दा मन कति भक्कानिन्छ, भनिसाध्य छैन।
छोरा हात नपरुन्जेल कहिले एक्लै रोएँ। कहिले ऊसको काँधमा टाउको अड्याएर रोएँ। दस दिनपछि छोरो हात पर्यो। खुसीले रोएँ। फेरि पनि बुझे— आमाहरू किन धेरै रुन्छन्। किन रुन्छन् छोराछोरीको दुःखमा पनि र किन रुन्छन् छोराछोरीको खुसीमा पनि ?
अझै चार दिन बस्नुपर्ने भो। छोरो हात परेपछि मेरो व्यस्तता बढ्यो। मेरो प्रमुख काम उसलाई काखमा राखेर दूध ख्वाउने।
आश्चर्य लाग्छ घरिघरि, सानो चिटिक्कको मासुको डल्लोजस्तो छोरातिर हेरेर। ऊ टुलुटुल आँखा हेथ्र्यो। यसले देख्ने दृश्य कस्तो होला ? ऊ निदाउँछ मस्तैसित। के यसले सपना देख्छ होला ? ऊ रुन्छ उस्तै च्याँच्याँ गरेर। के अप्ठ्यारो भएर रोयो होला ? म उसको केही बुझ्दिनँ। म को हुँ उसको ? के उसले बुझ्छ होला ? ऊ के के नबुझिने आवाज निकालिरहन्छ, म पनि ऊसँग बोलिदिन्छु, आफ्नै लवजमा। जसरी उसले के भनेको म बुझ्दिनँ, के उसले पनि मैले बोलेको केही बुझ्दैन ?
मैले बुझ्ने त उसको एउटै आवाज छ। म बुझ्छु, उसलाई उसको रुवाइबाट।
अब बिस्तारै, उसलाई काखमा लिएर दूध ख्वाउँदा मात्र होइन, उसका हरेक क्रियाकलापमा म उत्सुक र उत्साहित छु। उसले फेरेको हरेक सासलाई नियाल्छु। बिस्तारै ऊ मेरो छोरा हो भन्ने भाव मभित्र पलाउन थालेको छ। मातृत्वको अनुभव हुन थालेको छ।
मलाई साथीहरू प्रश्न गरिरहन्छन्, ‘आमा हुँदा कस्तो हुने रैछ ? ’
‘आमा बनेपछि र बन्नुअघि के के फरक पर्ने रैछ ? ’
‘अब त घुमघाम गर्न छाड्ने होला नि !’
म पनि त आफैंलाई प्रश्न गरिरहन्छु— यी सबै प्रश्न जुन मलाई मेरा साथीहरू गर्ने गर्छन्।
कति पटक छोरालाई दूध खुवाउँदा खुवाउँदै म टोलाइरहन्छु। यस्तै प्रश्नको समाधानका लागि म आफैंभित्र यात्रा गर्ने गर्छु। के पाएँ त मैले आमा भएर ? अनि आमा भएपछि गुमाएको कुराको हिसाब किताब गर्न पाइन्छ कि पाइँदैन होला ? हुन त मलाई महान् आमा बन्ने लोभ पटक्कै छैन। यही भएर म गुमाएका कुरा पनि सोचिबस्छु। तर पनि किन किन पाएकै कुराले मन जितिदिन्छ। गर्छु भन्दा पनि हिसाबकिताब गर्न मन लाग्दैन यो विनिमयको। सोच्छ, यी यस्तै मन्थनपछि आउँछन् अनेक कुरा। कहिलेकाहीँ आफ्नो समयको बारेमा पनि सोची बस्छु। आफ्नो भागको सारा समय छोरालाई दिँदा दिँदा धेरै कुरा गुमाएको पक्कै हो। फस्ट सेमेस्टरमा ‘ए माइनस’ आएको म अब ए माइनस कहिल्यै नआए पनि छोरा ‘ए वान’ जन्माएँ भनेर खुसी भएकी पक्कै हुँ।
आमा भएपछि त हो मैले आफैंले आफैंलाई बढी चिनेको। त्यसपछि त हो मैले साँचो प्रेमलाई अझ नजिकबाट नियालेको। आमा भएपछि त हो मैले मलाई प्रेम गर्ने मान्छे यति धेरै रैछन् भनेर थाहा पाएको। अनि आमा भएपछि होइन त आफू पनि यति बलियो छु भन्ने ‘सिक्रेट’ थाहा पाएको ! छोरालाई छ महिनासम्म आफ्नै दूध खुवाउँदै गर्दा हो मैले यो सब थाहा पाएको। एउटा जीवन उत्पादन गर्न मात्र होइन, त्यसलाई बचाउने असाधारण क्षमता ममा छ भन्ने थाहा पाएको। छोरालाई हेर्छु, यसका लागि कैयौं रातको निद्रा त्याग गर्ने क्षमता छ मसित। अप्रेसन थिएटरमा आफू काटिँदै छु भन्ने थाहा पाउँदा आफ्नो शरीर काटिनुभन्दा ऊ सकुशल हुनुसँग बढी डर थियो। अनि त हो मैले साँचो प्रेम के हो थाहा पाएको। यो हदसम्म पनि कसैसँग प्रेम हुन्छ भन्ने थाहा पाएको। यो हदसम्म त मैले छोराको बाउलाई पनि प्रेम गरेँ कि गरिनँ, थाहा छैन। यो हदसम्मको प्रेम त आफ्नै आमालाई पनि गरिनँ होला।
मलाई कतिजनाले प्रेम गर्छन् ? यति नै बेला हो, मैले थाहा पाएको मेरो टिनएजर भान्जीले मेरो रगत लत्पतिएको प्याड आफ्नो हातले फाल्दा। मेरो हातखुट्टामा तेल मालिस गरिदिने सासूआमा र आमाजूले आमाले भन्दा कम नगरेको प्रेम सम्झिँदा। मेरो छोराका लागि मेरो साथीले एनआईसीयूमा गएर गरेको झगडा होस् या बिहानको चिसो पनि हराउन नपाउँदै मेरा लागि तातो जेरी ल्याइदिँदाको क्षण होस्। यति नै बेला त हो मेरो श्रीमान््ले आफूलाई नै दुखेझैं प्रेम गरेको।
मेरी जेठानी, बहिनी, देवरानी र भाउजूले मेरो प्रेग्नेन्सीदेखि डेलिवरीसम्म आमाको कमी हुन नदिएको। वास्तविकतामा कहिल्यै नभेटेका दिदी र साथीहरूले इन्स्टाग्राममा म आमा भएको कुरालाई चासो र सल्लाहको सन्देश पठाएको।
अनि आमाको माया ? त्यसको कुरा के गर्नु ? मैले मेरो काखमा भएको छोरालाई गरेजस्तै त होला !
यति नै बेला हो मैले थाहा पाएको, कि म एउटा नाउ रैछु, जो जुन दिशामा फर्कियोस्, देख्छ त प्रेमैप्रेमको महासागर। उहाँहरू सबै मेरो आमा बन्ने यात्रामा सहयात्री हुनुभएको।
०००
आमा हुनु भनेको हृदयमा प्रेमको विराट् वृक्ष स्थापित हुनु रैछ। बिस्तारै मैले छोरालाई प्रेम गर्न थालेकी छु। छोरालाई मेरो काख सानो हुँदै जानुले मनभित्र ऊप्रतिको प्रेम ठूलो भइरहेछ। छोराको धरती ठूलो हुँदै जानुले मेरो मातृत्वको आकाश पनि फैलँदै छ।
जोसुकैसित होस्, प्रेम एकैचोटि हुने चीज होइन रहेछ। प्रेम हुनु भनेको घर बनाउनुजस्तै रैछ। एउटा इँटामाथि अर्को इँटा थप्दै लैजानुजस्तो रहेछ। आज अलिकति भयो। भोलि बढ्यो। भोलिभन्दा पर्सि झन् बढ्यो। छोरा जन्मिएपछि नै हो, उसलाई सँगै म आफैंलाई पनि खुब प्रेम गर्ने भएकी छु।
@Anum8e रसायनशास्त्रमा स्नातकोत्तर अध्ययनरत छिन्।