मानन्चः दुर्योधने... भनेको के हो ?

मानन्चः दुर्योधने... भनेको के हो ?

दसैंमा जब आफूभन्दा ठूलाले ‘आयु द्रोण सुतेः ....’ भनेर सुरु गरी ‘...मानन्चः दुर्योधने..’ भन्दै निधारमा टीको लगाएर आशीर्वाद दिनुहुन्थ्यो, त्यतिखेर त्यसको कुनै अर्थ बुझिँदैनथ्यो। अग्रजहरूले पनि त्यसको शुद्ध उच्चारण नगरेकाले बालमनस्थितिमा हाँसउठ्दो कुरोजस्तो लाग्थ्यो।

ठूलो हुँदै जाँदा त्यसको उच्चारण र अर्थ बुझ्दै आउन थालियो। महाभारतका कथा र त्यसका पात्रहरूसमेत बुझ्न थालियो। कथा एउटा निश्चित ‘फम्र्याट’मा सुनिन्थ्यो, जसमा पाण्डवहरू सत्यवादी र कौरवहरू सबै अधर्मी। पाण्डवहरू धर्मभिरु, कौरवहरू अत्याचारी। अर्जुन शक्तिशाली, दुर्योधन अभिमानी। यी र यस्ता कुराहरूले मेरो मन पनि त्यसैअनुरूप ढलेकै हो।

जब दसैंको टीकाको अर्थ बुझ्न थालेँ, त्यतिखेर मलाई त्यस कुरामा केही न केही नमिलेको जस्तो लाग्यो। ‘सत्यन्तः कुन्ती सुतेः’ अर्थात् कुन्तीका छोरा (युधिष्ठिर) जस्तो सत्यवादी हुनु’ भन्ने आशीर्वाद नै मलाई गलत लाग्यो। युधिष्ठिरले बोलेको एउटा सत्यले आफ्ना कुरा मारिन्छन्। हरेकका जीवनमा पाँच प्रकारका पिता हुन्छन् भनिन्छ— जन्म दिने, शिक्षा दिने, पुत्र वा पुत्री दिने, भूमि दिने र रोजगार दिने।

जीवनभर सत्य बोलेर पनि आफूलाई नै सबैभन्दा बढी प्रेम गर्ने, आफ्ना लागि सब ैथोक अर्पिने पिताकै ज्यान लिने सत्य, के सत्य ? त्यसैले मलाई त्यो आशीर्वाद फिक्का लाग्यो।

त्यसैगरी ‘शत्रु क्षयं राधवे..’ भन्ने आशीर्वाद आउँछ। अर्थात्, शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस्। त्यति धेरै शत्रु पनि किन नास्नु ? जसले गर्दा जीवन नै एक्लो होस्।

जीवनमा अरूको अस्तित्व रह्यो भने पो आफू हुनुको पनि अर्थ रहन्छ। युद्धपछि कृष्णको जीवन उल्लासमय थियो त ? थिएन। अर्को पक्षबाट सोच्दा शत्रु नै किन पो बनाउनु ? किन मान्नु ? आफूलाई शत्रु लागेकाहरूको नजरबाट आफू पनि शत्रु नै भइन्छ होला।

यो शत्रु र शत्रुताको उत्पादन हुने मार्गमा नै किन हिँड्नु ? त्यसैले त्यो आशीर्वाद पनि मलाई उपयोगी लागेन।

त्योभन्दा ठूलो संकट त मलाई त्यो आशीर्वादले लगाउन थाल्यो, जुन ‘..मानन्चः दुर्योधने ..’ भनेर पाउने गर्थें। महाभारतको कुरा निस्किँदा दुर्योधन जति खराब कोही छैन भनेर व्याख्या गर्नेहरू दसैंमा ‘दुर्योधनको जस्तो मान होस्’ भनेर आशीर्वाद दिन्थे। मलाई लाग्थ्यो— कि यो आशीर्वाद गलत छ, कि त दुर्योधन।

त्यसैले मैले त्यसप्रति अलिक बढी चासो राख्न थालेँ। बुझ्दै जाँदा कुरुक्षेत्रमा पराजित भएकै कारणले दुर्योधनप्रति अलिक बढी अन्याय भएजस्तो लाग्यो। मलाई लाग्यो— सत्यले सधैं जित्छ भन्ने छैन। जसले जित्छ, त्यसैलाई सत्यको व्याख्या गर्छौं हामी।

महाभारतको कुरा निस्किँदा दुर्योधन जति खराब कोही छैन भनेर व्याख्या गर्नेहरू दसैंमा ‘दुर्योधनको जस्तो मान होस्’ भनेर आशीर्वाद दिन्थे। मलाई लाग्थ्यो— कि त यो आशीर्वाद गलत छ, कि त दुर्योधन।

दुर्योधन लेख्न मन थियोे, तर त्यसको लेख्ने आधार भेटिरहेको थिइनँ। लागिरहेको थियो, दुर्योधन पक्षबाट लेख्दा लेखन तटस्थ नहुन सक्छ। पूर्वाग्रही हुनसक्छ। त्यसै बेला ‘राधा’ उपन्यास बजारमा आयो। त्यस पुस्तकको अन्तिम हरफले लेखन-आधार तयार गर्‍यो।

अश्वत्थामाका विषयमा अध्ययन गर्न थालेँ। जब अश्वत्थालाई बुझ्न थालेँ, वर्तमान राजनीतिसँगको समानता पो भेट्न थालेँ महाभारतभित्र। ‘मुनामदन’को पीडा त उहिल्यै द्रोणले भोगिसकेका रहेछन्। आज पेटका लागि वैदेशिक रोजगार गएर पनि सर्वस्व गुमाउनेकोे पीडाभन्दा कम कहाँ रहेछ र द्रोणको परिवारको पीडा।

अहिलेको मातृसत्ता र पितृसत्ता स्थापनाका लागि भइरहेको अन्तद्र्वन्द्व रहेछ त्यस बेला पनि। अहिले राजनीतिक वृत्तमा उठेको पिताको पहिचानबेगर नै महिलाले सन्तान जन्माउन पाउनुपर्ने माग, उतिखेरका पाण्डवहरूको जन्मसँग मिल्दैन र ? त्यतिखेरका पात्रहरूको पहिचान आमासँगै त जोडिएर आएको रहेछ— गंगापुत्र, दासीपुत्र, गान्धारीपुत्र, कुन्तीपुत्र इत्यादि।

जातीय अपमान र अभिमानका घटनाहरू, त्यसविरुद्ध त्यस बेला दुर्योधनले उठाएका कदमहरू र उनी अल्पमतमा परेको अवस्थासँग अहिले घटेका घटना-दुर्घटनाहरू मिल्दैनन् र ? शक्तिलाई पारिवारिक जञ्जालभित्र समेट्ने त्यस बेलाका योजनाहरू अहिलेको नेपाली संसद्भित्र देखिएका परिवारभित्रका सदस्यहरू मात्र अँटेका परिवेशहरू। दुःख गर्ने राजनीतिक कार्यकर्ता पाखा लागेर दलहरूभित्र स्थापित वंश परम्पराहरू। सत्ताका लागि भएको त्यस बेलाको खिचातानी, हत्या, अपराधहरू र अहिलेको परिस्थिति। यी सबै उस्तैउस्तै लाग्दै आए।

पुस्तकका सबै आधार तयार भयो। ‘प्लट’हरू लेखिए। तर पनि मैले किताबलाई पूर्ण गर्ने आँट गर्न सकिनँ। किनकि धेरै वर्षदेखि सत्य लागेका मान्यताहरू यस कृतिले भत्काउने थियो। यसले गर्दा कसैको आस्थामाथि चोट पुग्ने थियो, कसैले देउता मानेकाहरू अचानक कसैद्वारा परिचालित साधारण पात्रजस्ता मात्र लाग्ने थियो।

त्यसैबीच राजनीतिक व्यक्तित्व राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’ बजारमा आयो। मैनालीको कृतिभित्र उहाँको राजनीतिक जीवनका उतारचढावहरू छन्, तर एउट गम्भीर प्रश्न त्यहाँ भेटेँ मैले। जनअन्दोलन चलिरहेको अवस्थामा पाटनको च्यासलमा मालेको केन्द्रीय समितिको बैठक बस्यो। त्यहाँ माधव नेपालले आन्दोलनलाई उचाइमा पुर्‍याउन भारतले सशस्त्र विद्रोहका लागि हतियारसहित मान्छे पठाउने प्रस्ताव राख्छन्। महासचिव मदन भण्डारीले स्वाभिमान लुट्ने गरी विदेशी सेना भित्रिने प्रस्ताव नल्याउन भन्छन्।

त्यसपछि अर्कोपटक फेरि माधव नेपालले बैठकमा प्रस्ताव लान्छन्। त्यस बेला सशस्त्र विद्रोहका लागि भारतले भारतीय नागरिक होइन, नेपाली गोर्खा सैनिक पठाउने प्रस्ताव गरेको बताउँछन्। त्यो कुरा सुनेपछि महासचिव मदन भण्डारी रिसाएको र यस्ता कुरा ल्याएमा कारबाही हुन सक्ने कुराले सचेत गराउँछन्। त्यो घटना भएको केही समयपछि मदन भण्डारी मारिन्छन्।

त्यो पढेपछि ‘अश्वत्थामा’लाई पूर्ण गर्नुपर्छ भन्ने दृढता जाग्यो। किनभने देशका महत्वपूर्ण व्यक्तिहरू दिनदहाडै मारिँदै गएका छन्। समयचक्रभित्र राजपरिवार वंश नै मारिन्छ। राज्यको यत्रो ठूलो संरचना जसभित्र लाखौं व्यक्ति राज्य सुरक्षाका लागि अहोरात्र खटेका छन्, तर राजसंस्था मासिँदासमेत सत्यतथ्य बाहिर ल्याउन सक्दैन।

एकलव्यजस्ता लाग्ने मदन भण्डारी मारिँदा हत्यारा पत्ता लाग्दैन। यी घटनाहरू कतै कुरुक्षेत्र युद्धका लागि तयार गरिँदै आइएको आधारभूमि जस्तो त होइन ? त्यसैले यो कृति लेख्नुपर्छ जस्तो लाग्यो।

महाभारतमा निरपेक्ष लाग्ने कृष्णको सापेक्ष भूमिकाले युद्ध निम्त्याएको सबैलाई थाहा छ। कृष्णले युद्ध किन चाहे भन्ने विषय कहीँ खुल्दैन। संसारमा असत्य केही छैन। सबैको आआफ्ना सत्य र आआफ्नो धर्म छ। कृष्ण मात्रको एक्लो सत्यलाई सर्वसत्यवान् नमान्दा नै युद्ध भएको छ। त्यो युद्धको मुख्य सूत्रधार को हो ? कहीँ खुल्दैन। हाम्रो देशमा पनि सशस्त्र विद्रोहको मुख्य सूत्रधार को हो ? अहिले पनि प्रश्नवाचक छ। युद्धमा सहभागी पक्ष र विपक्षकाहरू कोही दुर्योधनजस्ता र कोही अर्जुनजस्ता, कोही कर्णजस्ता र कोही अश्वत्थामाजस्ता मात्र भए। तर त्यो गराउनेचाहिँ को हो ?

महाभारतमा करोडौं सर्वसाधारण मारिए, जसको कुनै इतिहास छैन। उनीहरूले मरेर के पाए ? त्यसको पनि हिसाब-किताब छैन। हरेक युद्धमा मारिने सर्वसाधारण जसको कसैप्रति पनि कुनै व्यक्तिगत आग्रह वा पूर्वाग्रह हुँदैन, मृत्यपछि उसले र उसको परिवारले प्राप्त गर्ने उपलब्धि के हो ? शान्तिका नाममा गरिने युद्धले मुर्दाशान्तिबाहेक के ल्याउँछ ? यावत् प्रश्नहरूको उत्तर खोज्ने क्रममा यो कृति तयार हुँदै गयो।

वर्तमान अवस्थामा हामीले परिकल्पनै नगरेका घटनाहरू राजनीतिक वृत्तमा हुँदै आइरहेका छन्। आमनागरिकले कहिल्यै नउठाएका मुद्दाहरू अचानक घोषणा भएका छन्। आन्तरिक राजनीतिको उथलपुथल देशबाहिरकै बागडोरबाट हुने गरेको छ। नागरिकका आवाजअनुरूप कहिल्यै देश चल्दैन। राजा महेन्द्रदेखि सुशील कोइरालासम्म कोही अमूक घटनाद्वारा मारिएका हुन् भन्ने मधुरो हल्ला फैलिएको छ। यी सबै दुर्घटनाको अमूक सूत्रधार को हो ? कतै महाभारत कथाभित्र हराएका राज्यहरूजस्तै लामो योजनाभित्र त छैनौं हामी ? आफू युवराज हुने लालसामा फसेका युधिष्ठिर र दुर्योधनहरूलाई एकआपसमा लडाएर अरू कोही आफ्नो स्वार्थ साध्न लागेको त छैन ? यी प्रश्नहरूबाट उब्जिएको कृति हो, ‘अश्वत्थामा’।

[email protected]
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.