फुकुयामाको फुइँ
तेस्रो जापानी पुस्ताका अमेरिकी नागरिक फ्रान्सिस फुकुयामा हाल स्ट्यानफोर्ड विश्वविद्यालयको राजनीतिशास्त्र विभागमा प्राध्यापन तथा अनुसन्धान गर्छन्। सन् १९८९ मा अमेरिकी म्यागेजिन ‘नेसनल इन्ट्रेस्ट’मा फुकुयामाको निबन्ध ‘दी एन्ड अफ हिस्ट्री’ प्रकाशित भयो। यो निबन्धमा तिनले साम्यवादी शासन प्रणालीको पतन हुने भविष्यवाणी गरेका थिए। संयोग हो वा के, उक्त लेख छापिएपछि साम्यवादी सरकारहरू एकपछि अर्को गरेर ढल्न थाले।
फुकुले गरेको भविष्यवाणी साकार भएको कारणले गर्दा उनी तथा उनको निबन्ध विश्वव्यापी रूपमा चर्चित भयो। उक्त निबन्धमा आधारित आफ्नो विचारलाई ‘दी एन्ड अफ हिस्ट्री एन्ड दी लास्ट म्यान’ पुस्तकका रूपमा तिनले प्रस्तुत गरे। उक्त पुस्तकले विश्वमा तहल्का मच्चायो। पुस्तकको सफलताले फुकुयामालाई विश्वको अग्रपंक्तिको राजनीतिशास्त्रीका रूपमा स्थापित गरिदियो।
इतिहासको अन्त निबन्धमा तिनले साम्यवादी शासन प्रणालीको अन्त हुने भविष्यवाणी गरेका थिए। यसरी नै पुस्तकमा भने साम्यवादउपर उदारवादी लोकतन्त्रले विजय प्राप्त गर्नुका कारण प्रस्तुत गरेका थिए।
इतिहासको अन्त पुस्तक लोकतन्त्रले अन्य वैकल्पिक शासन प्रणालीमाथि गरेको विजयसम्बन्धी प्रस्तुति हो भने प्रस्तुत पुस्तक पहिचान स्थापनाको बढ्दो मागका कारणले लोकताान्त्रिक पद्धतिमाथि मडारिन थालेको कालो बादलका विषयमा हो।
प्रथम पुस्तकमा फुकुयामा आशावादी थिए भने दोस्रोमा केही हदसम्म निराशावादी।
साम्यवादी प्रणालीको पतनसँगै सुरु भएको भूमण्डलीकरणले दुई दशकभन्दा लामो अवधिमा विश्वले अभूतपूर्व आर्थिक उन्नति गर्यो। करोडौंको संख्यामा मानिसहरू विपन्नताको चंगुलबाट उम्कन सफल भए। तर आर्थिक उन्नतिको प्रतिफलहरू भने विश्वभरि सामानरूपले वितरण हुन सकेन। धनी र गरिबबीचको खाडलको फेरो फराकिलो हुँदै गयो। त्यसैसँग सम्पन्न र विपन्नबीचको सामाजिक विभेद विस्तारित भए। बढ्दो विभेदले विगतको कालखण्डमा सुषुप्त अवस्थामा रहेको ‘पहिचान’को मुद्दा स्थापित हँदै गएको हो।
फुकुयामाको धारणामा सबैले आफूलाई अन्यभन्दा पृथक् भएको सोच राख्छन्। पहिचानको उत्पत्ति कुण्ठित र दमित रहेको आफू र बाहिरी संसारबीचको लिखित तथा अलिखित नियम-कानुन तथा आर्थिक-सामाजिक अवस्था आदिमा अन्तर्निहित भएको हुनाले गर्दा भएको तिनको ठहर छ।
बहुसंख्यकको थिचोमिचो तथा तिनले सञ्चालन गरेको निषेधित राजनीतिको मारमा परेका अल्पसंख्यकहरू धेरै मुलुकहरूमा थप पिल्सिन थालेका छन्।
व्यक्तिको आत्मसम्मानको भावलाई अन्यले ठेस पुर्याउन थालेपछि नै पहिचानको भाव चुलिन थाल्छ। अर्थात् हेपेको बोध हुन थालेपछि मानिसको आत्मसम्मानको भावमा ठेस लाग्छ। कुण्ठित र दमित रहेको भाव विद्रोहको रूपमा विस्फोटन हुन्छ।
त्यसो त जोसुकैलाई पनि आफ्नो आन्तरिक वा अन्तरआत्माको परिवर्तनभन्दा समाजको परिवर्तनको चाहना बढी हुने गर्छ। विगत केही वर्षदेखि प्रचलनमा आउन थालेको सस्तो लोकप्रियता आर्जन गर्ने राजनीति हाबी भएको परिप्रेक्ष्यमा अरूबाट आदरसम्मान खोज्ने तथा आफ्नो महत्व अरूले बुझून् भन्ने चाहना राख्नेहरूको वर्चस्व बढ्दै छ।
म अन्यभन्दा पृथक् छु। मेरो देश अन्य देशहरूभन्दा गौरवशाली छ। विगतमा गुमेको गौरव फिर्ता ल्याउने मेरो अभियान हो जस्ता राष्ट्रवादी भाव चुलिँदै जाँदा अन्यप्रतिको आदरसम्मानमा ह्रास आउन थालेको छ।
पुस्तकको सुरुआतमै फुकुयामाले ‘सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित नभएको तथा ब्रिटेनले युरोपियन युनियनको सदस्यता त्याग्ने निर्णय नभएको भए पुस्तक लेखिने थिएन’ उल्लेख गरेका छन्।
तिनले दुवै घटनाहरूलाई पहिचान स्थापितसम्बन्धी राजनीतिको उदयको द्योतकका रूपमा प्रस्तुत गरेका छन्। लेखकले नवराष्ट्रवादको उदय तथा बसाइँसराइजस्ता कारणहरूले गर्दा पहिचानको मुद्दाले लोकतन्त्रसामु घातक चुनौती ल्याएको विश्वास गर्छन्।
फुकुयामाले पश्चिमी मुलुकहरूमा पहिचान राजनीतिको इतिहासलाई विश्लेषण गरेका छन्। तिनले प्लेटो, अरिस्टोटल, लुथर, हेगल, रुसो आदिका धारणाहरूको आधारमा वर्तमान कालखण्डको पहिचान स्थापित गर्ने घटनाहरूलाई जोड्ने सैद्धान्तिक आधार प्रस्तुत गरेका छन्। वर्तमान कालखण्डमा मौलाउन थालेको पहिचानको राजनीतिलाई तिनले आत्मसम्मान तथा समान व्यवहार केही कारणहरूले गर्दा एकअर्कोप्रतिको सद्भाव, अस्मिता, मानवअधिकार तथा विश्व भाइचारा स्थापित भएको थियो भन्ने तिनको बुझाइ छ।
पहिचानसम्बन्धी राजनीतिको आधार नश्ल, जातीयता, धर्म, रंगभेद, लैंगिक आदि हुने गर्छ भन्ने तिनको जिकिर छ। त्यस्ता भावहरूले विश्वव्यापी समानता तथा भ्रातृत्वजस्ता मूल्य-मान्यताहरूमा दखल तुल्याएको छ। बहुसंख्यकहरूले अल्पसंख्यकहरूलाई समावेश गर्नुको साटो बहिष्कारणतर्फ धकेल्ने गर्दा विद्रोह तथा वैमनस्यको भाव उग्ररूपमा रूपमा प्रस्तुत हुन्छ। जबकि लोकतन्त्र भनेको समानता, समावेशी, भ्रातृत्व तथा मानवअधिकारको सम्मान तथा विश्वास गर्ने पद्धति हो।
फुकुयामा पहिचानको स्थापनाका विरोधी नभएर त्यसप्रति सहानुभूति राख्ने व्यक्ति हुन्। तिनको तर्क छ, पहिचान आधारित राजनीतिले सम्भ्रान्तहरूलाई सीमान्तीकृतहरूले झेल्दै आएको समस्याहरूप्रति संवेदनशील हुन प्रेरित गर्छ। जसलाई पहिचानका विषयमा कुनै सरोकार हँदैन उनीहरूले विगतमा भएका कमी कमजोरीहरूको सही मूल्यांकनसमेत गर्न सक्दैन।
पहिचान स्थापनाको मुद्दा पौराणिक कालदेखि नै हँदै आएको भए तापनि वर्तमान कालखण्डमा भूमण्डलीकरण, इन्टरनेट, यन्त्रीकरण, ठूलो संख्यामा बसाइँसराइ, भारत-चीनको शक्ति राष्ट्रका रूपमा उदय, सन् २००८ को आर्थिक मन्दी, महिलाहरूको उत्थान तथा सेवा क्षेत्रका कार्यालयहरूमा महिलाले पुरुषहरूलाई विस्थापन, सिभिल राइट मुभमेन्ट, पिछडिएका समुदायहरूमा फैलिएको चेतना तथा गोराहरूको घट्दो वर्चस्व आदि कारणहरूले गर्दा सशक्त रूपमा सतहमा छताछुल्ल हुन थालेको हो। अमेरिकी राजनीतिमा वामपन्थीहरूले विगतमा आर्थिक समानतालाई महत्व दिन्थे भने दक्षिणपन्थीहरूले सरकारको न्यून भूमिका।
वर्तमान अवस्थामा वामपन्थीहरू सीमान्तीकृत हुँदै गरेका विभिन्न समुदायहरूको स्वार्थ हितका निमित्त समर्पित हुन थालेका छन्। दक्षिणपन्थीहरू राष्ट्रवादी मातृभूमिप्रतिको समर्पण भएका व्यक्तिहरूलाई समेटेर नयाँ राष्ट्रवादको प्रचारमा लाग्न थालेका छन्। दक्षिणपन्थीहरू धर्म, जातीयता तथा धर्मसँग जोडिएको राष्ट्रवादी छवि निर्माण गर्र्न लागिपरेका छन्। लोकतान्त्रिक तौरतरिकाले सच्चिनुको साटो लोकतन्त्रलाई नै कमजोर तुल्याउने कार्यमा क्रियाशील हँदैछन् दक्षिणपन्थीहरू। पुँजीवादी व्यवस्थाका कट्टर समर्थक फुकुयामाले त्यस्ता दक्षिणपन्थीहरूको हर्कतहरूले गर्दा लोकतन्त्र तथा पुँजीवादी व्यवस्थालाई नै धराशायी तुल्याउने सम्भावना देख्न थालेका हुन्।
पुस्तक पश्चिमा मुलुक खासगरी अमेरिका केन्द्रित छ। उग्रवादी इस्लामिकहरूको उदय, शरणार्थी तथा बसाइँसराइजस्ता समस्याहरूले पुस्तकमा अत्यधिक स्थान पाएको छ। फुकुयामाले पहिल्याएका समस्या तथा तिनले उठान गरेका मुद्दाहरूको सान्दर्भिकता भने विश्वव्यापी छ। पहिचानको राजनीतिले भारत, चीनजस्ता उदीयमान शक्ति राष्ट्रहरूलाई गाँजेको छ। बहुसंख्यकहरूको थिचोमिचोले तथा तिनले सञ्चालन गरेको निषेधित राजनीतिको मारमा अल्पसंख्यकहरू धेरै मुलुकहरूमा पिल्सिन थालेका छन्।
पुस्तक पढ्दै गर्दा नेपाली युवाहरूद्वारा लिखित पुस्तकहरूजस्तै प्रशान्त झाको ब्याटल अफ दी न्यु रिपब्लिक (२०१४), धुव्र सिम्खडा लिखित ‘मुलुकको मुहार’ (२०१७) दीपेन्द्र झा लिखित ‘फेडरल नेपाल ट्रायल्स एन्ड ट्रिबुलेसन’ (२०१८) वसन्त बस्नेत लिखित ‘७२ को विस्मय’ (२०७५) को स्मरण हुन्छ। फुकुयामाले उठाएका कतिपय मुद्दाहरू यी पुस्तकमा पाइन्छ। विभिन्न तप्काका नेपाली राजनैतिक वृत्त, नीति निर्माता तथा नागरिक समाजका सदस्यहरूले पढ्नुपर्ने पुस्तक हो यो।
पुस्तक : डिमान्ड फर डिग्निटी एन्ड दी पोलिसिज् फर रिजेन्टमेन्ट
लेखक : फ्रान्सिस फुकुयामा
प्रकाशक : प्रोफाइल बुक्स, २०१८
मूल्य : रु. ७९८-