पखेटा काटिएका गद्दार

पखेटा काटिएका गद्दार

पिँजडाको साँघुरो परिधिमा

रिसाइरहेको, छटपटाइरहेको चरा

हतपत बाहिर देख्न सक्दैन।

त्यसैले,

पखेटा काटिएको, खुट्टा बाँधिएको ऊ

गीत गाउन आफ्नो कण्ठ खोल्छ।

माया एन्जेलोको ‘सेकर, ह्वाई डोन्ट यु सिङ ? ’ कवितासंग्रहमा समाविष्ट ‘केज्ड बर्ड’ कविताको अंश

‘तिमी किन गाउँदैनौ ? ’

‘पिँजडामा राखिएको चरा किन गाउँछ ? ’

माया एन्जेलो काव्यात्मक प्रश्न गर्छिन्। यी प्रश्न वर्तमान भारतको सामाजिक-राजनीतिक परिवेशसँग धेरै मेल खान्छन्। केही विद्रोही आवाज दबाउन तत्पर देखिएको राष्ट्रमा एन्जेलोका कविता सान्दर्भिक लाग्छन्।

महाराष्ट्रका कवीर कला मञ्चका कलाकारमाथिको ज्यादती, तामिलनाडुका लोकगायक कोवनको गिरफ्तारी, झारखण्डका जितेन मरांडीमाथि लागेको अभियोग भारतमा कलाकारको स्वतन्त्रतामाथि भएका हस्तक्षेपका केही उदाहरण मात्र हुन्। मरांडीमाथि त ‘कोर्ट’ शीर्षकको फिल्म नै बनाइयो। धेरै अवार्ड यसका पोल्टामा परे।

उत्तेजक वक्तव्य दिएको, दुई समुदायबीच वैमनस्य पैदा गरेको र नक्सलवादीहरूसँग सम्पर्क बढाएको भन्दै महाराष्ट्र प्रहरीले गत वर्ष कवीर कला मञ्चका कलाकारमाथि एफआईआर दर्ता गर्‍यो।

मुख्य कारण अर्कै थियो। शासकलाई तिनको गायन बिझाएको थियो।

गायन क्रान्ति हो। राज्यका दृष्टिमा उत्तेजक भाषा हो, उक्साइको चरम प्रवृष्टि हो। गीतलाई विद्रोहको पर्याय बन्न समय लाग्दैन। गीत गाएरै विद्रोही भएका एक पात्र हुन्, गद्दार। पिँजडाका अरू चराका तुलनामा यिनको पखेटा बढी काटिएको छ।

‘गद्दार’ उर्दु शब्द ‘गदर’बाट आएको हो। गदर अर्थात् विद्रोह। अमेरिका र क्यानडाका आप्रवासी पञ्जाबीले सन् १९१३ मा बेलायतविरुद्ध गरेको गदर अन्दोलनपश्चात् प्रयोगमा आउन थालेको यो शब्द अपभ्रंश भई एक व्यक्तिको पहिचान बन्न पुगेको छ।

यिनको वास्तविक नाम त गुम्मदी विट्टल राव हो। ७० वसन्त पार गरिसकेका यी अद्वितीय तथा विद्रोही स्वभावका कलाकार तेलांगनामा ‘गद्दार’ भनिन्छन्। तेलुगुभाषीमाझ यी दिव्य चरित्र हुन्।

यिनै गद्दार छुवाछूतमा पिल्सिए, ज्यालादारी मजदुरका रूपमा काम गरे, जंगलमा भूमिगत भए। पिँजडाभित्रको चराभन्दा यिनको हविगत कम भएन। शरीरमा बन्दुकको गोली दागिएन कि, नजिकबाट मृत्युसँग साक्षात्कार भएन कि ?

गद्दारको जन्म स्वतन्त्र भारतमा भयो। सांस्कृतिक रूपमा कट्टर भारतीय समाजमा दलितका लागि स्वतन्त्रताको अर्थ के थियो भन्ने कुरा खोज्न अहिलेसम्म उनी संघर्ष गरिरहेका छन्। त्यसैले उनका गीत र व्यंग्य विरोधाभाषपूर्ण समाजको सूक्ष्म अवलोकनसहितका हुन्छन्।

‘साथी म स्वतन्त्र भारतमा जन्मिएको हुँ। ७० कटिसकेँ। मेरो देशमा मेरै समुदायका मान्छे उत्पीडनमा पर्दा वास्तविक स्वतन्त्रताको अर्थ खोज्न लागिपरेको छु’, उनी गीतमार्पmत भन्छन्।

हामीले देखेजानेको गद्दारको व्यक्तित्व औपचारिक कुराकानीका क्रममा उनी देखाउँदैनन्। व्यक्तिगत कुरा कहिल्यै गर्दैनन्। मैले यस्तो गरेँ, यस्तो गरिनँ कहिल्यै भन्दैनन्। ‘गद्दारलाई किन सुन्ने ? क्रान्तिकारी आन्दोलनमा किन समेल हुने ? बरु यो पत्ता लगाउनुस्’, उनी उल्टै सुझाव दिन्छन्।

सांस्कृतिक रूपमा कट्टर भारतीय समाजमा दलितका लागि स्वतन्त्रताको अर्थ के थियो भन्ने कुरा खोज्न अहिलेसम्म उनी संघर्ष गरिरहेका छन्।

सोचेँ, यिनले आत्मकथा कहिल्यै नलेख्लान्। जीवनी लेखिए पनि यिनको व्यक्तित्वअगाडि फिक्का नै होला। विद्रोहीको जीवनी लेख्नु भनेको भाषा र जीवनी लेखन विधाका नियमलाई नै भत्काउनु हो। र, उनी यस्ता आइकन हुन् जसले लगातार भाषाको संरचना भत्काइरहे। उनले तेलुगु कवि श्री श्रीलाई आममानिसको भाषामा लेख्न प्रभावित पारे भन्ने किस्सा चर्चित छ।

उनले कति बेला आफ्नो अनुभवलाई कथन बनाउँछन् र तिनलाई समेटी काव्य सिर्जना गर्छन् भन्ने थाहा पाउन गाह्रो पर्छ। कविलाई बन्धक बनाउन सकिन्न। ऊ कुनै विधामा अटाउँदैन। एक-एक गरी प्रश्न सोध्ने र ठ्याक्क-ठ्याक्क उत्तर दिने सत्रका लागि ऊ उपयुक्त हुँदैन।

त्यसैले जब कवि बोल्छ, उसलाई बोल्न दिऔं। जब सुन्छ, सुन्न दिऔं।

‘तपाईं जेएनयूबाट हो, प्रोफेसर रिसर्चर वा अरू केही हो भन्ने बिर्सनुस्’, उनी भन्छन्, ‘अब गद्दारबारे सुन्नुस्।’

गद्दार खुसी र दुःख दुवैमा गाउँछन्। छट्पटाउँदा गाउँछन्, पीडामा गाउँछन्। झोँक चल्दा गाउँछन्, मन छियाछिया हँदा गाउँछन्। कसैको स्मृतिमा गाउँछन्, कसैको न्यायका लागि गाउँछन्। पिँजडाबाट फुत्किन पाउँदा हर्षित चराको कल्पना गर्दै गाउँछन्, मौनता तोड्न गाउँछन्। मात्र गाउँछन्।

गाउँदा उनी आफैंलाई फेला पार्छन्, अरूलाई पनि सम्मोहित गर्छन्। सबै विद्रोहीका आवाज बनूँ भन्ने हिसाबले गाउँछन्। तेलुगुभाषीका लागि गाउने गदरानामा समानता र न्यायको ध्वनि गुन्जियोस् भन्ने सोच्छन्। क्रान्तिको जन्म र क्रान्तिकारीको मृत्युबारे गाउँछन्। उनी गद्दार यसरी नै बनेका हुन्।

सन् १९९७ मा उनीमाथि आक्रमण भयो। गोली लागी जीवन र मृत्युको दोसाँधमा लडिरहँदा पनि गाउन छोडेनन्। हरेक पटक गाउँदा आपूm विद्रोहको लयले बनेकोे सिद्ध गर्छन् उनी।

जातीय व्यवस्थाबाहिर गैरभारतीय समाजमा जन्मिएका भए सायद उनी फेडिरिको गार्सिया लोर्काजस्तै बन्थे। ‘गद्दार हामीले नचिनेका, पर्याप्त बहस नगरेका बब डिलन हुन्। अझ सांस्कृतिक प्रतीक नै हुन्’, कार्तिक वेंकटेसले उनीबारे भनेका थिए। संसारका तमाम प्रतिबन्धित कलाकारबारे गुगल गर्दा भेटिन्छ। तर, गद्दारको कथा यति भव्य हँदाहँदै पनि भेटिँदैन।

लेबनानका वालिद राडदेखि बेलायतका बिटल्स र भारतकै मकबुल फिदर हुसैनसम्मका प्रतिबन्धित कलाकार हामीलाई प्रिय लाग्छन्। तर, गद्दारको प्रतिबन्ध बहसको विषय नै बनेन। उनीमाथि लगाइएको जस्तो प्रतिबन्ध भारतमै पनि अरू कलाकारले भोगेका छैनन्।

आपूmबारे केही लेखियोस् वा नलेखियोस्, गद्दार पर्वाह गर्दैनन्। उनलाई मात्र मानिसका सम्झनामा जीवित रहनु छ। ‘तपाईंले नलेख्दैमा केही फरक पर्दैन। पण्डितले कहिल्यै कबिरबारे लेखेनन्। तर पनि कबिर मानिसको हृदयमा फुलिरहेका छन्’, उनी ममाथि आक्रोश व्यक्त गर्छन्, ‘माथिल्लो जातकाले सन्त तुकारामका सिर्जना मौलाउन नदिने प्रयत्न गरेका होइनन् ? सफल भए त उनीहरू ? ’

उमेर बढ्दै गए पनि गायनप्रतिको उनको आशक्ति घटेको छैन। तीस वर्ष नपुग्दै नक्सलवादी आन्दोलनमा होमिएका उनी त्यहीताका हैदराबादको आर्ट लभर्स एसोसिएसनको सम्पर्कमा आए। उक्त समूहमा विभिन्न चलचित्रकर्मी, रंगकर्मी र सांस्कृतिक अभियन्ता आबद्ध थिए। समयक्रममा त्यो समूह क्रान्तिकारी लेखक संघसँग नजिक हुँदै गयो। दुवै गाभिएर जननाट्य मण्डली थालनी गरे।

र, त्यो नै नयाँ समयको प्रारम्भ थियो जसले गुम्मदी विट्टल रावलाई गद्दारमा परिणत गर्‍यो।

लेखक स्कुल अफ आर्ट्स एन्ड एस्थेटिक्स, जेएनयूका सहायक प्राध्यापक हुन्। लेख ‘डेलिओ’मा प्रकाशित छ। उल्था : रवीन्द्र ढकाल @dhakal_rabindra .
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.