पुस्तकद्वेषी कुटिल तरबार
मेरो दुर्लभ सपनामा कोही एक मानव प्रकट भए।
‘दाइ, म हुँ पुस्तकप्रेमी अर्ध-पागल।’ जो आए, तिनले आफ्नो चिनारी यसरी फर्माए।
‘यो अमूर्त चिनारीको यथार्थ अर्थ खुलेन ब्रो’, मैले सविनय खुल्दुली प्रकट गरेँ, ‘जनी गरेर यसको गूढ अर्थ खुलस्त गरिपाऊँ।’
‘म पुस्तक पढ्छु, पुस्तक लेख्छु र पुस्तक छाप्छु’, आगन्तुकले भने। ‘म एकसाथ पाठक, लेखक र प्रकाशक। माने म थ्री इन् वान्। तैपनि म अर्ध छु। अर्ध र अपूर्ण। तसर्थ मलाई पूरा पागल बन्न मन छ, मान्यवर।’
अर्थ मलाई तैपनि खुलेन। र, किञ्चित् झिँजो मान्दै मैले सोधेँ, ‘आखिर बन्छौ कसरी ? ’
‘धेरै पुस्तक पढेर।’
ए, ए ! मेरो सुषुप्त मनमा निकट विगतको एउटा घटना सुस्तरी सल्बलायो। र अहिले भने मलाई केही न केही अर्थ खुलेको आभास भयो। र भनेँ, ‘पढ, होऊ र रहर पुर्याऊ। यसमा म अरू खै के भनूँ थ्रीजी ? ’
‘तर सिनियर ब्रो’, उनले दुःख पोखे, ‘पापीहर्ले मलाई हुन नदिने भए।’
‘को पापीहेर्ले ? ’
‘अन्धमति एवं बाहुबली शासकहेर्ले।’
‘कसरी ? ’
‘लुब्ध मनसाय राखेर। प्रकाशमय पुस्तकको आयातमा भन्सार महसुल थोपर्ने धृष्टता गरेर। र, ज्ञानको विश्वव्यापी प्रवाहको गौंडो छेक्न खोजेर।’
‘आँट गर, पार्टनर।’ मैले हौस्याएँ। ‘गौंडो भत्काऊ। मनग्गे पढ। र, परिपूर्ण पागल होऊ। यसमा मेरो सहृदय शुभकामना छ।’
‘म एक्लै सक्दिनँ, दाज्यैज्यू’, भन्दै उनले बिन्ती बिसाए, ‘मलाई मद्दत चाहियो। गुहार-गुहार !’
‘तथास्तु।’
बस्, यसरी हाम्रो संक्षिप्त सपना समापन भयो।
सपनामा गुहार माग्न आएका मेरा जोडा थिए- युवा मित्र भूपेन्द्र खड्का।
०००
यो अधोमुखी घडीमा, गोर्खाली हिमवत् खण्डमा जीवन बडो कष्टकर छ। शासनको उच्च आसनमा जो विराजमान छ, छलकारी भाषामा ऊ नेकपा डबल कहिन्छ। भन्नलाई यो डबल ‘म कम्निस्ट हुँ’ भन्छ। तर सम्यक् दृष्टिले यसो नियाल्नु- ख्वाख्खुत्तै खुइलिएको यसको लाल रङ वृद्ध लाले गोरुको कुरूप ढाडतुल्य गोचर हुन्छ। यो डबलका एक उपरवाले हस्ती छन् बडा अनौठा जीव, जसलाई रैथाने भक्तहरू आयातीत भन्छन्। कतैबाट त्यसै आइलागेका। मानमनितोबिनाका अनामन्त्रित अतिथि। जनबोलीमा खान आएका भतुवा। यी आयातीत दुःखी, यी अभागी भतुवा, यी निरीह जीवको अजीवको एउटा मत छ।
यी भन्छन्- धेरै पुस्तक पढे मान्छे बौलाउँछ। संयोगवश, सतहमा यो अनौठो कथनको तारोमा कवि आहुति पर्न गए। तर अन्तर्यमा तातो झीरतुल्य यो तीर ती सबैतिर लक्षित छ, जो पुस्तकप्रेमी छन्। जो पठनप्रेमी छन्। जो ज्ञान-पिपासु छन्। जो पुस्तकको प्रकाशले जीवनलाई उजिल्याउन लालायित छन्। र, जो ज्ञानको प्रकाशले जीवनलाई मूर्त अर्थ दिन यत्नशील छन्। त्यस्ताहरूमा एकजना हुन् अर्ध-पागल भूपेन्द्र खड्का, जो यी शब्द कोर्न मलाई कुत्कुत्याउने दाउले हठात् मेरो सपनामा हाजिर भए।
०००
सपनाको अर्को दृश्य खुल्यो। र, दृश्यमा जीवनको अर्को किनारका अर्का मानव उदाए। ती परे बरा उनै आयातीत दुःखी। मुड्की कसेर उचाल्दै अह्ररो स्वरमा तिनले भने, ‘लाल सलाम कमरेड।’
यस्तोमा म के भनूँ ? जो आपैmं लाल रहेन, म नलाललाई यो खुइले लाल भनिरहेछ- ‘लाल सलाम कमरेड !’
इहलोकका पूर्ण, अर्ध, सवा एवं उन्मुख पागलहरूको कथित मानसिक उपचार गर्ने सपना नदेखे हुन्छ। कारण यो पागलपन यिनको रोजाइ हो। यो पागलपन यिनको आर्जन हो। यो पागलपन यिनको आभूषण हो। यो पागलपन यिनको जीवन जिउने जुक्ति हो।
म केवल कटाक्षको भावमा मुसुमुसु हाँसिरहेँ। अनामन्त्रित सपनामा आइलागेका लालहीन लालसँग कुरा गर्न मलाई कुराकै दुःख थियो। त्यसो त उनका काइँ कुरा सुन्न मलाई चाख पनि थिएन। परिवेशमा पलभर निसासलाग्दो सन्नाटा व्याप्त भयो। र मिस्टर खुइलालले विषय-प्रसंगको बिर्को उघारे, ‘कमरेड, मेरो मानवीय भनाइको अर्थको अनर्थ गरिदिए। तसर्थ म यहाँ कमरेडको समीपमा अर्थ प्रस्ट्याउन आको हुँ।’
‘कुन भनाइको अर्थ ? ’
‘त्यै क्या, धेरै पुस्तक पढे मान्छे बौलाउँछ भन्ने मेरो भनाइको अर्थ।’
‘तब भनाइको गुह्य तत्व आज्ञा होस् श्रीमान्।’
मेरो जिज्ञासाहीन जिज्ञासाको प्रत्युत्तरमा भतुवा श्रीले जे भने बडो विचित्रको कुरा भने। पुस्तक पठनको मात्राले मानिसको मानसिक स्वास्थ्यलाई तलमाथि पार्छ रे। अर्थात् ज्यास्ती पुस्तक पढे पढ्नेको मानसिक स्वास्थ्य बिग्रिन्छ। र, हदै ज्यास्ती पढे पढ्ने मानिस बौलाउँछ। अतः मिस्टर आयातीतको नवीन सिद्धान्तअनुसार मानसिक स्वास्थ्य ठीक राख्न कम पढ्नु उचित हो। पढ्दै नपढ्नु त झन् कता हो कता उचित ! विषयलाई यसरी बुझ्न र लोकलाई बुझाइदिन नम्र निवेदन गर्दै आयातीत बाटो लागे। बरा यी भतुवा श्री थकित, गतिल र उदास थिए। मति, गति र मनशाय जे जस्तो भए पनि मलाई यी जीबात्प्रति टीठ लागेर आयो। सोचेँ- यी दीनदुःखीको यो क्या बेतुक निवेदन ! आखिर डबलको विशाल डबलीमा दह्रो दानापानी ख्वाएर सप्रेम पालिएका सहस्र अरिंगालहरूको काम के ? केवल खानु, खानु, खानु र प्यान्टे भुँडीमा बोसो भर्नु ? र, केवल आफ्ना ख्वामित्को भजन गाउन इन्कार गर्नेहरूमाथि बाहुबल बर्साउनु ?
०००
देखिजान्ने जगत् भन्छ- लाल भनिने डबलको खुइले सरकार वैभव र विलासको परम् पारखी छ। यसले पैसो चिनेको छ। तसर्थ लोकको रगत चुस्ने दाउले नानाओली कुटिल जुक्ति रच्न यो हुनुसम्म माहिर छ। यस मेसोमा गर्दै भन्दै जाँदा यसले नितान्त नूतन जुक्ति रच्यो। र, लुब्ध मुद्रामा पुस्तकमाथि झ्याप्प भन्सार थोपर्यो। ओजे-ओजे टाइपका यी आयातीत ब्रो भन्छन्- कमरेड, स्थूल दृष्टिले हेर्दा यो भन्सार हो। किन्तु सूक्ष्म दृष्टिले नियाल्दा यो लोकको मानसिक स्वास्थ्यप्रतिको अभिभावकीय चिन्ताको करुणामयी अभिव्यक्ति हो। तर के लाग्छ कमरेड ! लोक मूर्ख छ। लोक गूढ विषयको अन्तर्यमा दृष्टि भेदन गर्न जान्दैन। र नै यो नालायक लोक बिनबित्थामा हल्ला गर्छ- जगत्मा कहीँ कतै नभएको पुस्तकमा भन्सार अन्याय हो ! पुस्तकमा भन्सार लोभ हो। पुस्तकमा भन्सार भय हो। पुस्तकमा भन्सार पाप हो। पुस्तकमा भन्सार... हैट् !
०००
आयो कुरा अब पुस्तक पठनको अनावश्यकता वा व्यर्थता वा निस्सारता वा यसबाट पैदा हुने उपद्र््याइँको। यसबारे नेकपा-डबलको शासकीय घरानाको नवीन दर्शन छाँटको छ। यो भुइँफुट्टा दर्शनले फ्रान्सिस फुकुयामालाई सम्झाउँछ। उता बढी जान्ने हुन खोज्दा उल्लु साबित भएका फुकु ब्रोले कान समातेर आफ्नो ओजे मत हापे। यता नेकपा-डबल फुकु ब्रोद्वारा परित्यक्त मतको मुर्दा बोकेर ठस्ठस् कन्दै हिँडिरहेछ। भरियारूपी यो डबल भन्छ- राजनीतिक क्रान्ति अब तुरियो। दर्शनका दिन अब सकिए। विचारधाराका दिन अब गए। वादसादको अब मिति पुग्यो। तसर्थ विवादको अब कुनै गुन्जाइस छैन। जमाना छ त अब केवल अर्थको छ। वृद्धि र विकासको छ। समृद्धि र सुखको छ। त्यसैले क्रान्तिचेत, विचारधारा र वादवाहक पुस्तकको अब कुनै काम छैन। तिनलाई एकमुष्ट रद्दीको टोकरीमा फालिदिए हुन्छ। तर समस्या छ। लोकका पूर्ण पागल, अर्धपागल र पागलोन्मुखहरू परक्क बटान्छिन्। र, सिंहासनधारी शासकसामु तिनले सवाल उठाउँछन्। तिनले औंला ठड्याउँछन्। तिनले विमतिको रडाको मचाउँछन्।
तिनले विवाद, घर्षण र विद्रोहको बिगुल फुक्छन्। र, तिनले तुफानी रेल, फिलिली पानीजहाज, गगनचुम्बी भ्युटावर, चमत्कारी रंगशाला र स्मार्ट हँगनगौंडीको निर्माणमा अहोरात्र, यत्रतत्र र सर्वत्र व्यवधान खडा गर्छन्। र, तिनले सुखको उत्पादन, वितरण र उपभोगको बाटो छेक्छन्। विग्रहकारी पुस्तकमा भन्सार लगाउन बाध्य हुनाको गाँठ्ठी कारण यो हो। सकेदेखि पुस्तकको आयातलाई नै पूरापूर निषेध गरिन्थ्यो। पुस्तक लेखन, प्रकाशन र पठनमाथि कफ्र्यु जारी गरिन्थ्यो। र, यो कोलाहलमय जगत्मा अमनचैन, शान्ति र सुख छाउँथ्यो। तर के लाग्छ ? पुस्तकका कीरारूपी पूर्ण पागल, पागलोन्मुख र अर्धहरू ट्याउँट्याउँ गर्छन्। त्यसैले किस्ताबन्दी कदमका रूपमा हाललाई भन्सार महसुल मात्र...। आगे...
०००
यहाँनेर नभनी नहुने कुरा प्वाक्क भन्न कसोकसो डर लाग्छ। भन्सार-भक्षक, पुस्तक-नियन्त्रक र ज्ञान-नाशक शासक औतारी चरित्रको छ। यो वचनले चुलाचुलामा ग्यास बाँड्छ, कर्मले गल्लीगल्लीमा अ श्रुग्यास हान्छ। यो वचनले स्वर्गको सुख खिचेर घरघरमा दान गर्छ, कर्मले जग्गाजग्गाको माटोधरी लुटेर कुपुकुपु खान्छ। यो शासकलाई दरा पौंजा र तिघ्रा खुब मन पर्छ। जिज्ञासु दिमाग, मार्गदर्शक दर्शन, विवेकदायी पुस्तक र जगतबोधी विद्वान् एवं कल्पनाशील सर्जकहरू यसलाई एकरत्ति मन पर्दैन। नरेशतुल्य यी शासकहरूलाई सन्दिप लामिछाने खुब मन पर्छन्। कारण शासकीय दृष्टिमा यी कुशल क्रीडाकर्मी बिल्कुल हानिरहित मनुवा हुन्। यिनले यी शासककृत कुशासन र भ्रष्टाचारमाथि प्रश्न गर्दैनन्। यिनले यी शासकको स्वेच्छाचार, लुट र विलासको पर्वाह गर्दैनन्। यिनले खुरुखुरु बल हान्छन्, भकाभक मुंग्रो चलाउँछन् र शासकका लागि हानिरहित राष्ट्रिय कीर्तिमान स्थापित गरिदिन्छन्।
क्रीडाजगत्का यी विरल प्रतिभामा पुस्तकीय पागलपनप्रति न कुनै झुकाव छ, न रुचि छ, न यिनको किञ्चित् साधना नै छ। तर पुस्तकीय पागलपनप्रति झुकाव राख्ने, रुचि हुने र साधना गर्ने अटेरी र अघोरीहरू शासकहरूका नजरमा खतरनाक प्राणी हुन्। प्लेटो बाजेका बहुलठ्ठी दृष्टिमा देश निकाला गरिन लायकका हरिपहरू ! यी हरिपहरू सबै पागल हुन्। डा. देवेन्द्रराज पाण्डे पागल हुन्। प्रदीप गिरि पागल हुन्। अभि सुवेदी पागल हुन्। सीके लाल पागल हुन्। प्रत्यूष वन्त पागल हुन्। हरि शर्मा पागल हुन्। अर्चना थापा पागल हुन्। सरिता तिवारी पागल हुन्। भूषिता वशिष्ठ पागल हुन्। घनश्याम भूषालादि आन्तरिक हरिपहरू पागलोन्मुख हुन्। यसको अतिरिक्त, सदैव शासकको टाउको दुखाउने दृश्यमान् र अदृश्य अर्ध एवं सवा पागलहरू त लोकमा कति छन् कति !
०००
भूपेन ब्रो ! म केही लामो लेखिहाल्ने मुडमा थिइनँ। अभैm देहमा तागत न्यून छ। मनमा उमंग अल्प छ। आवेगमा उत्ताल वेग छैन भने पनि हुन्छ। तथापि ज्यानले हठात् सपनामा हाजिर भएर कर गर्दा कनिकुथी यो लेखियो। कनेर लेख्दा गतिलो त के हुन्थ्यो ब्रो, कामचलाउ पनि कुन्नि !
०००
र अन्त्यमा,
पुस्तक संवेदना र ज्ञानको सञ्चय हो। पुस्तक विवेकको बीजवाहक अजम्मरी वस्तु हो। पुस्तक आकर्षणको केन्द्र हो। पुस्तक आनन्दको मुहान हो। पुस्तक प्रश्न, विमति, विद्रोह र विप्लवको प्रेरक हो। पुस्तक जीवनलाई नित्य जिउँदो बनाइराख्ने सदैव जीवन्त तत्व हो। यस्तो पुस्तकमाथि जसले भन्सार थोपर्ने धृष्टता गर्छ, जसले यस्तो पुस्तकको वध गर्ने दिवास्वप्न देख्छ र यस्तो पुस्तकमाथि विषाक्त तरबार उजाउँदै जो सिमानामा उभिन्छ, त्यसले बुझे हुन्छ- माइतीघर मण्डल मरेको छैन ! त्यसले इहलोकका पूर्ण, अर्ध, सवा एवं उन्मुख पागलहरूको कथित मानसिक उपचार गर्ने सपना नदेखे हुन्छ। कारण यो पागलपन यिनको रोजाइ हो।
यो पागलपन यिनको आर्जन हो। यो पागलपन यिनको आभूषण हो। यो पागलपन यिनको जीवन जिउने जुक्ति हो। यिनको यो पागलपन शासनको आसनमा विराजमान हुने कथित सद्देहरू, शुद्धहरू र सन्तुलितहरूमाथि ताकिने तेजस्वी बौद्धिक एवं प्राज्ञिक तरबार हो। शासक महलका पुस्तकद्वेषी शूरवीरहरू जगत्मा अन्धकारको राज खडा गर्ने दुःस्वप्न नदेखून्, माइतीघर मण्डल मरेको छैन !
@belakoboli