बिदा

बिदा

आमाको बिग्रिँदै गएको स्वास्थ्यबारे बुवासँग फोनमा एक घण्टा कुरा गरेपछि बोझिलो भएको मनलाई बिसाउन पनि पाएका थिएनन्, रमेशले।

‘आमा त्यत्तिकै आत्तिनु हुन्छ’, रोशनीले श्रीमान्को मनभित्रको बोझको तौल यही टिप्पणीको आसनमा बिसाउन खोजिन्।

गलत त यो पनि होइन। रमेशकी आमा निकै आत्तिन्छिन्। छोराले सिड्नीबाट र छोरी कुसुमले न्युयोर्कबाट सान्त्वना दिइरहन्छन्। सान्त्वनाले मात्र एक्लोपनको न्यास्रो मेटिँदो रहेनछ। पैसा पठाउन पर्दैन, मेरो पेन्सनको पैसाले पुग्दैन भन्दा भन्दै पनि रमेशले बुवाको खातामा बेला बेला पैसा जम्मा गरिदिइरहन्छन्। पैसाले मात्र किन्न सकिँदो रहेनछ सबै कुरा। त्यही नमेटिने न्यास्रोपनको गहिराइ झन् झन् गहिरिइरहेकाले, त्यही किन्न नसकिने मायाको अभाव झन् झन् धेरै खड्किरहेकाले श्याम र रुक्मिणीले दुई तीन वर्षमा एक चोटि मात्र एक दुई महिनाका लागि पाहुना आएझैं आएर विदेश फर्किने रमेशलाई गुनासो गर्न थालेका छन्।

श्याम र रुक्मिणीले रमेशलाई दस वर्षअगाडि विदेश पठाउँदा खुसीसाथ पठाएका थिए। गर्व गरेका थिए, आफन्तको बीचमा। छोरो देशमा बरालिएर बसेको छैन भनेर। ठाममा पुग्यो। अब केही गर्छ। अब हामीलाई केको चिन्ता ?       

रमेश गएकै केही वर्षपछि छोरी कुसुम र ज्वाइँ पनि सरकारी कार्यक्रममा जाँदा उतै बस्ने निर्णय गरे। अगाडि छोरो छोरी विदेश जाँदा हराएको चिन्ता अहिले किन फर्किएर आएको छ ? श्याम र रुक्मिणीकै घरको ठेगाना खोज्दै।

रुक्मिणीको दुइटै घुँडाको अपरेसन गरे पनि दुख्न छोडेको छैन। तर उनलाई घुँडाको दुःखाइले कम तर बुढेसकालमा एक्लै हुनु परेको पीडाले बढी पिरोल्छ।

हिजोआज गुनासो बढी गर्न थाल्नुभएको छ। एउटै कुरा दोहोर्‍याई रहनुहुन्छ।

बुढेसकाल लागेर होला नि !

रमेश र कुसुम दुवैले यस्ता टिप्पणीहरूले आफ्नो कर्तव्यको अनुहार ढाक्छन्।

रमेशका दुईजना छोरा छन्। उनीहरू पनि कहिले यो भएन, कहिले त्यो भएन भनेर गुनासो गरिरहन्छन्। बाआमालाई हरेक मिनेटमा एउटै कुरा दोहोर्‍याइरहन्छन्। तर रमेश र रोशनी दुवैले आफ्ना चार र पाँच वर्षका वर्षौटे छोराहरूलाई साना छन् भनेर हेलचेक्य्राइँ गर्दैनन्। हेलचेक्य्राइँ गर्ने त पुरानालाई हो। जसरी पुरानो कारलाई ग्यारेजमा थन्क्याइन्छन्।

कतिका सन्तानले त अझै वृद्ध बाआमालाई तिमीहरूले के गरेका थियौ र भनेर उल्टो हेला गर्छन्। कतिले यो पनि बिर्सिन्छन् कि जतिखेर उनीहरूलाई माया चाहिएको थियो, त्यति बेलामा पनि बाआमाले हेला गरिदिएको भए आजका परिपक्व सन्तानहरू बूढा बाआमालाई हेला गर्नकै लागि पनि बाँकी रहने थिएनन्।

रमेश र कुसुमले हामीलाई के गरेका थियौ भनेर कहिल्यै भन्दैनन्। भिडियो कल गरेर र पैसा पठाएर मात्र बाआमाको वृद्ध अवस्थामा सहारा पुग्छ भन्ने भ्रममा मात्र बसेका छन्। त्यति मात्रै हो।

आज भने श्यामले रमेशलाई यो वर्षबाट कम्तीमा पनि हरेक वर्ष नेपाल आओ, कम्तीमा दुई महिना बस्ने गरी, साह्रै एक्लो भइयो भनेर अडान राखे।

‘बिदा मिल्दैन बुवा। त्यति सजिलो कहाँ छ र दुई महिनाको लागि आउन। केटाहरूको बिदा दुई हप्तालाई मात्र हुन्छ। अब क्रिसमसमा टिकट सस्तो पाइयो भने दुई हप्तालाई आउँछौं। बरु तपाईं आउनुस् न।’

रमेशले आफ्नो बुवालाई बरु यता आउनुस् न भनिरहँदा श्याम र रुक्मिणीको मनमा केही तीता सम्झनाहरू दगुरिरहे।

तीन वर्षअगाडि आएका थिए श्याम र रुक्मिणी कान्छो नातिलाई देखौं भनेर। त्यही बेलामा ठूलो नाति घरअगाडिकै बगैचामा नराम्रोसँग पछारियो। देब्रे हातको कुइनो भाँचियो। रमेश र रोशनी दुवैले बुवाआमाले राम्रोसँग नहेर्नाले छोराको हात भाँचिएको भनेर घुमाउरो पाराले दोष लगाए। तर दोष सोझो बाटो भएर श्याम र रुक्मिणीको मनैमा गढ्यो।

त्यो दिनदेखि उनीहरू कहिले नेपाल जान पाए हुन्थ्योझैं गर्न थाले। एक दिन साहस गरेर श्यामले छोरालाई भने, ‘हामीलाई नेपाल पठाइदेऊ।’

छोरो-छोरी विदेश जाँदा हराएको चिन्ता अहिले किन फर्किएर आएको छ ? श्याम र रुक्मिणीकै घरको ठेगाना खोज्दै।

रमेशले एक वर्षका लागि आउनुभएको, पाँच महिनामै किन जानु पर्‍यो भनेर टारे। रोशनीको छोराको हात भाँचिएपछि सासू-सुसुरालाई गर्ने व्यवहारमा झनै परिवर्तन आएको थियो। एक महिना छोरालाई हेर्न भनेर रोशनी घरमै बसिन्। त्यो बेलामा रमेश काममा जान्थे। रोशनीसँग श्याम र रुक्मिणीले चाहेर पनि राम्रो सम्बन्ध राख्न सकेनन्। केही हप्तापछि रोशनीले रमेशलाई राम्रोसँग सल्लाह पनि नगरीकन नेपालबाट आएका एक जना विद्यार्थी जोडीलाई श्याम र रुक्मिणी सुत्ने कोठामा भाडामा राखिन्। श्याम र रुक्मिणी कोठाबाट ग्यारेजमा सरे। जसै सुत्नी त हो नि भनेर भुइँमा एउटा म्याट्रेसमाथि सुत्न लगाए पनि श्याम र रुक्मिणीले रमेश र रोशनीलाई केही गुनासो गरेनन्।

रुक्मिणीको घुँडा भने झन् बढी दुख्न थालेको थियो। फुल्न थालेको थियो। रमेशले बाआमाको स्वास्थ्य बिमा गरेका थिएनन्। रोशनी नर्स नै भएकाले सासूको घुँडामा समस्या भएको बुझिहालिन्। यता हस्पिटलमा बस्नु पर्‍यो भने एक दिनकै नेपाली एक डेढ लाख तिर्नुपर्छ भन्ने रोशनीलाई थाहा थियो। केही दिन अघिसम्म बुवालाई अहिल्यै किन जानु पर्‍यो नेपाल भनेर सिड्नीमै बस्न आग्रह गरेका रमेशले अहिले भने बुवालाई घुमाउरो पाराले उपचार त काठमाडौंमै सजिलो र सस्तो हुन्छ कि बुवा भनेर बुवाआमा नेपाल नै गइदिए हुन्थ्यो भन्ने भाव प्रकट गरे।

यसपटक पनि छोराबुहारीको सिड्नीमा उपचार गर्न परे धेरै खर्च हुन्छ र जतिसक्दो छिटो टिकट अगाडि सारेर नेपाल पठाइहालौं भन्ने आशय बुझ्न अप्ठ्यारो थिएन। तर, अप्ठ्यारो के थियो भने जीवनको सबैभन्दा कमजोर समयमा आफ्नै सन्तानहरूले मायाको कम, नाफा-घाटाको हिसाब बढी गर्न थालेका छन्।

रमेश आफैंले श्यामलाई बुवा यता उपचार महँगो हुन्छ, बरु म नै हजुरलाई नेपाल लिएर जान्छु भनेर बुवाआमाको मन राख्न पनि सकेनन्। यो मन भन्ने कुरा पनि भ्रम नै त हो। सन्तान भनेको सहारा हुन् भनेर बाआमाले जीवनभरि संघर्ष गर्दै बुनेको सपनाजस्तै फराकिलो भ्रम। त्यही भ्रम चिर्दै यसपटक रुक्मिणीको फुलेको घुँडाभित्रको दुःखाइमा मनभित्रको दुःखाइ मिसाएर श्याम र रुक्मिणी काठमाडौं ओर्लिए। त्यसपछि कहिल्यै श्यामले छोराछोरीसँग सहयोगको अपेक्षा गरेनन्। हाँडीगाउँमा आफ्नै घरसँग जोडिएको चार आना घडेरी थियो। चुपचाप बेचे। चुपचाप रुक्मिणीका दुवै घुँडाको अपरेसन गरे। पेन्सन त छँदै थियो, त्यसमाथि घडेरी बेचेर बाँकी रहेको पैसा बैंकमा राखे। छोराछोरीको फोन आउँथ्यो, श्यामले सन्तानलाई आशीर्वाद दिइरहे तर मनमनै सन्तोष भने गर्न सकेनन्।

एक दिन रमेशले अचानकसँग साँझपख फोन गर्‍यो। भन्यो- हामी मरिसकेछौं। हाम्लाई सोध्दै नसोधीकन जग्गा बेच्न कसरी सक्नुभयो ?        श्यामले यतिखेर सम्बन्धभित्र पनि थकान महसुस गरे। मैले पैसा पठाउन सकिनँ, जग्गा बेचेर भए पनि आमाको उपचार गर्नुभयो बुवा भनेर भन्ला भनेर ठानेको छोराले फेरि गुनासो गर्‍यो। त्यसपछि केही समय कुसुमले त फोन गर्थी तर रमेशले फोन गरेन।

रमेश तीन वर्षसम्म नेपाल आएन। नेपालबाट आएको फोन पनि बल्लतल्ल उठाउँथ्यो। खुलेर बोल्दैनथ्यो।

अब भने श्याम र रुक्मिणीलाई एउटा छोरो थियो, त्यही पनि यसरी टाढा हुन थाल्यो भनेर चिन्ता हुन लाग्यो। जति रिसाए पनि, गुनासो गरे पनि, चित्त दुखाए पनि काठमाडौंको भीडमा, आफ्नाहरूको भीड त पक्का पनि थिएन श्याम र रुक्मिणीका लागि।

भाइ र दाइका छोराछोरीलाई कहिलेकाहीँ औषधि लिएर आइदेऊ भनेर भन्दा पनि गाह्रो मानेपछि श्याम रुक्मिणीलाई घरमै छोडेर औषधि लिन जान्थे। तरकारी र सामान भने चोककी ठूली नेवार्नीले काम गर्नेलाई घरमै पुर्‍याउन लगाउँथिन्। श्याम र रुक्मिणीलाई अलिकति सजिलो बनाइदिने पसलकी ठूली नेवार्नीबाहेक र गुनासो बढी, माया कम गर्ने छोराछोरीबाहेक श्याम र रुक्मिणीलाई कोही आफ्नो लाग्दैनथे। आफ्नै शरीरले आफैंलाई विश्वास नगरेर दुखाउन थाले पनि रुक्मिणीलाई जीवन भनेको दुःख मात्रै हो कि झैं लाग्न थालेको थियो। हाँडीगाउँको घर भएको ठाउँबाट चोकसम्म आउन पनि निकै सिँढीहरू उक्लेर आउनुपर्ने भएकाले श्यामले घर भाडामा लगाएर टंगालको गहनापोखरीको कुनामा एउटा घरको भुइँतला भाडामा लिए। रुक्मिणीलाई निकै सजिलो भयो। तर श्यामको यो निर्णयले रमेश झनै चिढियो। रमेशको आक्रोश देखेर श्यामलाई केही टिप्पणी गर्न मन लागेन।

बाबु हामी घर बेचेर गोदावरी जाने सोच्दै छौं। सानिमा पनि बहिनीहरू पढाउन तनहुँबाट गोदावरी आउँदै छन्। त्यता प्रदूषण पनि कम छ। घरको मूल्य पनि राम्रै पाइएलाजस्तो छ।

टिप्पणी गर्दिनँ भन्दा पनि श्यामले एक सासमा रमेशलाई आफ्नो योजना सुनाए। छोरी कुसुमलाई भने यो निर्णय ठिकै लागेको थियो। यसपटक रमेश मात्र नभएर रोशनीसमेत फोनमा कड्किइन्। एउटा छोरोलाई पनि सल्लाह नगरी घर बेच्ने निर्णय गर्न मिल्छ ?        हेप्न पनि कति साह्रो हेपेको।

श्यामलाई लाग्थ्यो, छोरा-बुहारीले कुरा कहिल्यै बुझेनन्। कहिले लाग्थ्यो, उनले बुझाउन सकेनन्। कहिले लाग्थ्यो, छोरो त यस्तो कहिल्यै थिएन। अनि सोच्थे, अर्काकी छोरीलाई केको दोष दिनु, आफ्नै छोरोले बुझेन हाम्रो भावना।

६ महिनाभित्र घर बेचेर गोदावरीमा साली बसेकै कोलोनीमा हाउजिङको घर किने श्यामले। कोही नभएको भीडमा कोही भएजस्तो भयो। तर सन्तानसँग टाढा हुँदाको पिरलोले रुक्मिणीलाई भित्रभित्र खियाइरहेको थियो। छोरोको चित्त दुखाउन हुँदैनथ्यो तपाईंले भनेर उल्टै श्यामलाई दोष थुपार्थिन् रुक्मिणी।

श्याम भन्थे, ‘कसरी चित्त दुखाएँ मैले ?        हाम्रो बारेमा सोच्दै नसोच्ने सन्तानलाई हामीले मात्रै किन सोधिरहनु पर्‍यो हरेक निर्णयमा ?        कहिलेबाट हामी सन्तान ऊ हाम्रो बाउ भयो ?        अब तिमीले रमेशको बारेमा नसोच।’

नसोच भने पनि, श्याम आफंैले पनि छोरा किन यस्तो भयो भनेर सोचिरहन्थे।

रुक्मिणीको रक्तचापको समस्या झनै बढ्न थाल्यो। रुक्मिणीले कुसुम र रमेशलाई एक चोटि आउन भन्न थालेकै तीन वर्ष भइसक्यो। कुसुम र ज्वाइँ अमेरिकाको पेपर बन्ला र नेपाल आऊँला भनेर बसेकै सात वर्ष भइसक्यो। कुसुम अझै पनि नेपाल आउन मिल्दैन। श्यामले रमेशलाई आमा निकै आत्तिएकी छ भनेर हत्ते गरेपछि क्रिसमममा दुई हप्ताको लागि आउँछु भन्ने आश्वासन दियो। सिड्नीबाट फर्केदेखि दसैं र तिहारमा रुक्मिणीले कस्तो सन्तानै छैनन् कि जस्तो भयो भनेर श्यामसँग पीर बिसाउँछिन्। आउँछु भने पनि क्रिसमसमा रमेश आएन। भन्यो काममा बिदा मिलेन। अनि भन्यो, ‘जहाजको टिकट दोब्बर भयो र त्यही पनि पाइनँ। अब दसैंमा आउँछु।’

श्यामले भने, ‘आमा साँच्चैको बिरामी छ, किन हो तिमीहरूले यसो गर्नी ?        हामीले के बिगारेका छम् र ?        जति सक्दो छिट्टै आऊ बाबु। यसपटक श्याम पनि कमजोर भए।’

दसैं आउन अझै ६ महिना बाँकी थियो। शनिबारको मध्याह्नमा रुक्मिणीले श्यामलाई पशुपति लैजानुस् भनेर आग्रह गरिन्। हुन पनि गोदावरी आएपछि पशुपति नगएको धेरै भएको थियो। श्यामले ट्याक्सीको व्यवस्था गरे र पशुपति दर्शन गरेर निस्किए। जेठको महिना थियो। घाम ट्याक्सीको सिसाबाट छिरेरै भित्र पसे पनि पोल्दो थियो। गौशाला पुग्न नपाउँदै रुक्मिणीले छाती दुख्यो भन्न थालिन्। उनको अनुहारको रङ घामजस्तै पहेलिँदै थियो। श्यामले ड्राइभरलाई गंगालालतिर फर्काउन लगाए। पशुपति जाने रहर गरेकी रुक्मिणीका आँखा गंगालाल नपुग्दै बन्द भए। र, पनि केही हुन्छ कि भन्ने आशा लिएर श्याम ले रुक्मिणीलाई अस्पताल पुर्‍याए। डाक्टरले ढिलो भयो भन्दा श्यामलाई आश्चर्य लागेन। उनले थाहा पाइसकेका थिए, रुक्मिणीका आँखा अब उघ्रँदैनन्।

श्यामले साली सुनीतालाई फोन गरे। सुनीता तुरुन्तै आफ्ना श्रीमान् केशवलाई लिएर गंगालाल आइपुगिन्। केशवले कुसुम र रमेशलाई अस्पतालबाटै फोन गरे। सायद रमेशले यति छिट्टै यस्तो समाचार सुन्नुपर्छ भन्ने सोचेका थिएनन्। यतिका वर्ष बाआमालाई गुनासो गरिरहे। घुर्की लगाइरहे। अब त आमा नै रहिनन्। रमेशले केशवलाई म भोलिसम्म आइपुग्छु, अस्पतालमै राख्नुस् आमालाई भनेर अनुरोध गरे। केशवले हुन्छ भने र फोन राखे। श्यामले छोराको चाहना थाहा पाए। श्यामलाई यतिखेर छोराको चाहनाको कदर सायद भएन, उनले केशवलाई साथीभाइ र आफन्तलाई अहिले नै जुटाउन अनुरोध गरे। श्यामले रुक्मिणीको चितामा आफंैले दागबत्ती दिए।

भोलिपल्ट दिउँसो रमेश एअरपोर्ट आइपुगे। केशव रमेशलाई लिएर गोदावरी फर्किए। घरमा केही आफन्त जम्मा भएका थिए। कुसुम भिसाका कारण आउन सकिनन्। रमेशलाई केशवले ट्याक्सीमा थाहा दिएनन् कि आमाको लास जलिसक्यो।

घरमा पुगेपछि थाहा पाउँदा रमेशलाई आफ्नो गल्तीको अनुभूति हुन थाल्यो।

घरमा रोएर कोठामा बसिरहेका थिए श्याम तर आमा थिइनन्। जसले यतिखेर सधैं आउन मिल्दैन भनिरहने छोरासित आँखा जुधाएर भन्न सकून् कि, बाबु आज कसरी एकै दिनमा बिदा मिल्यो। एकै दिनमा टिकट मिल्यो। एक दिनमा आउन मिल्यो।

हिजै आर्यघाटमा जलिसकेको रुक्मिणीको शरीरको अलिकति खरानी बाग्मतीको किनारमा बगौं कि उडौं भन्ने दुविधामा फुस्फुसाइरहेको छ। मानौं- त्यो खरानीको पनि हृदय, आवाज र ओठ छ। र, भन्न खोजिरहेको छ, ‘धन्यवाद छोरा, तिमी मेरा लागि आइदियौ।’

@Nisprabh  ‘डार्लिङ हार्बर’, ‘इजलासमा लाहुरे फूल’, ‘भूपरिवेष्ठित खुट्टाहरू’ कृतिका लेखक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.