जनताको जनवादमै एकमत

जनताको जनवादमै एकमत

काठमाडौं : सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्यदिशा बनाउने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन्।

पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद देखिएको थियो। जनताको जनवाद कि जनताको बहुदलीय जनवाद (जबज) कुन मान्ने भन्नेमा नेताहरू दुई धारमा बाँडिएका थिए।

प्रधानमन्त्री ओलीले एकीकृत पार्टीको कार्यदिशा पुनर्लेखनको प्रस्ताव गर्दै जबजमा जोड दिएका थिए। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल एकता प्रक्रियामा भएको सहमतिभन्दा दायाँ-बायाँ नगरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएका थिए।

पार्टी एकता गर्दा जबज र एक्काइसौं शताब्दीको जनवाद र माओवादलाई महाधिवेशनमा बहसमा लैजाने गरी स्थगन गरिएको थियो। तत्कालीन एमालेले जबज र तत्कालीन माओवादीले एक्काइसौं शताब्दीको जनवाद र माओवाद मान्दै आएका थिए। महाधिवेशनसम्म समाजवाद उन्मुख हुने गरी जनताको जनवादलाई राजनीतिक कार्यक्रम बनाएर जाने सहमतिमा एमाले र माओवादीबीच एकता भएको थियो।

संगठनात्मक विवादमा रुमल्लिरहेका बेला सचिवालय बैठकमा कार्यदिशाको किचलो बढेको थियो। त्यसपछि एक सातायता प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग एक्लाएक्लै संवाद गर्दै आएका थिए। उनले शनिबार भने जनताको जनवादलाई पार्टी कार्यक्रम बनाएर अघि बढ्ने धारणा सार्वजनिक गरेका हुन्। तत्कालीन एमाले महासचिव मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा अर्का अध्यक्ष दाहालकै सामुन्ने ओलीले पार्टी कार्यक्रम जनताको जनवाद हुने बताए।

यद्यपि, उनले कार्यक्रमको नाम जे दिए पनि त्यसभित्रको अन्तर्वस्तु भने जबजकै हुने स्पष्ट पारे। ‘समाजवादसम्म पुग्ने सिद्धान्त जनताको बहुदलीय जनवादको अन्तर्वस्तुको हुन्छ’, उनले भने, ‘जनताको बहुदलीय जनवादकै विशेषताअनुसार पार्टी अघि बढ्छ। तर, हामीले कार्यक्रमको नाम जनताको जनवाद राखेका छौं। त्यही कार्यक्रम राखेर अघि बढ्छौं।’

वैचारिक बहस चर्किएको भनिएका बेला ओली र दाहाल दुवैले एकै मञ्चमा उभिएर सम्बोधन गरे। ओलीको अभिव्यक्ति आएपछि अब नेकपाको संक्रमणकालीन राजनीतिक कार्यदिशा जनताको जनवाद हुने देखिएको हो। नेकपाले जनताको जनवादको अहिलेसम्म व्याख्या गरेको छैन।

दाहालले भने विचार बनाउँदा गतिशीलता र सिर्जनशीलतालाई ध्यान दिनुपर्ने बताए। गत शनिबारको सचिवालय बैठकमा दस्ताबेज पुनर्लेखनसम्बन्धी प्रस्तावमा ओलीले जबजकै पक्षमा बोलेका थिए। जबज पक्षधर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले भने सहमतिबाट पछि हटेर जान नसकिने भन्दै दाहाललाई साथ दिएका थिए। त्यसपछि अप्ठ्यारोमा परेका ओलीले नेपाल, खनाल, गौतमसहित ईश्वर पोखरेल, रामबहादुर थापालगायत नेतासँग छुट्टाछुट्टै छलफल गरेका थिए।

‘दसैंसम्म सरकारको आलोचना सकिन्छ’

सरकारले राम्रो काम गरिरहेको ओलीले उल्लेख गरे। आगामी दुई महिना द्रूत गतिमा विकास निर्माण हुने र दसंैसम्म सरकारलाई आलोचना गर्ने विषय समाप्त भएर जाने उनको भनाइ थियो। ‘अबको दुई महिना सरकारले राम्रो काम गरेर देखाउँछ’, उनले भने, ‘दसैंसम्म पुग्दा सरकारको आलोचना समाप्त हुन्छ।’

उनले आलोचनाका लागि आलोचनाभन्दा पनि सरकारले गरिरहेका कामलाई व्यवहारमा दाँजेर हेर्न आग्रह गरे। ‘मेरो कुरा पत्याउनुहोस् होइन कि जाँचेर हेर्नुहोस्’, उनले भने, ‘मेरो कुरा व्यवहारमा हेर्नुहोस्।’ उनले मास्क लगाएर हिँड्नुपर्ने अवस्था हटेको जिकिरसमेत गरे।

पार्टी एकताका काममा अलमल हुँदा केही निराशा भए पनि अब त्यो धेरै दिन नरहने उनको भनाइ थियो। उनले अब १५-१६ दिनभित्रै एकताका सम्पूर्ण प्रक्रिया टुंगिने बताए। ‘पार्टी एकताको काम नटुंगिँदा केही आशंका उठाउने, खिसिटिउरी पनि गरेका छन्’, उनले भने, ‘सायद हामीले ठूलो काम गरेका छौं। त्यसले अलिकति अलमल सिर्जना गरेको हो कि ! निरास हुनुपर्ने कारण छैन। यो आर्थिक वर्ष १५-१६ दिन बाँकी छ। त्यो अवधिभित्र एकता प्रक्रिया पूरा हुन्छ।’

मदन भण्डारीको हत्या भयानक षड्यन्त्र : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले माथिल्लो स्तरका राजनीतिक हत्याकाण्डका दोषी पत्ता लगाउन असफल भएको बताएका छन्। तत्कालीन एमाले महासचिव मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक हत्या, प्रतिहत्याका दोषी पत्ता लगाउन असफल भएको बताए।

‘माथिल्लो स्तरका राजनीतिक हत्या, प्रतिहत्याका धेरै भयानक घटनाको शृंखला छ। कोत पर्व, भण्डारखाल पर्वदेखि थुप्रै माथिल्लो स्तरका घटना नेपाली समाजले देखेको छ। मदन भण्डारीको हत्या, दरबार हत्याकाण्ड भए’, उनले भने, ‘यी ठूला घटनामा हत्यारा पत्ता लागेका छैनन्। हत्यारालाई जनतासमक्ष ल्याई कारबाही गरेर फेरि त्यस्तो घटना रोक्ने प्रयासमा हामी सफल छैनौं।’

दोषी पत्ता लगाउन नसक्दा आफैं छाला जोगाउन लागेका त छैनौं भन्ने प्रश्न उठेको उनको भनाइ थियो। ‘हामी छाला बचाउनेतिर लागेका त छैनौं ? प्रतिक्रियावादी नरिसाउन् भनेर, हामी मारिएका त छैनौं नि अहिलेसम्म !, मारिन पनि सक्छौं’, उनले भने, ‘हामीले दोषी पत्ता लगाउन सकेका छैनौं। फेरि त्यस्तो घटना नदोहोरियोस् भनेर सुनिश्चित गर्न सकेका छैनौं। अर्कोतिर त्यस्तो नहोस् भन्नका लागि हामीले छाला जोगाउनेतिर कोसिस भएको छ। दोषी पत्ता लगाएर कारबाहीमा ल्याउँदा छाला जोगाउन पर्दैन नत्र भने जोगाउनुपर्ने हुन्छ। यसमा घोत्लिनुपर्ने हुन्छ।’

मदनको हत्या भयानक षड्यन्त्रस्वरूप भएको उनले बताए। जनतादेखि सबैलाई मदनको हत्या भएको मोटामोटी थाहा लागे पनि दोषी भने किटानै गरेर फलानो भन्न सक्ने अवस्था नभएको उनको भनाइ थियो। ‘मदन भण्डारीको अवसान रहस्यमय भयो। हामी प्रायःलाई लाग्छ, उहाँको हत्या भएकै हो। त्यो कुनै दुर्घटना होइन’, उनले भने, ‘आजको मितिसम्म त्यो हत्या नै हो। हत्यारा फलानो हो, यो-यो शक्ति हो भनेर किटेर भन्न सक्ने प्रमाण हामीले प्रस्तुत गर्न सकेका छैनौं।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.