बाहुनवाद, ...!
अनि बाहुनवादजस्तै नेवावाद, राईवाद भन्ने ? मधेसवादीजस्तै पहाडवादी, हिमालवादी भन्ने ? के यही हो हामीले बनाउन खोजेको समाज ?
हालैको कुरा हो। म बिहानै प्रदूषण मास्क लगाएर हिँडिरहेको थिएँ। मअगाडि एउटै समुदायका ६ जना हिँडिरहेका थिए। उनीहरूलाई सम्भवतः म पछाडि भएको याद थिएन। उनीहरू सबै शिक्षित पेसाकर्मीहरू थिए, जसलाई म बिहान हिँड्दा बेलाबखत देखिरहन्छु। त्यसैबीच एकजनाले फ्याट्ट भने : हिजोको नारा अलि नरम भयो। आजदेखि ‘बाहुनवाद, मुर्दावाद !’ भन्नुपर्छ। त्यसमा अर्को एकदुईजनाले सहमति जनाए। उनीहरूको भावनाले आम नेपालीको त कुरै छोडिदिऊँ, उनीहरूकै समुदायको पनि अत्यधिक बहुमतको प्रतिनिधित्व गर्दैन भन्ने निर्धक्कसँग भन्न सकिन्छ। तर पनि त्यो मेरा लागि चिन्ताको विषय थियो।
मानवशास्त्री डोरबहादुर विष्टले उनको चर्चित पुस्तक ‘फेटलिजम एन्ड डिभलप्मेन्ट’ मा बाहुनवाद शब्द प्रयोग गरेपछि त्यो शब्दले समाजशास्त्रीय बहसमा सैद्धान्तिक प्रवेश पायो। तर पछिल्ला वर्षहरूमा सो शब्दलाई जसरी प्रयोग गरिन थालिएको छ, विष्टको त्यो अभिप्राय छँदै थिएन। उनले जनआस्था साप्ताहिकका लागि पत्रकार गुणराज लुइँटेललाई वि.सं. २०५२ मा दिएको एउटा अन्तर्वार्तामा स्पष्टसँग भनेका छन्, ‘ब्राह्मणवाद भनेको यस्तो कुरा हो, जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ।
अहिले जेजति भएको छ, अघिल्लो जन्मको कमाइले भएको हो, ...सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जबसम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौं, हामी पौरखहीन हुन्छौं। ...हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो। त्यसैले त्यसको नाम मैले ‘बाहुनवाद’ भनेको हुँ। ‘मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्यो भन्ने अर्थ लगाए। ... तर त्यसो होइन, नेपाली भएर बाँच्नुपर्यो।’ विष्टले समाजशास्त्रीय दृष्टिकोणबाट नेपाली परिप्रेक्षमा भाग्यवादलाई विश्लेषण गर्न प्रयोग गरेको बाहुनवाद शब्द अहिले मूलतः जातीय रूपमा प्रयोग भइरहेको छ। ‘बाहुनवाद, मुर्दावाद !’ त्यही सन्दर्भमा प्रयोग भएको थियो।
नेपाल यस्तो जब्बर समाज हो, जसमाथि पछिल्ला वर्षहरूमा जातीय र क्षेत्रीयको घनले बारम्बार प्रहार गरियो। त्यसलाई चर्काउन खोजियो, फुटाउन खोजियो, तीक्तताका तुषहरू फैलाउन खोजियो। ती प्रहारका केही डोब बसे तर आमरूपमा त्यो सौहार्दता, सद्भाव र एकता कहिल्यै टुटेन। त्यो नै नेपाली देशभक्ति र राष्ट्रियताको सबैभन्दा बलियो पक्ष हो। त्यो भावना भविष्यमा पनि टुट्न नदिनु हामी सबैको जिम्मेवारी हो। त्यो भावना टुट्यो भने त्यसका दुष्परिणाम कहाँसम्म पुग्न सक्छ र त्यसले मुर्दावादको नारा लगाउन उद्यत् महानुभावकै जीवन र परिवारमा कति घातक असर पार्न सक्छ भनेर अनुमान गर्न नसक्नु उहाँहरूको कमजोरी हो। जातीयताको आगो सल्कियो भने ताली खाने र गाली खाने, सम्पन्न र विपन्न, विद्वान् र मूर्ख, असल र खराब, कोही बच्ने छैनन्। तिनका सन्तान दरसन्तानसम्मले पीडा बेहोर्नुपर्नेछ। जिन्दावाद र मुर्दावादको जातीय नाराले संसारका धेरै समाज र देशहरूलाई चरम पीडा दिएका प्रशस्त उदाहरण छन्।
विरोधाभाषले भरिएको समाज
त्यति भन्दाभन्दै वास्तविकता के हो भने आज पनि आफूलाई अग्रगामी, प्रगतिशील भन्दै पहिचानका नाममा जातीय राजनीति गर्ने र जातीय भावनाबाट उद्वेलित हुनेहरू यो समाजमा छन्। तुलनात्मक रूपमा तिनको संख्या सानो छ। तर उग्रताका वाहकहरूको संख्या जुनसुकै समाजमा सामान्यतया सानो हुने भए पनि तिनको आवाज ठूलो हुन्छ। ती शब्द र कर्म दुवैमा हिंसात्मक पनि हुन सक्छन्। त्यसैले तिनमा शान्ति भड्काउन सक्ने क्षमता बढी हुन्छ। नेपालमा सानै संख्यामा किन नहोस्, अझै पनि जातीय भावनाबाट प्रेरित राजनीतिकर्मी, मानवअधिकारवादी र नागरिकको एउटा खण्ड कायमै रहेको तथ्यलाई हामीले अस्वीकार गर्न सक्दैनौं।
हामी के पनि अस्वीकार गर्न सक्दैनौं भने यो देशमा ठूलै स्तरमा जातीय, क्षेत्रीय, वर्गीय उत्पीडन थियो र त्यो अझै कुनै न कुनै रूपमा विद्यमान छ। २०७२ सालको नेपालको संविधानले न्यायपूर्ण समाजको दिशामा ठूलो फट्को मारेको छ। त्यो पर्याप्त छ भन्ने होइन, तर त्यो ठूलो प्रगतिचाहिँ अवश्य हो। यो विन्दुसम्म आइपुग्न नेपाली समाज ठूलो उग्रताबाट गुज्रिनुपर्यो। किनभने, हामीले हाम्रो समाजको चरित्र नै शान्तिपूर्ण आग्रह सुन्दै नसुन्ने प्रकृतिको बनाएका छौं।
द्वन्द्वकालमा माओवादीले आफ्नो आवाज सुनाउन उग्रताको सहारा लिए। मान्छेलाई शत्रुको संज्ञा दिएर हातखुट्टा भाँचियो, काटियो, गिँडियो। त्यति गरेपछि मात्रै नेपाली समाजले सुन्यो। त्यसैगरी, मधेसविरुद्धको विभेदबारे नेपाली समाजलाई बोध गराउन मधेसले कम चर्का नारा र उग्रतालाई अवलम्बन गर्नु परेन। महिला, दलित र जनजातिले पनि आफ्नो हक र अधिकारका लागि विभिन्न रूपमा उग्रतापूर्ण आवाज बुलन्द गर्नुपर्यो।
नेपाली समाजका केही घातक विरोधाभाष छन्। ऊ अरूबारे छाती खोलेर टिप्पणी गर्न चाहन्छ तर आफ्नोचाहिँ भद्र आलोचना पनि सहन गाह्रो मान्छ। परिणामस्वरूप, समाजभित्रका विरोधाभाषको कमै चर्चा हुने गर्छ।
त्यस्तै एउटा विरोधाभाष के हो भने, खासगरी शिक्षित नेपालीहरू अपवादबाहेक अनादर्श अभ्यास गरेर आदर्शको नारा घन्काउने र आदर्शको उग्रतापूर्ण अभिव्यक्ति सुन्न मन पराउने समाज हो। त्यसको सबैभन्दा ज्वलन्त उदाहरण हाम्रो समाजमा व्याप्त भ्रष्टाचारको कहालिलाग्दो स्तर हो, जुन मूलतः शिक्षित नेपाली समाजको उपज हो। त्यस्तै, शिक्षित समाजको ठूलो खण्ड बारम्बार वस्तुपरक विष्लेषण गर्नबाट चुक्छ र बहकिन्छ। त्यो प्रतिक्रियात्मक हुन्छ र आफ्ना निर्णयको दूरगामी असरबारे विचार गर्दैन।
परिणामस्वरूप, कुनै बेला नानीमैयाँ दाहालको उदयमा उसले आफू अभिव्यक्त भएको पाउँछ, कुनै बेला ऊ कृष्णप्रसाद भट्टराईलाई हराउन उद्यत् हुन्छ। त्यसैको निरन्तरतास्वरूप काठमाडौंमै विद्यासुन्दर शाक्यको जित र किशोर थापाको हार हुन्छ। ऊ हिंसाका नायकहरूमा मुक्तिको प्रतिरूप देख्छ। आफ्नो सोचाइअनुरूप भए विदेशी हस्तक्षेपलाई ‘सहयोग’ भन्छ। आफ्नो सोचाइको प्रतिकूल भए उसभित्रको ‘राष्ट्रवाद’ जाग्छ। उसले कुनै विशेष सन्दर्भमा राम्रो प्रशासक, प्रहरी अधिकृत, पत्रकार, समाजसेवी देख्यो कि ‘हो, उसैलाई प्रधानमन्त्री बनाउनु पर्छ’ भनेर फेसबुक अभियान सुरु गरिहाल्छ। सफल प्रधानमन्त्रीका लागि आवश्यक पर्ने विशिष्ट गुणहरूबारेमा उसले सोच्दै सोच्दैन। किनभने, प्रतिक्रियात्मक समाजले दिगो र परिपक्व नतिजा हेर्दैन।
जातीयताको आगो सल्कियो भने ताली खाने र गाली खाने, सम्पन्न र विपन्न, विद्वान् र मूर्ख, असल र खराब कोही बच्ने छैनन्। तिनका सन्तान दरसन्तानसम्मले घृणा, तीक्तता र पीडा बेहोर्नुपर्ने छ।
यिनै विरोधाभाषका कारण समाजमा एउटा डरलाग्दो परिणाम देखिन थालेको छ। उदाहरणका लागि, इटहरीका मेयर द्वारिकलाल चौधरीले मेयरका रूपमा प्रयोग गर्नै नमिल्ने निकृष्ट स्तरको भाषा चर्को रूपमा प्रयोग गरे। व्यक्तिगतरूपमा उनी अभ्रष्ट र इमानदार मान्छे हुन् भन्ने सुनियो। सुसंस्कृत समाजमा हो भने अभ्रष्ट र इमानदार हुनु स्वतः अपेक्षित गुण हो। तर नेपाली यस्तो समाज बन्यो कि सार्वजनिक पद धारण गरेको कुनै व्यक्ति इमानदार भयो भने त्यसलाई आफैंमा ठूलो विशेषताको रूपमा हेरिने भयो। त्यसैले चौधरी इमानदार हुनु नै यति ठूलो गुण भइदियो कि कुनै पनि दृष्टिकोणबाट औचित्य दर्शाउनै नसकिने उनको तल्लो तहको अभिव्यक्ति, थोरैका लागि मात्र चिन्ताको विषय बन्यो। उनलाई सामाजिक सञ्जालमा रातारात नायक र उनको आलोचना गर्नेहरूलाई खलनायक बनाइयो। कतिपयलाई चित्त दुख्ला तर स्विकारौं– हामी आमरूपमा अनादर्श समाज नै हौं। हामी अर्थात् देशको अधिकांश क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने शिक्षित वर्ग। हामी समग्रमा आदर्श भइदिएको भए नेपाली समाज र राजनीतिको यो दुर्गति हुने नै थिएन।
यति धेरै विरोधाभाषले भरिएको समाज असाध्यै अपरिपक्व र संवेदनशील हुन्छ। त्यसमा आगो लगाउन सजिलो हुन्छ। हामीले पछिल्लो दुई दशक बारम्बार उग्रताले सृजना गरेको आगो निभाउनमै व्यतीत गरिसकेका छौं। अब फेरि हाम्रा असन्तुष्टिलाई कुनै पनि बहानामा उग्रताको लेस लगाउने प्रयास गर्नु दुर्भाग्यपुर्ण हुनेछ। यस सन्दर्भमा मैले हर दिन देख्ने गरेका ती शिक्षित र ‘बाहुनवाद, मुर्दावाद’ को नारा लगाउन उद्यत् मित्रहरूलाई म हृदयदेखि केही कुरा निवेदन गर्न चाहन्छु।
हृदयदेखिको कामना
हो, नेपालमा अझै पनि विभेद छ। हामीले विकसित र सुसंस्कृत भन्ने गरेका अमेरिका, बेलायत या कैयन् युरोपेली देशमा जानोस्, त्यहाँ पनि विभिन्न स्तरको विेभेद छ। तर के ती विभेद नेपाल होस् या अन्य कहीं, मान्छेले मान्छेलाई घृणा गर्न सिकाएर कम हुन्छ ? सकारात्मक र सुसंस्कृत ढंगबाट हुर्कने नैसर्गिक अधिकार बोकेका तपाईंका निर्दोष छोराछोरीमा जातजातिप्रतिको घृणा निःसृत गरेर उनीहरूलाई कस्तो संस्कार दिन खोजेको ? कसैले सोचेका होलान्, मुर्दावादको नारा लगाएपछि विभेद अन्त्य हुन्छ र कहिल्यै कसैले फेरि मुर्दावादको नारा लगाउनुपर्ने छैन। त्यस्तो कहिल्यै हुँदैन। समाज रहेसम्म त्यहाँ सधैं कुनै न कुनै स्तरमा विरोधाभाष र विमति रहिरहन्छन्। त्यसैको निहुँमा आज हामीले कसैलाई घृणा गर्न सिकायौं भने भोलि त्यो घृणाले हामीलाई नै पोल्नेछ।
पहिचानका नाममा जातीय संघीयताको वकालत गर्ने नेपालीको बेलाबखत सुनिने तर्क के हो भने, के अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, क्यानाडा, स्विट्जरल्यान्डजस्ता देशहरू जातीय संघीयताबाट बर्बाद भएका छन् र ? यस्तो संवेदनशील विषयमा सयौं वर्षअगाडि उत्कृष्ट विश्वविद्यालय, विद्वान्हरू, विश्वस्तरका कला, साहित्यको सृजना र विविध पूर्वाधारको विकास गरिसकेको समाजसँग नेपाललाई दाँजेर ‘हामीलाई पनि त्यस्तै चाहियो’ भन्नु युक्तिसंगत हुँदैन। फेरि समाजको ऐतिहासिक र सामाजिक पृष्ठभूमि पनि फरकफरक हुन्छन्। बरू यस्ता विषयलाई जातीयतामा उग्रताको लेप लगाउँदा पछिल्ला दशकमा संसारका कैयन् देशहरूले कति क्षति बेहोरे भनेर हेर्नुपर्ने हुन्छ। जातीयता यति संवेदनशील विषय हो कि त्यसले चेतनाको स्तर कम भएको हाम्रोजस्तो समाजलाई तुरुन्तै बहकाइदिन्छ।
बारम्बार जातीय मुद्दा उछाल्नेहरूले प्रकृति फरक–फरक भए पनि रुवान्डा, इथियोपिया, सुडान, युगोस्लाभिया, श्रीलंका, सिरिया, इराक, अफगानिस्तान, पाकिस्तान र कैयन् अन्य देशहरूमा जातीय कारणले सृजना भएको असोचनीय स्तरको क्रूरता, पीडा र कुनैकुनैका हकमा त्यसले ल्याएको विखण्डनका बारेमा पढ्नु र तीसँग सम्बन्धित हृदयविदारक फोटोहरू हेर्नु उपयुक्त हुनेछ। हालैका दशकमा भएका जातीय हिंसामा रुवान्डामा सन् १९९४ भएको जातीय नरसंहार सबैभन्दा ठूलोमध्येको एक हो। चार महिनाका बीचमा जातीय विद्वेषका कारण त्यहाँ मान्छेले मान्छेलाई कसरी काटे, रेटे, गोली ठोके, त्यसको कुनै हिसाबकिताब छैन। चार महिना सकिँदा देशका राष्ट्रपति र प्रधानमन्त्रीको हत्यासँगसँगै लगभग नौ लाख मान्छेको नरसंहार भएको अनुमान गरिएको छ।
त्यो अलि परको कुरा भयो। मध्य–दक्षिण एसियामै रहेको अफगानिस्तानको कथा कम पीडादायी छैन। सन् १९६० र सन् ७० को दशकमा संसारका पर्यटकहरूको एउटा आकर्षण बनेको, बुर्का होइन, मिनिस्कर्ट लगाएर महिलाहरू विश्वविद्यालय पढ्न जान सक्ने आधुनिकता, उन्नति र समृद्धितर्फ उन्मुख अफ्गानिस्तान केही दशकभित्रमै ध्वस्त–ध्वस्त भयो। त्यसको केन्द्रमा राजनीतिक अस्थिरता, त्यसैमा फैल्याइएको जातीय विद्वेष र त्यसैमा मौलाएको विदेशी हस्तक्षेप थियो। अफगान युद्ध सकिँदा पनि त्यहाँ जातीय द्वन्द्व सकिएन र त्यो देशका सुखी, खुसी जनता कोही सुखी, खुसी रहेनन्। धनी र गरिब कोही जातीय द्वन्द्वबाट मुक्त भएनन्। कतिका घरपरिवार गुमे, कतिका दशौं करोडको सम्पत्ति कौडीको भाउमा झरे, त्यसको कुनै हिसाबकिताब छैन। त्यसैले मैले यो आलेखको सुरुतिरै लेखेको हुँ, जातीयताको आगो सल्कियो भने ताली खाने र गाली खाने, सम्पन्न र विपन्न, विद्वान् र मूर्ख, असल र खराब कोही बच्ने छैनन्। तिनका सन्तान दरसन्तानसम्मले घृणा, तीक्तता र पीडा बेहोर्नुपर्ने छ।
यहाँ ‘बाहुनवादी आयोग, बाहुनवादी मिडिया’ जस्ता शब्दावली प्रयोग हुन्छन्। कोही ‘बाहुनवाद, मुर्दावाद’ भन्छन्। कोही रङ र पहिरनका कारण नेपालीलाई भारतीय भन्छन् र दुर्वाच्य बोल्छन्। अनि भोलि बाहुनवादजस्तै राईवाद, गुरुङवाद, शेर्पावाद, नेवावाद, यादववाद, थारूवाद, मुर्दावादको नारा लगाउने ? मधेसवादीजस्तै पहाडवादी र हिमालवादी भन्ने ? के यस्तै हो हामीले बनाउन खोजेको समाज ? यसरी हामी कसैको हित हुँदैन।
नीतिगत, संवैधानिक तहमा हरेक जातजाति, भाषाभाषी, हरेक पहिचानको संवद्र्धन गरौं, तिनको उत्थान गरौं, सम्मान गरौं। मान्छेले मान्छेलाई सम्मान गर्न सिकाऔं। त्यसका लागि आवाज उठाऔं, संघर्ष गरौं तर जातजाति, भाषाभाषी र क्षेत्रलाई लिएर हेय भाव व्यक्त गर्ने, त्यसलाई गिजोल्ने, जिन्दावाद, मुर्दावादको नारा लगाउने, त्यसमाथि राजनीति गर्ने, मान्छेले मान्छेलाई घृणा गर्न सिकाउने काम बन्द गरौं। त्यसले हामीलाई मात्र होइन, हाम्रा सन्ततिलाई समेत संस्कारहीन, असभ्य, तीक्त र कुण्ठित मान्छे बनाइदिनेछ। त्यही डरले हुनुपर्छ केही वर्षअघि मैले लेखेको र नेपथ्यका लोकप्रिय गायक अमृत गुरुङले गाएको तलको गीतबाट यो स्तम्भको बिट मार्न चाहन्छु–
तिमी पनि नेपाली, म पनि नेपाली
हामी नेपाली– नामी नेपाली !
विगतबाट सिक्ने हो, बोकी हिँड्ने होइन
अल्झिबसे एकै ठाउँ, शिखर टेकिँदैन
उहिलेका पीडा भुल्न सकौं
मनको मैलो धुन सकौं
अनि पो नेपाली– हामी नेपाली !
हिमाल, पहाड, तराईमा सीमा कतै छैन
मनको सीमा गहिरिए कहिल्यै मेटिँदैन
माफी हामी गर्न सकौं
सद्भाव धेरै छर्न सकौं
अनि पो नेपाली– नामी नेपाली
हामी नेपाली !
—मिश्र साझा पार्टीका संयोजक हुन्।