कालिञ्चोकको रमणीय यात्रा
काठमाडौं : एसईई पछिको फुर्सदिलो समयलाई सदुपयोग गर्दै हामी ६ जना साथीभाइ दोलखा भ्रमणमा निस्कियौं। हामी दोलखा भ्रमणमा जानुको विशेष कारण थियो, त्यहाँ रहेको साथीको घर।
बिहानको ६ बजे सुमो चढेपछि हाम्रो यात्रा सुरु भयो। म पहिलो पटक दोलखा जाँदै थिएँ। त्यही भएर कस्तो होला, के होला भन्ने कौतुहल मनमा छँदै थियो। मनमा उत्सुकता पनि धेरै जागेको थियो। काठमाडौंबाट ६ घण्टाको यात्रा पार गरेर हामी दोलखाको चरीकोट पुग्यौैं।
मिल्ने साथीहरूको साथमा रमाइलो गर्दै र प्राकृतिक दृश्यहरू हेर्दै कति छिटो चरीकोट पुगियो, पत्तै भएन। चरीकोटको नाम पहिले धेरै सुने पनि पहिलो पटक पाइला त्यही समय टेकेँ मैले। पहाडको बीचमा सुतेमmैं लाग्ने चरीकोट बजार एकदम सुन्दर बजार रहेछ। वनमा लालीगुरास झपक्क फुलेका। बीचबीचमा ऐंसेलुका पोथ्रामा पहेँला रङका फल लागेका। हेर्दै कति राम्रो दृश्य देखिएको। रसिलो ऐंसेलुको स्वाद लिँदै हामी बेलुकी साथीको घरमा पुग्यौं।
भोलिपल्ट बिहानै हामीले कालिञ्चोकसम्मको ट्रेकिङ सुरु गर्यौं। चरीकोटबाट कालिञ्चोकसम्मको बाटो उकालो नै उकालो रहेछ। हामी त्यति उकालो बाटो नहिँडेकाहरूलाई अलि अप्ठेरो नै भए पनि साथीहरूको साथले गर्दा ऊर्जा थपिएको थियो।
बाटोमा लेक लाग्न सक्ने भएकाले हामीले न्यानो लुगाहरू लगाएका थियौं। त्यहीअनुसारको खानेकुरा पनि बोकेका थियौं। चरीकोटबाट देउराली भन्ने ठाउँसम्म हामीलाई साढे तीन घण्टाको यात्रा तय गर्नुपर्यो। त्यो ठाउँको झोल थुक्पा एकदम प्रख्यात रहेछ। हामीले चिसो मौसममा तातो थुक्पा खाएर फेरि आफ्नो यात्रा सुरु गर्यौं।
देउरालीबाट कालिञ्चोकसम्मको बाटो कठिन भए पनि रमणीय रहेछ। त्यहाँ विभिन्न रङका लालीगुराँसहरू फुलेका थिए। बैजनी, गुलाबी, सेतो हरियो पहेँलो र रातो रङका गुराँसहरू मैले पहिलो पटक त्यहीँ देखेँ। जतिजति माथि हुँदै गयो, त्यत्तिनै चिसो र रमणीय स्थानमा पुग्दै थियौं हामी। तर हाम्रो रमाइलो पदयात्रालाई पानीले रोकिदियो। ठूलाठूला असिना पानी पर्यो। धन्न हामीले एउटा स्कार्पियो गाडी पायौं र त्यसैमा चढेर कालिञ्चोक पुग्यौं। त्यहाँ होटलहरूको राम्रो व्यवस्था रहेछ। विदेशी स्टायलका होटल पनि रहेछन् त्यहाँ।
एउटा होटलमा हामीले चिसो र रमाइलो रात कटायौं। बिहान उठ्दा रातभरिको पानीपछिको आकाश त खुलेर नीलो उज्यालो सफा आकाश भएको रहेछ। हरियो कालिञ्चोक डाँडामाथि सेताम्य हिउँ। आहा कति सुन्दर। हरियो डाँडामा सेता हिउँको त्यो दृश्यलाई चित्रमै उतारु जस्तो लाग्थ्यो। हामी सबैले आआफ्नो मनमा ती दृश्यहरू कैद गर्यौं। त्यसपछि उदाउँदो सूर्य हेर्दै कालिञ्चोक भगवती दर्शनको लागि मन्दिर गयौं।
होटलबाट करिब डेढ घण्टाको पैदल यात्रापछि हामी देवीस्थल पुग्यौं। धेरै नै सुनेका प्रसिद्ध कालिञ्चोक भगवती दर्शन गरेर मनमा भन्नै नसकिने शान्ति मिल्यो। त्यहीँ बिहानको खाना खाएर हामी फेरि सुन्दर प्राकृतिक दृश्यमा रमाउँदै साथीको घर फर्कियौैं।
भोलिपल्ट हामीले भीमेश्वरको दर्शन गर्यौं। शनिबारको दिन भएकाले भीमसेन थानमा धेरै नै भीड थियो। त्यहाँका मूर्तिमा नेपाली कलाकृतिहरू झल्केको रहेछ। प्रसिद्ध भीमसेन मूर्तिमा पसिना आएमा देशमा अनिष्ट आउँछ भन्ने भनाइ छ। यसरी भीमेश्वर दर्शन पछि हामी दोलखाको रमाइला दृश्यहरूलाई क्यामेरामा कैद गर्दै काठमाडौं फर्कियौैं।
- एन्जल अधिकारी
नेक्सस स्कुल