सानो उमेर सुन्दर चित्र
सुनिता न्यौपाने । रोहाना प्रधान भर्खर ६ वर्षकी भइन्। उनले दुई वर्षको उमेरदेखि नै चित्र कोर्न थालेकी हुन्। उनका बाबु रोशन प्रधान र आमा माला प्रधान पनि कलाकार नै हुन्। त्यसैले उनको घरको माहोल नै कलामय छ।
एक दिन रोहानाका बाबु चित्र बनाउँदै थिए। त्यति बेला नै रोहानाले पनि चित्र कोर्न रुचि देखाइन्। बाबु रोशनले पहिले उनलाई एउटा क्यानभास दिए। उनले चित्र बनाइन्। फेरि अर्काे क्यानभास दिए। फेरि बनाइन्। त्यति बेला जम्मा चार वर्षकी मात्र थिइन् रोहाना।
रोहानाले बाबुआमाबाटै चित्रकला सिकेकी हुन्। सानैबाट बाबुआमाले बनाएका चित्र देखेर नै उनी हुर्किइन्। रङसँगै खेलेर उनको दिन बित्यो। बाबुले क्यानभास दिएपछि रोहाना त्यसमै पेन्टिङ गर्थिन्। क्यानभास नदिए ढोका, भित्ता जताततै चित्र कोर्न थाल्थिन्।
रोहानालाई घरमा चित्रकला सिकाउन कसैले बल गरेनन्। क्यानभास र कलर चलाउन स्वतन्त्र छाडिदिएका छन्। उनी त्यहीँ रङसँग खेल्थिन्। कहिले हातभरि पोत्दै कहिले भित्ताभरि पोत्दै उनले चित्र बनाउन सिकिन्। अन्य बालबालिकाझैं उनको स्वभाव पनि निकै चञ्चले छ। तर पनि चित्र कोर्ने सिलसिलामा उनले कहिल्यै पनि आफ्नो बाबुको क्यानभासमा चित्र बनाइनन्। बुवाको क्यानभास कहिल्यै फोहोर गरिनन्।
रोहाना अहिले विद्या संस्कार स्कुल, जोरपाटीमा कक्षा १ मा पढ्छिन्। पढाइमा पनि अब्बल छिन् उनी। परीक्षामा उनले ‘ए प्लस’ नै ल्याउने गरेकी छन्। अहिलेसम्म उनले थुप्रै पुरस्कार जितिसकेकी छन्। युनाइटेड ट्रेडर्स सिन्डिकेटले प्रत्येक वर्ष आयोजना गर्ने ‘टोयटा ड्रिम कार कन्टेस्ट’मा आठ वर्षमुनिको विधामा उनी लगातार दुई वर्ष प्रथम भइन्। विद्यालयको कक्षा १ देखि ४ सम्मको प्रतिस्पर्धामा पनि उनी प्रथम नै भएकी थिइन्।
चित्रकलामै अब्बल भएकाले रोहानाले अहिलेसम्म धेरै ट्रफी जितिसकेकी छन्। हालै भएको अलफ्रेस्को नामक प्रतियोगितामा पनि उनी प्रथम भएकी थिइन्। उनको चित्रकला नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा राखिएको छ।
रोहानालाई अहिले उनका बाबुले आधारभूत चित्रकला सिकाइरहेका छन्। विद्यालयमा पनि शिक्षिकाबाट चित्रकला सिकिरहेकी छन्। घरमा पनि फुर्सदको समयमा उनी चित्र कोर्न नै रुचाउँछिन्। विशेष गरी आमाबाबुले चित्र बनाएका बेलामा उनलाई पनि चित्र बनाउन रहर जाग्छ। छोरीको इच्छाअनुसार बाबुआमाले पनि रोहानालाई चित्र बनाउन स्वतन्त्र छाडिदिने गरेका छन्।
अहिलेसम्म उनले २५ भन्दा बढी चित्र बनाइसकेकी छन्। भविष्यमा बाबुजस्तै राम्रो कलाकार बन्ने उनको लक्ष्य छ। उनी भन्छिन्, ‘म बुवाजस्तै बन्ने हो।’ उनका बाबु पनि उनलाई कलाकार बनाउन चाहन्छन्। उनी भन्छन्, ‘मन लागेको कुरा स्वतन्त्र रूपमा बनाउन पाइन्छ। मनको भावना पोख्न पाइन्छ। यसमा करिअर पनि धेरै राम्रो छ।’
चित्रकलाको नाम पनि रोहाना आफंै राख्छिन्। हालै आयोजित अल्फ्रेस्को ओपन आर्ट कम्पिटिसनमा पनि उनी पहिलो भएकी थिइन्। उक्त प्रतियोगितामा कक्षा १ देखि ४ सम्मका विद्यार्थी सहभागी भएका थिए। नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा राखिएको उक्त चित्रको नाम पनि उनले लितिपिति राखेकी छन्। ‘आफैं लिपपोत गरेको हुनाले नाम पनि लितिपिति’, उनले भनिन्। उनी अमूर्त चित्र बनाउने गर्छिन्। छोरीको यस्तो बानीप्रति उनका बाबु भन्छन्, ‘बच्चाले बनाउने भनेको एब्स्ट्र्याक पेन्टिङ नै हो।’
रोहानालाई कहिल्यै पनि बाबुआमाले हात समातेर क, ख लेख्न सिकाउनु परेन। ब्रस चलाउँदा चलाउँदै लेख्न थालिन्। उनको अक्षर पनि एकदमै राम्रो छ। उनका बाबु भन्छन्, ‘आर्टले पनि लेख्ने बानी बसाउँदै जान्छ।’ उनका दुई चित्रकला जापान गइसकेका छन्।
मम खान र पौडी खेल्न मन पराउँछिन्, रोहाना। छुट्टीको समयमा सधैं पौडी खेल्न जाने गर्छिन्। उनी दुई पटक थाइल्याण्डको राजधानी बैंकक घुमिसकेकी छन्। त्यहाँ पनि उनलाई स्विमिङबाहेक अरू केही मन परेन। त्यहाँका धेरै कला संग्रहालय घुमिसकेकी उनको जापान जाने सपना छ।