बालकथा : साथीलाई सहयोग
रमिता र विनिता असल मित्र थिए। उनीहरू एउटै विद्यालयमा एउटै कक्षामा पढ्थे। रमिताको बाबाममी बोर्डिङ स्कुलमा पढाउनुहुन्छ भने विनिताको बाबाममी सानो किराना पसल चलाउनुहुन्छ। रमिता पढाइमा तेज थिइन् भने विनिता पढाइमा कमजोर थिइन्। यही कारणले पनि रमिताको ममी बाबाले विनितालाई बेलाबेला पढाउनुहुन्थ्यो। रमिता पनि विनितालाई पढाउन मद्दत गर्थिन्।
विनितालाई रमिताले पढाउन मद्दत गरे पनि विनिता हरेक दिन निराश नै हुन्थिन्। उनी हाँस्ने खेल्ने र विद्यालयमा गाउनेनाच्ने काममा ध्यान दिन्नथिइन्। सधैं टोलाई मात्र रहन्थिन्। उनी आफ्नो समस्या आफैंमा सीमित राख्थिन्।
शुक्रबारको दिन थियो। विद्यालयमा हाफ छुट्टी भयो। रमिता र विनिता दुवै घर फर्कंदै थिए। रमिताले दंग पर्दै विनितालाई भनिन्, ‘थाहा छ तिमीलाई सोमबार मेरो जन्मदिन हो नी। बाबाले केक काटेर मेरो जन्मदिन मनाउने भन्नुभएको छ। ममीले परीको जस्तै सुन्दर लुगा किनिदिन्छु भन्नुभएको छ। यति मात्र कहाँ हो र, मलाई त दुबईबाट आउनु भएको मामाले सुनको सिक्री ल्याइदिन्छु भन्नुभएको छ। काकाकाकीले साइकल र हजुरआमा हजुरबुबाले ठूलो बाबी गर्ल ल्याइदिन्छु भन्नुभएको छ। बाबाले साथीहरू सबै बोलाउ भन्नुभएको छ। आहा कति रमाइलो। तिमी पनि मेरो बर्थ डेमा आउँ ल।’
रमिताले आफ्नो जन्मदिन मनाउने योजना सुनाइरहँदा विनिता भने एक सुरले केही नबोली हिँडिरहेकी थिइन्। रमिताले घचघचाउँदै विनितालाई सोधिन्, ‘होइन के भयो तिमीलाई, मेरो कुरामा किन ध्यान नदिएको।’ विनिता अत्तालिँदै रमितालाई फेरि आफ्ना कुरा दोहोर्याउन भनिन्। रमिताले अचम्म मान्दै भनिन्, ‘मैले कति कुरा भनिसकेँ, मेरो जन्मदिनको कुरा गरिरहेको थिएँ तिमीले त ध्यान नै दिएनौं।’ रमिताले विनितालाई के भयो भनेर बुझ्न खोजिन्। विनिताले नबताएपछि रमिताले जिद्दी गरिन्।
रमिताको जिद्दीको अगाडि विनिताको केही लागेन। उनले भनिन्, ‘मेरो सानो भाइ प्रवेश छ। ऊ ज्ञानी र असल छ। तर ऊ खेल्न कुद्न सक्दैन विद्यालय जान पनि सक्दैन। उसको साथी पनि छैनन्। उसलाई विद्यालय गएर पढ्ने ठूलो रहर छ। विद्यालय जान नपाउँदा ऊ रुन्छ।’
अपांगताले गर्दा विनिताको भाइ अरू जस्तो विद्यालय जान सक्दैन। तर उसलाई विवेक, राहुल र आरभ जस्तै विद्यालय गएर साथीहरूसँग रमाइलो गर्ने रहर छ। उसका दुवै खुट्टाहरू नचल्दा आफूले आफैंलाई बोझ भएको महसुस गरिरहेको छ। विनिताले आफ्नो भाइको बारेमा सबै कुरा मसिनो स्वरमा भनिन्।
दिनदिनै आफ्नो भाइलाई विद्यालय बोकेर ल्याउन लान पनि नसकिने गुनासो विनिताले पोखिन्। आफ्नो भाइको यस्तो अवस्थाले गर्दा चिन्तित भएको उनले बताइन्। उनले रमितालाई दुःख पोख्दै भनिन्, ‘म उसको आवश्यकता पूरा गर्न पनि सक्दिनँ। मेरो बाबाममीसँग पनि त्यो क्षमता छैन।’
रमिताले विनिताको सबै कुरा सुनिन्। उनलाई आफ्नो साथीको धेरै नै माया लागेर आयो। त्यसैले विनितालाई सम्झाउँदै उनले निराश र चिन्तित नहुन अनुरोध गरिन्।
विनिताको कुराले रमिताको मनमा कुरा खेलिरह्यो। उनले ममीबाबालाई सबै कुरा बताइन्। आफूले सक्दो मद्दत गर्न चाहेको कुरा पनि सुनाइन्। उनले आफूलाई जन्मदिनको उपहारमा केही पनि नचाहिने र त्यही पैसाले विनितालाई मद्दत गर्न चाहेको आमालाई बताइन्। उनले काकाकाकी, मामामाइजू र हजुरबुबा हजुरआमालाई पनि यही कुरा सुनाइन्। उनले सबैबाट जम्मा भएको रकमले विनिताको भाइ प्रवेशलाई ह्विलचेयर किनेर दिने विचार गरिन्। उनको कुरा सुनेर सबैजना खुसी भए। छोरीको पवित्र मन र असल विचारलाई कदर गर्दै उनीहरूले पनि विनितालाई सक्दो मद्दत गर्ने योजना बनाए।
जन्मदिनको दिन रमिता नुवाइधुवाइ गरी ममीबाबासँग मन्दिर गइन्। त्यहाँ भगवान्को दर्शन गरेर विनिताको घरमा गइन्। उनको हातमा रातो रंगीचंगी कागजले बेरिएको ठूलो सामान थियो। रमिता र उनको आमाबाबुलाई देखेर विनिता खुसी भइन्। साथीको हातमा यति ठूलो सामान देखेर विनिताले तिम्रो ममीबाबाले दिनुभएको उपहार मलाई पनि देखाउन भनिन्।
रमिताले खुसी हुँदै भनिन्,‘ सरप्राइज। तिम्रो भाइ प्रवेश कहाँ छ ? छिटो भन न।’ विनिताले अचम्म मान्दै भित्र ममीसँग छ भनिन्।
रमिता र उनका ममीबाबा त्यही सामान लिएर छिटोछिटो भित्र पसे।
रमिताले विनिताको भाइ प्रवेशलाई आफूले सँगै ल्याएको ह्विलचियर दिइन्। विनिता तीन छक्क परिन्। प्रवेश पनि आश्चर्य मान्दै ह्विलचियरलाई हेरिरह्यो। आफ्नो सपना पूरा हुने भएकोमा ऊ दंग पर्यो। ऊ हत्तपत्त सकिनसकी ह्विलचियरमा बस्यो।
आफ्नो साथीको सहयोगले भाइको विद्यालय जाने सपना पूरा भएकोमा विनिता पनि निकै खुसी भइन्। उनका आँखाबाट हर्षका आँसु झरिरहे।
विनिताको बाबाममी पनि दंग परे। एक छेउमा बसेर छोरीहरूलाई हेरिरहे। रमिताको बाबाममी पनि त्यो दृश्य देखेर खुसी भए। विनिताले केही सम्झिए जसरी रमितालाई भनिन्, ‘सरी यार तिम्रो सरप्राइजले गर्दा मैले तिमीलाई ह्याप्पी बर्थ डे भन्नै बिर्सेछु।’ विनिताले रमितालाई ह्याप्पी बर्थ डे टु यु भन्दै गर्दा सबैले खुसीले ताली बजाए।