कथा सुन्न दिनभरि हलोको पछि लाग्थेँ
‘सानासाना नानीहरू भगवान् जस्तै हुन्छन्। उनीहरूलाई मान्छे बनाउन स्कुल त्यसपछि कलेज पठाइन्छ। स्कुल र कलेज सकेपछि उनीहरू अमान्छे भएर निस्किन्छन्।’
भाइबहिनी हो, माथिको यो हरफ अभिभावक, शिक्षक र तिमीहरू जस्तै नानीबाबुहरूका लागि लेखिएको मेरो उपन्यास ‘करोडौं कस्तुरी’ को हो। मलाई सबैले साहित्यकार (उपन्यासकार) भनेर चिन्छन्। म मेरो बारे सुनाउँछु है त।
विसं. २०३४ सालमा म चितवनको रंगिला भन्ने गाउँमा जन्मिएँ। तर मेरो पुख्र्याैली थलो कास्कीको माझ गाउँ हो। म, दिदी, बा र आमा गरी हाम्रो चार जनाको परिवार छ। बाबा सराकारी स्कुलमा स्थायी शिक्षक हुनुहुन्छ। आमा गृहिणी।
म चार वर्षको थिएँ। बा घरमा नभएको बेला आमाले गौरी खण्डकाव्यका श्लोकहरू भाका हालेर सुनाउनुहुन्थ्यो। त्यतिबेला मलाई त्यो कविता हो भन्ने थाहै थिएन। तर त्यो कविता सुन्दा म रोइरहेको हुन्थेँ। त्यसैले कविता भन्ने थाहा नपाउँदै मेरो कवितासँग प्रेम बसेको थियो। मलाई त्यही दिनदेखि कविताले रुवाएको मन पर्न थाल्यो।
घरमा बाले पत्रपत्रिका धेरै पढ्नुहुन्थ्यो। अन्य पुस्तक पनि उत्तिकै पढ्ने उहाँको बानी थियो। उहाँले लेखनाथका कविता, डायमन्ड शमशेरका उपन्यास, गुरुप्रसाद मैनालीका कथा पढ्नुहुन्थ्यो। उहाँले ती कथाहरू आफू त पढ्नुहुन्थ्यो नै। चितवनको गर्मीमा शीतल हावा खान चौतारोमा जम्मा भएका सबैलाई पनि लय हालेर सुनाउनुहुन्थ्यो। बाले सुनाउने कथाहरू मलाई पनि कण्ठ थियो। बाले यसरी सबैलाई सुनाउँदा म पछाडि बसेर रोइरहेको हुन्थेँ। फेरि पनि मलाई कथाले रुवायो।
म कक्षा ४ मा पुगेपछि कविता, कथा भन्ने अलि अलि बुझ्न थालेँ। यस्तो रुवाउने कुरा त मान्छले पो लेख्दो रहेछ भन्ने थाहा भयो। मलाई पनि यस्तै रुवाउने कविता, कथा लेख्न पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो। मलाई कविताभन्दा कथाले बढी तान्न थाल्यो।
कक्षा ५ मा पुगेपछि लेख्न भनेर मैले एउटा छुट्टै कापी बनाएँ। त्यसमा आमाको बारेमा लेख्थेँ। लेखेका कुरा कसैलाई पनि देखाउँथिनँ। मलाई लाज लाग्थ्यो। पछि त्यो कापी नै हरायो।
स्कुलमा म मध्यम खालको विद्यार्थी थिएँ। मेरो पढाइ पनि राम्रै थियो। साथीहरू स्कुलमा झगडा गर्थे। लड्थे र ग्याङ फाइट गर्थे। तर मैले झगडा गरिनँ। एकदमै ज्ञानी भएर बस्थेँ। बरु म कुनै कुरामा लागे भने एकदमै मिहिनेत गर्थें। स्कुलमा फस्ट र सेकेन्ड हुन्थँे। गर्मी बिदामा मैले दाइहरूको नेपाली किताबको सबै कथाहरू पढिसक्थे। मलाई कोर्सभन्दा बाहिरी किताब पढ्न मन पथ्र्यो। तर बुवाले कोर्सको पढ्नुपर्छ भनेर कथा, उपन्यास खासै पढ्न दिनुहुन्नथ्यो। उहाँले पढ्नुहुन्न भनेपछि मलाई झन् बढी पढ्न मन लाग्थ्यो। बुवा नभएको मौकामा उहाँले पढेको किताब लुकेर पढ्थेँ।
मलाई सानैदेखि खेल्न, घुम्न मेरै उमेरका केटाकेटी चाहिन्छ जस्तो कहिल्यै लागेन। सानैदेखि बूढापाखाहरूसँग बस्न रुचाउँथेँ। किनभने उनीहरूका कुरामा कथा हुन्छ। उनीहरूका सुखदुःखका कुरा सुन्न रमाइलो लाग्थ्यो।
गर्मी महिना थियो। एकजना हजुरबुवा मकै छर्ने भनेर खेत जोत्न आउनुभयोे। म स्कुलबाट आउँदाआउँदै उहाँको पछिपछि दिनभरि हिडेँ। भोक प्यासको मतलव भएन। उहाँले मलाई आफ्ना कुरा कथा जस्तै गरी सुनाउँदै हुनुहुन्थ्यो। त्यो सुन्न मलाई आनन्द आइरहेको थियो। पछि आमा खोज्दै आउनुभयो। अनि घर गएँ।
मैले मेरो बाल्यकालमा अनुभव गरेको, बुझेको कुरा नै मेरा उपन्यासमा लेखेको छु। ‘सेतो धर्ती’ उपन्यासमा बूढापाकासँगको संगतको कुरा प्रष्टसँग आएको छ। यसैगरी मलाई कोर्सको किताबभन्दा बाहिरी किताब पढ्न मन लाग्थ्यो भन्ने कुरा ‘करोडौं कस्तुरी’ उपन्यासमा आएको छ। त्यसैले नानीबाबुहरू सानो छँदा हामीले मनमा जस्तो कुराको बीउ रोप्छौं व्यवहारमा त्यस्तै फल्ने हो। ममा त्यही बीउ रहेकै कारण आज पनि मलाई बूढापाकाका कुरा सुन्न बढी मन पर्छ।
भाइबहिनी हो, तिमीहरूलाई मेरो अर्को कुरा पनि भन्छु है, मलाई सानैदेखि चित्रकलामा पनि रुचि थियो। मेरो घरको छेउमा नहर थियो। नहरले थुपारेको बालुवामा मैले स्कुलमा गएर ‘क’ लेख्न सिक्नुभन्दा पहिले चित्र बनाउन सिकेको थिएँ। त्यो पनि साँढेको चित्र बनाएको थिए। तर, तिमीहरूलाई थाहा छ ? मेरो पालामा घर अनि विद्यालयमा कसैले पनि चित्र बनाउनुपर्छ भनेर सिकाउँँन्थेनन्। खाली पढ्नुपर्छ मात्र भन्थे।
कक्षामा लक्ष्मीप्रसाद देवकोटाको, बालकृष्ण सम, राजा आदिका फोटो टाँसिएको हुन्थ्यो। पछि मैले गृहकार्य गर्ने कापीमा ती सबै चित्र बनाएर कापी नै सक्थेँ। वि.सं. २०५६ सालमा चितवनमा सामूहिक र एकल चित्रकला प्रदर्शनी पनि गरेँ। त्यसबाट उत्कृष्ट चित्रकला प्रदर्शनीको पुरस्कार पनि पाएँ। त्यसैले म जुन काम गर्छु त्यो काम एकदमै डुबेर गर्छु।
त्यसैले तिमीहरू पनि एकदमै लगनशील र मिहिनेती भएर काम गर है। पछि मैले जे पढ्थेँ त्यस्तै लेख्न खोज्थेँ। अभ्यास गर्दा गर्दै मैले तिमीहरू जस्तै नानीबाबुहरूका लागि ‘कलिलो मन’ भन्ने बालकथा संग्रह लेखेँ। पारिजात बालसाहित्य पुरस्कार (२०६७) पाएँ।
तिमीहरू आजभोलि आफ्नो समय मोबाइलमा बिताउँछौं हैन ? यस्तो गर्नु हुँदैन है। रातदिन यसैसँग घोरियौं भने एकलकाँटे हुन्छौँ। नभई नहुने अति आवश्यक भए मात्र प्रयोग गर्नुपर्छ। यसले हाम्रो आँखा पनि खराब गर्छ। त्यसैले यसबाट बच्नुपर्छ। तिमीहरूलाई जे गर्दा रमाइलो लाग्छ त्यही काम मिहिनेतका साथ गर। यसो गरे एकदिन अवश्य सफल भइन्छ। निरन्तर अभ्यास भने गर्नैपर्छ।
अहिले डिजिटल प्रविधिले मानवीय संवेदना, मानवता, समाज, संस्कृतिबाट टाढा बनाएको हो की जस्तो लाग्छ। त्यसैले हरेक अभिभावकले पनि यसमा ध्यान दिनुपर्छ। बच्चाहरूलाई मोबाइलको सट्टा पढ्ने कुराहरू धेरै दिनुपर्छ। यसले उनीहरूलाइ समाज बुझुन् र पढ्न सक्ने बनाउँछ। साथै बाबुआमासँग कुरा गर्ने र हजुरबा हजुरआमाका कथा सुन्ने बानी पनि बसाल्छ।
(साहित्यकार न्यौपानेसँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित)