सुदूरपश्चिममा ७० प्रतिशत खेतमा रोपाईं बाँकी
डडेल्धुरा : असार १५ भइसक्दा पनि सुदूरपश्चिममा करिब ७० प्रतिशत खेत अझ बाँझै छन्। कृषि विकास निर्देशनालय दिपायलका निर्देशक गोपाल लामिछाना अनुसार सुदूरपश्चिममा ३० प्रतिशत मात्रै रोपाईं सकिएको छ।
लामिछानेका अनुसार अहिले सम्म पर्याप्त वर्षा नहुँदा र रसायनिक मल अभावका कारण ३० प्रतिशत मात्रै धान रोपाई भएको बताए। पहाडी जिल्लामा ४५ प्रतिशतको हाराहारीमा रोपाई भएको छ भने कैलाली र कञ्चनपुरमा १५ प्रतिशत मात्रै रोपाईं भएको छ। सुदूरपश्चिममा ४६ प्रतिशत खेतीयोग्य जग्गामा मात्रै सिँचाई सुविधा रहेको उनले बताए।
समयमा रोपाईं हुन नसक्दा र विभिन्न कारणले धानको उत्पादन बढ्न नसक्दा वर्षेनी भारतबाट ठूलो मात्रामा चामल आयात हुँदै आएको छ। सुदूरपश्चिममा वार्षिक ७० हजार मेट्रिक टन भन्दा बढी खाद्यान्न नेपालको पूर्वी तराईका साथै भारतबाट आयात हुने गरेको छ।
बढ्दो जनसंख्या र परम्परागत खेती प्रणालीका कारण उत्पादन बढ्न नसकेको बेला वर्षेनी खेतीपातीको समयमा हुने मल र ईन्धनको अभावले झनै समस्या बढिरहेको छ। सुदूरपश्चिमको १९ लाख ५३ हजार ९ सय हेक्टर मध्ये ३ लाख ५५ हजार हेक्टर जमिन खेतीयोग्य रहेको छ।