बैतडीमा ६० प्रतिशत खेतमा धान रोप्न बाँकी
बैतडी : आकाशे पानीको भरमा धान रोप्दै आएका बैतडीका किसान यो वर्ष आकाश हेरेर बसेका छन्।
आकाशे पानी नपरेका कारण जिल्लाका अधिकांश ठाउँमा धान रोप्न बाँकी छ। ब्याड राखिएको बीउ रोप्न योग्य भएपनि पानीको अभावमा खेत बाँझै छन्।
पाटन नगरपालिकाका ३ का किसान भीमदत्त भट्टले भने, ‘हाम्रो गाउँमा सिंचाईं सुविधा छैन्। आकाशे पानी परेकै छैन। अहिलेसम्म धान रोप्न पाएका छैनौं।’
कृषि ज्ञान केन्द्र बैतडीका अनुसार जिल्लाको धानखेती हुने जमिनमध्ये ४० प्रतिशत क्षेत्रमा मात्रै रोपाईं सम्पन्न भएको छ। पानी नै नपरेकाले रेपाईं गर्न नसकिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।
पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धाँनखेतीको पकेट क्षेत्र हुन्। बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ। धानखेती हुने आधाभन्द कम क्षेत्रमा सिचाई सुविधा छैन।