असारे भाका गाउँदै रोपियो धान
तुप्चे (नुवाकोट) : उमेरले ७९ वर्ष कट्नै लाग्दा नुवाकोटको उत्तरी भेगमा रहेको तुप्चेका मोदनाथ अधिकारीको जोश र जाँगरसहित असारे चटारोमा थिए । आफ्नो सारा जीवन नै खेती किसानी गरेर गुजारा चलाएका अधिकारीले आइतबार गाउँमा असारे भाकामा लय निकाल्दै गीत गाउन थालेपछि उनलाई स्थानीयले साथ दिए र सुरु भयो धान रोपाईं ।
तुप्चेकै वृद्ध बिलबहादुर थापाले असारे भाका संरक्षणका लागि सबै समुदाय एकजुट हुनु पर्ने बताए । घाँसे ठाडो भाकालाई संरक्षण नगर्दा गाउँको परम्परा नै लोप हुँदै गएको उनको भनाइ छ ।
रोपाईंसँगै युवा युवती पानी छ्यापाछ्याप गरिरहेका थिए । गाउँघरतिर धान रोप्ने मेलामा पर्म गराउने र तिर्ने व्यवहारले सामाजिक सम्बन्ध पनि गाढा बन्ने स्थानीयसन्तोष रिजालको भनाइ छ । असारको झमझम झरीको बीचमा हिलोबाट केहीबेर छलिँदै आलीमा टुसुक्क बसेर खाने दही चिउराको स्वाद विशेष हुन्छ ।