विवादले स्थानीय तहका सभा रोकिए

विवादले स्थानीय तहका सभा रोकिए

सुर्खेतः जनप्रतिनिधिहरु नै विभाजित भएपछि कर्णालीका केही स्थानीय तहका सभा सम्पन्न हुन सकेका छैनन्। जनप्रतिनिधिबीचको स्वार्थ बाझिएपछि ती स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्। हिमाली जिल्लाका केही स्थानीय तहमा भने जनप्रतिनिधिहरु नै यार्सा संकलनका लागि पाटनतिर गएकाले सभा रोकिएका छन्।

संविधान अनुसार असार १० गतेभित्र गाउँ तथा नगरसभा सम्पन्न भइसक्नुपर्ने हो। तर मुगुमा मेयर र वडा अध्यक्षहरुको विवादका कारण छाँयानाथ रारा नगरपालिकाको नगरसभा हुन सकेको छैन। मेयर हरिजंग शाही र नगरपालिकाको १४ वटै वडाका अध्यक्षका कारण छाँयानाथ रारा नगरपालिकाको सभा नै अन्यौलमा परेको हो। वडा अध्यक्षहरुले नगर सभाबारे आफूहरुलाई सातदिन अगाडि नै पत्राचार गर्नुपर्नेमा हालसम्म पत्राचार नभएको आरोप लगाएका छन्। तर हरिजंग शाहीले भने समयमै पत्राचार गरिएको भन्दै वडा अध्यक्षहरुले नै पत्र नबुझेको जिकिर गरे।

वडा नम्बर २ का वडाध्यक्ष परेक चौलागाईले बजेट बाँडफाडमा मेयरले एकलौटी गरेकाले सभा हुन नसकेको बताए। यस्तै जिल्लाको मुगम कार्मारोङ गाउँपालिकाका अधिकांश जनप्रतिनिधि यार्सा संकलनमा गएका कारण गाउँसभा नै अन्योलमा छ। डोल्पाका पनि पाँच वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। जनप्रतिनिधिबीच केन्द्र तोक्ने विवादले ठूलीभेरी नगरपालिकाको बजेट आउन नसकेको हो। तर नगर कार्यपालिकाको बैठक बसाल्नका लागि पहल भइरहेको र सहमति जुट्ने नगरप्रमुख गणेशबहादुर शाहीले जनाए।

यो नगरको केन्द्र जुफालमा हुनुपर्ने पक्षमा नगरप्रमुख शाही र दुनैमा हुनुपर्ने पक्षमा उपप्रमुख योगेन्द्रबहादुर शाही पक्षबीच विवाद कायमै छ। बहुमत कार्यसमिति नगरपालिकाको केन्द्र दुनैमा हुनुपर्ने पक्षमा रहेकाले बजेट सहजै आउन कठिन रहेको उपप्रमुख योगेन्द्रबहादुर शाहीले बताए। डोल्पामा आठ वटा स्थानीय तहमध्ये जगदुल्ला, मुड्केचुला र त्रिपूरासुन्दरी नगरपालिका बाहेक अन्य पाँच वटा तहको बजेट आउन सकेको छैन। ठूलीभेरी नगरपालिका, काइके, छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकाको सभा हुन सकेको छैन।

गाँउपालिकाको सेवा दुनैबाट

संघीयताको मर्मविपरित यहाँका स्थानीय तहले सदरमुकाम दुनैबाट सेवा दिने गरेका छन्। ‘गाउँ–गाउँमा सिंहदरबार, घरघरमा सेवा’ भन्ने नाराका साथ संघीयता कार्यान्वयनमा लागेका जनप्रतिनिधिले नै अहिले गाउँपालिकाको सेवा सदरमुकामबाटै दिन थालेका छन्। जसकारण स्थानीय सातातिना कामको लागि पनि जनप्रतिनिधि खोज्दै सदरमुकाम धाउने गरेका छन्।

डोल्पाका चार गाउँपालिकाले अहिले पनि जिल्ला सदरमुकामबाटै सम्पर्क कार्यालयमार्फत सेवा दिँदै आएका छन्। छार्का ताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो र काईके गाउँपालिकाले सदरमुकाममा सम्पर्क कार्यालय खोलेका हुन्। गाउँमा रहेका कार्यालयबाट सेवा दिन अप्ठ्यारो भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए।

गाउँपालिकामा कार्यालय मात्रै स्थापना छन्। तर हिँउदमा अध्यधिक चिसो हुने, बैंकिङ सेवा र प्रहरीको सुरक्षा नहुनुले सदरमुकामबाटै सेवा प्रवाह गर्नुपरेको गाउँपालिका उपाध्यक्ष धावासम्डुक गुरुङले बताए।

- मुगुबाट जीवन सेजुवाल र डोल्पाबाट टेकबहादुर शाही


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.