पिन ड्रप साइलेन्समा ‘मुनामदन’
मञ्चमा मुनामदन खण्डकाव्य वाचन गरिँदै थियो। गायिकाद्वय विमला सेन्चुरी, मिना निरौला र संगीतकार आभास, बलराम समालले मुना, मदन र मदनकी दिदीको भूमिकामा श्लोकहरु गुन्गुनाउँदै थिए। लगातार हार्मोनियमका तारहरुमा आफूलाई केन्द्रित बनाएकी शान्ति ठटाल धुनसँगै मन्त्रमुग्ध बनेकी थिइन्। उनका औलाहरु चलायमा थिए हार्मोनियममा।
नेपालमा सबैभन्दा बढि बिक्री हुने पुस्तकमा पर्छ महाकवि लक्ष्मिप्रसाद देवकोटाको मुनामदन खण्डकाव्य। आजभन्दा करिव ८० वर्षअघि लेखिएको मुनामदनलाई ठटालकै संगीतमा ताल मिलाइएको थियो।
धन कमाउने आशामा ल्हासा गएको मदन र उसकी श्रीमती मुनाको वियोगान्त कथामा खण्डकाव्य टुङिएको छ। आज पनि नेपालका तमाम मदनहरु परिवार पाल्न खाडी मुलुक जान बाध्य छन्। धेरै मदनहरु विदेशमै अकालमा मर्न बाध्य छन्। मुनामदनलाई कहिले नाटकको रुपमा प्रदर्शन गरिन्छ त कहिले गीतको रुपमा धुन भरिन्छ। जे जसरी बनाए पनि मुनामदन हेर्ने र सुन्नेका लागि मार्मिक छ। यसले हरेकको मन छुन्छ।
यसै कृतिलाई शान्ति ठटालले सन् १९७७ ताका संगीत भरेकी थिइन्। तर अभिलेख थिएन। यसपटक करिव एक महिना काठमाडौँमा बसेर ठटालले मुनामदनको पुरानो धुनलाई परिमार्जन गरी पलेटीमा प्रस्तुत गरेकी हुन्।
शनिबारको पलेटी शान्ति ठटालको सांगीतिक जीवनको उत्सवको रुपमा प्रस्तुत गरिएको थियो। पहिलो भागमा ठटालका गायन यात्राको चर्चा गर्दे उनको आवाजमा रहेको गीत प्रस्तुत गरिएको थियो। उनलाई स्वरमा साथ दिन मिना निरौला र विमला प्रधान मञ्चमा थिए। आभासले ठटाललाई अनेक जिज्ञासा र प्रश्नहरु फ्याकिरहेका थिए। ८१ वर्षिय ठटाल कतिबेला प्रश्नलाई बेप्रवाह गर्थिन् त कहिले आफ्ने जीवनलाई फर्किएर अनुभवका अनेक किस्सा सुनाउथिन्। आभास र ठटालबीचको कुराकानीमा दर्शकहरु भरपुर मनोरन्जन लिइरहेका थिए। ठटाल सांगीतिक यात्रा सुनाउँदै थिइन्, ‘म सानैदेखि गीत गाउनमा रुचि राख्थेँ, कुनै सभा समारोहबाट गाउने निम्ता आयो कि त स्कुल पोशाकमै दौडन्थेँ। संगीतको यही मोहले संगीतका हस्तिहरुसँग संगत गर्ने मौका मिल्यो।’
मुनामदनलाई झ्याउरे भाकाको लोकप्रिय शैलीमा प्रस्तुत गरिएको थियो। ठटालको धुनमार्फत प्रस्तुत भएको मुनामदन कथा बाचन शैलीमा प्रस्तुत थियो। प्रस्तुती र कथालाई एकैसाथ लैजानका लागि भुषिता वशिष्ठले शुत्रधारको भुमिका निभाएकी थिइन्। उनले मुनामदनको श्लोक वाचन गर्दै मुख्य कथा उपकथा जोड्दै कार्यक्रमलाई अगाडि बढाएकी थिइन्।
दोस्रो चरण सुरु भएपश्चात जब मुनामदनको श्लोकहरु वाचन गर्न थालियो कार्यक्रम स्थलमा ‘पिन ड्रप साइलेन्स’ छाएको थियो। यस्तो लाग्थ्यो हरेकले आफुलाई बिर्सिएका छन्। बाहिर असारे झरी बर्सन सुरु गरेको थियो। दर्शकहरु पलेटीको हलमा चुपचाप मुनामदन सुनिरहेका थिए। मुनामदनसंगै हरेकले आफ्नै जीन्दगीको वियोगान्त कथा पनि याद गर्न भ्याए। सुत्रधारको भुमिकामा रहेकी भुषिता पटक पटक आशु पुछिरहेकी थिइन्। पलेटीमा अन्तिम श्लोक प्रस्तुत गरे...
हे मेरा भाइ, ती तिम्री मुना मरेकी छैनन् ती
ज्वोतीको स्वरुप लिएर गइन् बगैचा बसन्ती।
तालीको गड्गडावट संगै कसैले सुनायो ‘वाह, साँच्चै पावरफुल, एक्सिलेन्ट’।