भ्रष्टाचार मुद्दामा चार पूर्वआईजीपीलाई सफाइ
काठमाडौं : सशस्त्र प्रहरीका पूर्वप्रमुखहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव वली र सनतकुमार बस्नेतले भ्रष्टाचार अभियोगबाट सफाइ पाएका छन्। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले सोमबार उनीहरूलाई सफाइ दिएको हो।
सशस्त्रका प्रहरी बलका लागि गरिएको सामान खरिदप्रक्रियामा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन्तसहित आठजना, श्रेष्ठसहित चारजना, वलीसहित तीनजना र बस्नेतसहित सातजना गरी २२ जनाविरुद्ध भिन्नाभिन्नै चारवटा मुद्दा चलाएको थियो।
‘बदनियतका साथ रकम हिनामिना गरेको भन्ने पुष्टि हुन नसकेको आधारमा इजलासबाट सबै प्रतिवादीले सफाइ पाउने ठहर भएको छ,’ विशेषका प्रवक्ता पुष्पराज पाण्डेले अन्नपूर्णसँग भने, ‘मुद्दा अनुसन्धान र तहकिकातको सिलसिलामा अनिवार्य रूपमा पालना गर्नुपर्ने स्वच्छ सुनुवाइका आधारभूत सिद्धान्त अवलम्बन नगरिएको, खरिद प्रक्रिया र खरिद भएका सामानको परिमाणबारे समस्या भएको नदेखाइएको र खरिद भएका सामान स्टोरमा रहेको वा अन्यथा गरिएको भन्ने कुरा स्थापित हुन नसकेको जस्ता आधारमा सफाइ पाउने निर्णय भएको छ।’
अख्तियारबाट स्वच्छ सुनुवाइ अभाव रहेको ठहरसमेत अदालतको छ। अख्तियारले छानबिनका क्रममा सशस्त्र प्रहरी बलको सुरक्षा संवेदनशीलतामा ध्यान नदिएको निर्क्योल अदालतले गरेको छ।
अदालतले झिकाएका कागजातबाट सामान ढुवानीका सबै सामान सम्बन्धित स्थानसम्म ढुवानी भई प्राप्त भएको देखिएको छ। अख्तियारले तत्कालीन सशस्त्र प्रमुख वन्तसहितका प्रतिवादीले करिब ६ करोड रुपैयाँ, श्रेष्ठसहितका प्रतिवादीले ८० लाख, वलीसहितका प्रतिवादीले एक करोड र बस्नेतसहितका प्रतिवादीले ९ करोड रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित जेल सजाय र जरिबाना माग गर्दै २०७२ सालमा मुद्दा चलाएको थियो।
अदालतबाट सफाइ पाएपछि सशस्त्रका तत्कालीन प्रमुख वन्तले न्यायको अनुभूति भएको बताए। ‘ढिलै भए पनि अदालतको ढोकाबाट न्याय मिल्यो। न्यायको अनुभूति भएको छ,’ वन्तले भने, ‘अदालतले सबै मूल्यांकन गरेर निर्णय गरेको छ। अख्तियारको निर्णय पूर्वाग्रही रहेको पुष्टि भयो।’
अख्तियारले भने अदालतबाट पूर्ण फैसला आएपछि अध्ययन गरेर सर्वोच्चमा पुनरावेदन गर्ने विषयमा उपयुक्त निर्णय लिने भएको छ। ‘पहिले फैसला आउनुपर्यो। त्यसपछि अध्ययन गर्छौं र थप के गर्ने भनेर अख्तियारले निर्णय लिनेछ,’ अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले भने।
अन्नपूर्ण पोस्ट दैनिकमा मंगलबार पृष्ठ ३ मा प्रकाशित यो समाचारमा पूर्व आईजीपी शैलेन्द्रकुमार श्रेष्ठको नाममा भूलबस फोटो गलत पर्न गएकोले क्षमायाचनासहित अनलाइनमा सच्याएका छौँ। -सम्पादक