नरहरिनाथ आगजानीमा क्षति : प्रहरी भन्छ- २५ लाख, गाउँपालिकाको दाबी- दुई करोड
कालिकोट : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा भएको आगलागीमा भएको क्षतिबारे जनप्रतिनिधि र प्रहरीको कुरा बाझिएको छ। प्रहरीले आगलागीबाट करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको मुचुल्का तयार पारेको छ भने गाउँपालिकाले दुई करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गरेको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको आगजानीबाट गाउँपालिका कार्यालय र ६ नं. वडा कार्यालयमा गरी २५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका टका प्रमुख डीएसपी विनोद शर्माले बताए।
नरहरिनाथ गाउँपालिकाकी उपाध्यक्ष मनशोभा बुढाले आगलागीमा दुई करोड बढी क्षति भएको बताइन्। 'गाउँपालिकामा क्षति भएका सामान प्रहरीले छुटाएको छ। पूर्ण रुपमा जलेर नष्ट भएका सामानको मात्र मुचुल्का गरियो। आधा फुटेका, कुच्चिएका सामान मुचुल्कामा समेटिएनन्।'
डीएसपी शर्माका अनुसार आगलागीमा संलग्नहरूको खोजी कार्य जारी छ। गत बुधबार राति एक बजेतिर नरहरिनाथ गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको झ्याल फोडी पेट्रोल खन्याएर आगजानी गरेका थिए।
आधा विवरण छुट्यो : गाउँपालिका
गाउँपालिका उपाध्यक्ष बुढाले दुई हजार वाटको सोलार सिस्टम पनि जलेर नष्ट भएको बताइन्। 'हामीले गाउँसभाको कामले क्षतिको विवरण संकलन गर्दा समय दिन सकेनौँ। प्रहरीले आगोको रापले सामान्य रुपमा पोलिएका, कुच्चिएका, फुटेका सामान छुटाएको छ', उनले भनिन्, 'गाउँपालिकाको भवनदेखि विभिन्न शाखामा रहेका सबै सामान जले। फेरि शुन्यबाट सुरु गर्नुपर्ने अवस्था आयो।'
जलाउनेको पनि आफ्नै दाबी
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कालिकोटले आफ्नै कार्यकर्ताले जलाएको नरहरिनाथ गाउँपालिकामा भएको क्षतिको विवरणमाथि छानबिन गर्ने बताएको छ। विभिन्न निकायले क्षतिको फरक फरक विवरण देखाएको भन्दै उसले छानबिन गर्ने बताएको हो।
नेकपाका जिल्ला सेक्रटरी मनीलाल ऐडी रणदीपले बढीमा ८ लाख बराबरको क्षति भएको दाबी गरे। असार मसान्तमा क्षति धेरै देखाएर रकमान्तर गरी भ्रष्टाचार गर्ने नियतले विवरण सार्वजनिक गरिएको हुन सक्ने शंका गरे।