विप्लवका कार्यकर्ता पक्राउ
नुवाकोट : एक वर्ष अगाडि नुवाकोटको शिवपुरीमा मिनिट्रक जलाएको घटनामा संलग्न भएको आरोपमा नेकपा विप्लवका एकजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका-८ बोहोरे खोलामा गत २०७५ साल साउन २९ गते बेलुकी बा ४ख ८५१६ नं को मिनिट्रक जलाएको आरोपमा ४२ वर्षीय सागर तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंको तारकेश्वर नगरपालिका -६ का ४२ वर्षीय तिमल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।
तिमिल्सिनालाई काठमाडौंको बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिर नजिक महानगरिय प्रहरी वृत्त बालाजुले पक्राउ गरी नुवाकोट प्रहरीलाई बुझाएको पल्लिमगरले बताए। उनलाई अनुसन्धानको लागि नुवाकोट ल्याइएको छ।