अछामको मद्रेमा एक घर एक धारा
अछामः चौरपाटी गाउँपालिका-४ पायलको मद्नेमा 'एक घर एक खानेपानीका धारा' निर्माण गरिएको छ। वर्षौदेखि खानेपानी समस्या भोग्दै आएका मद्ने गाउँका ४८ घरधुरीमा खानेपानीको धारा निमार्ण गरिएको हो।गाउँपालिकाले उक्त गाउँमा रहेको पुस्तौ देखिको खानेपानी समस्याको समाधान गरिदिएको छ।
विगतमा आधा घण्टा लगाएर बुढीगंगा नदीको दुषित पानी खाने मद्नेवासीको समस्या हटेको स्थानीय ७२ वर्षीया जलु बोहराले बताइन्। उनले भनिन्,' सबैभन्दा दु:ख महिला र बालबालिकालाई थियो। स्कुल जानु अगाडि र आइसकेपछि घरका केटाकेटीको पहिलो काम नै नदीबाट पानी ल्याउनु हुन्थ्यो।' घरमा धारा आएपछि उनी खुशी भएकी छन्।
मद्नेमा यसअघि गैरसकारी संस्थाबाट निर्माण भएका खानेपानी योजनाको काम प्रभावकारी हुन सकेको थिएन। स्थानीय सरकार आएसँगै पानीको समस्या हटेको शिक्षक लोगबहादुर बोहराको भनाई छ।
'बालबालिकाको पढाइमा समेत असर गरेको थियो, बोहराले भने,' कहिलेकाही त बालबालिकाको विद्यालय समेत छुट्ने गर्छ, गाउँपालिकाले सहजरुपमा घरमै खानोपानीको व्यवस्था गरिदिएको छ। पानीको दु:ख सधैंका लागि अन्त्य भएको भन्दै बोहराले खुशी व्यक्त गरे।
'पानीको चिन्ताले राति निद्रा समेत लाग्दैथ्यो, स्थानीय रबिना बोहराले भनिन्, 'वर्षामा नदीको धमिलो पानी खानुपर्ने वाध्यता थियो।' मद्नेवासी खानेपानीका धारा निर्माण भएसँगै अब भाँडा सुकाउने चाङ निर्माण गर्ने तयारीमा गाउँपालिका रहेको छ। चौरपाटी गाउँपालिकाले चालु आर्थिक वर्षको २८ लाख र स्थानीय बासिन्दाको ४ लाखको जनश्रमदानबाट खानेपानीका धारा निर्माण गरिएका हुन्।
गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले चुनावको बेला जनतासँग गरेका बाँचा पूरा भएको बताए। उनले भने, 'मैले चुनाबको बेला भोट माग्न जादा मद्नेबासीको पहिलो माग पानी थियो, हो, त्यही बाचा पूरा गर्ने हाम्रो कर्तव्य हो।गाउँमा सफा र सुरक्षित खानेपानी घर-घरमै पुर्याउने लक्ष्य गाउँपालिकाको छ।'
साँफेबगर नगरपालिकाले पनि पानीको चरम समस्या रहेको र पानीको मुहान नभएको गाउँमा डिपबोरिङ्गमार्फत खानेपानी वितरण गरेको छ। नगरपालिका १ बैद्यनाथ, ३ सिद्धेश्वरको हाटबजार, ४ को जनकल्याण, र ७ को ककडसातको कालिमाटीमा डिपबोरिङ्गमार्फत पानी वितरण गरेको नगर प्रमुख कुलबहादुर कुँवरले बताए।